s

निर्दोष नेपाली बचाउनुस्, प्रधानमन्त्रीज्यू !

Akhanda Bhandari

दार्चुला धारी गाविसका अमरबहादुर बम मीठा सपना सजाउँदै दुबई ओर्लिएका थिए । त्यसको एक महिना नबित्दै एउटा हत्या घटनामा परिबन्दमा फसेर 'मृत्युदण्ड' कुरिरहेका छन् । 'मलाई बचाउनुस्', दुबई सेन्ट्रल जेलमा यो प्रतिनिधिसामु बरर्र आँसु झार्दै उनले भने, 'म निर्दोष छु ।'

सन् २००३ जनवरी १९ मा दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्या भयो । भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी उनको हत्या गरेका थिए । अमर उनीहरूका गाडी चालक थिए । उनीहरूले अमरलाई गाडीमै कुर्न लगाए र क्लबभित्र छिरे । त्यहाँ सेठ्ठीको हत्या गरे । त्या घटनाबारे अमरलाई केही थाहा थिएन । एक सातापछि ती तीन जना र हतियार उपलब्ध गराएको अभियोगमा अर्का भारतीय स्मद कुलत बनवारी पक्राउ परे । त्यसको करिब एक वर्षमा दुबईको उच्च न्यायालयले मनोज र करनलाई हत्या गरेकामा तथा अमरलाई मतियारका रूपमा मृत्युदण्ड दिने फैसला सुनायो । मनोज र करन दुवैले सुरुमै आफ्नो गल्ती स्वीकारेका थिए । उनीहरूले अमर गाडी चालक मात्र रहेको र निर्दोष भएको भन्दै न्यायाधीशलाई पत्रसमेत लेखे । तर पनि केही लागेन । अमरले पनि उत्तिकै सजाय पाए । 'म परिबन्दमा फसें । मैले अपराध गरेको छैन,' अमरले भने, 'भाषालगायत समस्याले अदालतमा आफ्ना कुरा प्रस्टसँग राख्न सकिनँ । अब सरकारमार्फत जीवनरक्षाको याचना गरेको छु ।'

आस प्रधानमन्त्रीकै

अमर र उनलाई बचाउने अभियानमा लागेका नेपालीहरू प्रधानमन्त्रीको यूएई भ्रमणको प्रतीक्षामा छन् । उनीहरू भन्छन्, 'प्रधानमन्त्री आएर यहाँका शेखसँग सौहार्दपूर्ण रूपमा वास्तविकता राख्ने हो भने उनले सजिलै आममाफी पाउने छन् ।' यूएईका प्रधानमन्त्रीसमेत रहेका दुबईका शासक शेख मोहम्मद बिन रसिक मोक्तम उदार दिलका छन् । न्याय र सुरक्षामा उनको देशभरि तारिफ हुन्छ । 'अमर निर्दोष छन्,' वर्षौंदेखि यो घटना अध्ययन गरिरहेका नेपाली समाज, यूएईका अध्यक्ष कृष्ण ढकाल भन्छन्, 'प्रधानमन्त्री आएर आग्रह गर्ने हो भने शेख मोहम्मदको मन पक्कै पग्लने छ ।' यूएईमा सर्वोच्च न्यायालयले तोकेको सजाय पनि शेखले माफी मिनाहा गर्न सक्छन् ।

'मैले प्रधानमन्त्रीबाट ठूलो आशा राखेको छु,' सेन्ट्रल जेलको एउटा कोठामा खुला रूपमा भेट्न पाइएका अमरले भने, 'ठूला-ठूला अपराध गरेका आफ्ना नागरिकलाई कति देशका प्रमुख आई लिएर जान्छन् । म निर्दोष छु । बाँच्न चाहन्छु ।'

नेपालमा अमर बचाउ अभियानमा अग्रसर प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डे पनि प्रधानमन्त्रीको भ्रमणमा जोड दिन्छन् । 'अब अरू उपाय छैन,' त्यही अभियानका सिलसिलामा दुबई आएका उनले भने, 'प्रधानमन्त्री आएर आग्रह गर्ने हो भने अमरको जीवनरक्षा गाह्रो पनि छैन ।'

समितिकै अगुवाइमा मानव अधिकारवादी, नागरिक समुदायलगायतले गत वैशाखमा अमरका बुवा कर्णबहादुर र श्रीमती धनमतीलाई राजधानी ल्याएका थिए । त्यस क्रममा राष्ट्रपति, प्रधानमन्त्री हुँदै सम्बन्धित सरकारी अधिकारीहरूलाई ज्ञापनपत्र दिएका थिए । त्यसको लगत्तै प्रधानमन्त्रीले यूएई सरकारलाई अनुरोधपत्र पठाइसकेका छन् । नेपाली राजदूतमार्फत बुझाइएको पत्रको प्रत्युत्तर भने आएको छैन ।

गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष चन्द्रबहादुर रोकाहा पनि अरू प्रक्रियामा गए अलमल मात्र हुने ठान्छन् । 'जसरी पनि प्रधानमन्त्री नै आउनुपर्छ', उनले जोड दिए, 'यस्तै घटनामा फिलिपिन्स प्रधानमन्त्री आएर नागरिक लिएर गए । हामी पनि निर्दोष नेपालीको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई भ्रमण गर्न आग्रह गर्छौं ।'

'प्रयास जारी छ,' नेपाली जनसम्पर्क समिति, यूएईका अध्यक्ष चित्र केसीले भने, 'सरकार जोडतोडले लाग्यो भने निर्दोष नागरिकलाई बचाउन सकिन्छ ।' अमर पनि जीवनरक्षामा आशावादी छन् । 'अब त मलाई बाँच्छु भन्ने आस पलाएको छ,' उनले भने, 'सरकारले चासो राखेको छ । नेपाली समुदाय बचाउ अभियानमा जुटेको छ ।'

यसरी बाँचिरहेका छन्

अमरलाई मृत्युदण्ड सुनाएको ९ वर्ष भइसक्यो । भाग्यवश उनी बाँचिरहेका छन् । त्यसको कारण हो- मुख्य अपराधी भारतीय नागरिक हुनु । भारत र यूएईबीच सुपुर्दगी सन्धि छ । त्यसअनुसार यूएईले उनीहरू भारतलाई बुझाउनुपर्छ । उच्च स्रोतका अनुसार त्यसको कागजपत्र तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै भारत लगिँदै छन् ।  

'जब भारतीय नागरिक सुपुर्दगी हुन्छन्,' अमर बचाऊ अभियानमा दिलोज्यानले लागेका नेपाली समाजका अध्यक्ष ढकाल भन्छन्, 'त्यसपछि हाम्रो निर्दोष अमर मात्र बाँकी रहन्छन् । अनि, उनलाई तत्काल फाँसीमा चढाउँछन् ।' त्यसैले सकेसम्म छिटो पहल गरी उनलाई पनि आममाफी दिलाउन लागिपर्न उनले सरकारसँग माग गरेका छन् ।

यसरी फसें म

अमरबहादुर बम

म भारतको नयाँदिल्लीमा ड्राइभरको काम गर्थें । पसलबाट घर बनाउनेहरूकहाँ मार्बल लैजानु मेरो काम थियो । त्यही क्रममा एक धनाढ्यसँग भेट भयो । उनी मलाई राम्रो काम गर्छौ भन्दै स्याबासी दिने गर्थे । उनले एक दिन सोधे, 'मार्बल पसलको गाडी चलाउँदा कति पाउँछौ ?' '२ हजार भारु,' मैले भनें । 'बिचरा', उनले दया देखाउँदै भने, 'म तिमीलाई दुबई लैजान चाहन्छु । त्यहाँ महिनाको २० हजार भारु दिन्छु । जाने खर्च पनि १ रुपैयाँ लाग्दैन । जान्छौ ?' मेरा लागि त्यो खुसीको कुरा र गतिलो मौका थियो ।

मन गदगद भयो । दायाँबायाँ नसोची 'हुन्छ' भनिदिएँ । उनले तुरुन्त घर गई पासपोर्ट बनाएर आउन भने । म केही दिनमै पासपोर्ट बनाएर दिल्ली पुगें । मलाई लिएर उनी २००२ डिसेम्बर अन्तिम साता दुबई उडे । उनले मलाई दुबईमा गाडी नै चलाउनुपर्ने बताएका थिए । त्यसका लागि दिल्लीमै अन्तर्राष्ट्रिय लाइसेन्ससमेत बनाइदिएका थिए ।

दुबईमा ती व्यक्तिले त्यहीं बस्दै आएका भारतीय नागरिक मनोज मुदाना र करन सिंह राजपुतसँग राखिदिए र उनी फर्के । दुइटा कोठा थिए । एउटा मलाई दिए । एउटामा उनीहरू दुई जना बस्थे । उनीहरूलाई चाहे ठाउँमा लैजानु मेरो ड्युटी थियो । उनीहरू दैनिकजसो इन्डियन क्लब जान्थे । गाडी रोकाएर मलाई बाहिरै कुराउँथे र, भित्र गएर मन लागेको समयमा र्फकन्थे । उनीहरू नआउन्जेल म गाडीमै बसिरहन्थें ।

२००३ जनवरी १९ को दिन थियो । उनीहरू सधैंझैं क्लबभित्र छिरे । म गाडीमै कुरिरहेको थिएँ । करिब आधा घन्टामा उनीहरू हडबडिँदै आए । गाडीमा फटाफट पसे र मलाई छिटो दौडाउन इसारा गरे । हामी डेरा पुग्यौं । उनीहरू हतारिएर सामान प्याक गर्न थाले । र, मलाई सोधे, 'तिम्रो यहाँ कोही आफन्त वा साथीभाइ छ ?'

'अहँ', उनीहरूको पारा देखेर आश्चर्य मान्दै मैले उत्तर दिएँ, 'कोही छैन, किन र ?' 'हामी त र्फकन लागेको,' उनीहरूले भने, 'तिमी कतै गएर बस, बरु हामी खर्चपर्च दिन्छौं ।'

'यो बिरानो ठाउँमा म कहाँ जानु ?' मैले भनें, 'तपाईंहरू जहाँ जानुहुन्छ, मलाई पनि सँगै लैजानुस् ।' उनीहरू हडबडाएका, हतारिएका र अत्तालिएका थिए । उनीहरूले पक्कै कुनै बदमासी गरेको हुनुपर्छ भन्ने मलाई चिसो पस्यो । तर पनि सोध्न सकिनँ । उनीहरूले फेरि भने, 'कोही छ कि सोच न ।'

'छैन', मैले भनें, 'प्लिज मलाई छाडेर नजानुस् ।'

उनीहरू सामान प्याक गरिरहेका थिए । तयारीमा अलि समय लाग्यो । उनीहरूबीच फेरि सल्लाह गरे, 'आज नजाऔं, भोलि जाउँला ।'

उनीहरूले पछि मलाई भने, 'हामीले मान्छे मार्‍यौं । यहाँको प्रहरीले खोजिरहेको होला । अब सुटुक्क भाग्नु छ । तिमी भरसक हामीसँग नजाऊ । कोही आफन्त खोज र त्यता बस ।'

म धेरै रोएँ । कुन दशाले आएछु भनेर मनमन आफैंलाई धिक्कारें । तर पनि मेरो कुनै उपाय थिएन । उनीहरूलाई छाडेपछि कहाँ जाने, कसकहाँ बस्ने, कसरी र्फकने केही थाहा थिएन । त्यही भएर उनीहरूको साथ नछाड्न बाध्य भएँ ।

उनीहरूको आफ्नै क्रुज -सानो पानी जहाज) रहेछ । जनवरी २५ तारिख सारजहाबाट त्यसमै चढेर अर्को देशतिर भाग्ने तय गरे । त्यसकै स्टाफका रूपमा मेरो पास बनाइदिए । क्रुज चढ्न त्यहाँ पुग्नासाथ प्रहरीले हामी सबैलाई पक्राउ गर्‍यो ।

हिरासतमा मलाई सोधे, 'हत्याको योजना तलाई थाहा थियो कि थिएन ?'

'थिएन,' मैले भनें ।

'ढाँट्छस् ?' भन्दै निर्मम यातना दिए । त्यहाँ अरूले भन्थे, 'यहाँका प्रहरीले बकाउन यातना दिँदा कति मरेकै छन् ।'

म पनि मर्छुजस्तै लाग्यो । अरूले सल्लाह दिए, 'स्वीकारी दे । अहिल्यै मर्नुभन्दा बरु केही दिन त बाँच्छस् ।'

केही दिन असह्य यातना भोगेपछि बाध्य भएर 'थाहा थियो' भनें । त्यसपछि मलाई कुनै नराम्रो व्यवहार भएन ।

अदालतमा यातनाको कुरा भन्न मन थियो । भाषाको समस्याले बताउन सकिनँ । लाँदै, हाजिर गराउँदै, फर्काउँदै गर्थे । त्यत्तिकैमा मृत्युदण्डको फैसला पो आयो ।

(दुबईको सेन्ट्रल जेलमा गरिएको कुराकानीमा आधारित)

 Published on: 29 September 2012 | Kantipur

Back to list

;