s

निर्माण कामदार पारिकै

मनोज बडू 

दार्चुला — स्थानीयले रोजगारी नपाएको गुनासो बढिरहे पनि यहाँ विकास निर्माणका योजना र व्यक्तिगत काममा भने भारतीय कामदारको संख्या बढ्दो छ । स्थानीयस्तरमा दक्ष कामदार कम हुँदा मुख्य मिस्त्री र कामदारको रुपमा भारतीय श्रमिकले बढी काम पाएका हुन् । तर रोजगारीको खोजीमा अधिकांश स्थानीय भने भारततिर जाने गरेका छन् ।

महाकाली नगरपालिका–३ मा नरेन्द्र बडूको घर निर्माणमा भारतीय कामदार लागिपरेका छन् । स्थानीय कामदारले राम्रो ‘फिनिसिङ’ गर्न नसक्ने हुँदा भारतीय कामदार बोलाउनु परेको बडूले बताए । ‘नेपाली कामदारले उनीहरूको तुलनामा दक्षता कम भएर होला कमै काम गर्न सक्छन् । नेपाली राम्रो मिस्त्रीलाई काममा लगाउनुपर्दा पारिश्रमिक पनि बढी भन्छन्,’ उनले भने । 

महाकाली–४ खलंगामा विगत ३ वर्षदेखि भावना कम्प्लेक्स निर्माणाधीन अवस्थामा छ । उक्त भवनको अधिकांश निर्माण कार्यमा भारतीय श्रमिकले काम पाए । राम्रो ज्याला पाइनेकोले घरमा प्लास्टर, रंगरोगन, फिनिसिङको काम भारतीय कामदारले गर्दै आएका छन् । स्थानीय व्यवसायी राजेन्द्र बडूका अनुसार पिलर मिलान, छतको भराईलगायत काममा स्थानीयभन्दा भारतीय कामदारले राम्रो गर्छन् । 

स्थानीय कामदार दक्ष नहुँदा जिल्लामा निर्माण भइरहेका विकासे आयोजनामा पनि भारतीय कामदार प्रयोग भइरहेका छन् । कतिपय योजनामा कर्णाली प्रदेश तथा सुदूरपश्चिमकै तराईका जिल्लाबाट पनि कामदार आएर काम गरिरहेका छन् । नेपाली कामदार रोजगारीका लागि विदेश जाँदै गर्दा यहाँ भने भारतबाट धेरै जनशक्ति भित्रिरहेको महाकाली–३ का अध्यक्ष पदमसिंह महराले बताए । स्थानीय तहका योजनाभन्दा नेपाल सरकारबाट निर्मित विकास निर्माणका आयोजनामा प्रायजसो जिल्लाबाहिरका कामदारले मजदुरी गरिरहेका छन् ।

विगत ५ वर्षदेखि निर्माणाधीन ठूलो आयोजना महाकाली तटबन्धमा स्थानीय कामदारले मजदुरीमा इच्छा नदेखाएपछि जिल्ला बाहिरबाट कामदार खोजेर ल्याइएको निर्माण व्यवसायी दानसिंह तिंकरीले बताए । उनका अनुसार आयोजनास्थल आसपासका त परै जाओस्, जिल्लाका कुनै पनि ठाउँका मानिसले मजदुरी गर्न मानेनन् । स्थानीयस्तरमा मजदुरी गर्न लाज मान्ने प्रवृत्तिले अन्य जिल्ला वा सीमापारि भारतबाट कामदार खोजेर जिल्लामा ठूला विकास निर्माणका आयोजना निर्माण भइरहेको उनको भनाइ छ । 

स्थानीयले काम गर्न इच्छा नदेखाएको र न्यून संख्यामा आएका स्थानीयसंँग सम्बन्धित कामबारे ज्ञान र सीप नहुँदा समस्या भएको छ  । सदरमुकाम खलंगाबाट टिंकर नाकासम्म जोड्ने सडकमा विगतदेखि नै भारत र नेपालका तराई जिल्लाबाट आएका कामदारले मजदुरी गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष महेशसिंह धामीले बताए । स्थानीय कामदारले मन लगाएर काम नगर्ने हुँदा निर्माण कार्यमा प्रभाव पर्दा बाहिरबाट कामदार ल्याउनुपर्ने स्थिति रहेको उनको बुझाइ छ । 

सडक, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर, पुललगायत निर्माणमा अझै पनि कामदार अभावको समस्या झेलिरहेको निर्माण व्यवसायीहरू बताउँछन् ।

Published on: 21 December 2021 | Kantipur

Link

Back to list

;