s

‘निर्दोष’ नेपाली १५ वर्षदेखि यूएई जेलमा

 होम कार्की
 
राष्ट्रपति विद्या भण्डारीको संयुक्त राष्ट्र इमिरेट्स (युएई) को भ्रमणबाट दार्चुलाका कर्णबहादुर र धनमति बममा नयाँ आशा पलाएको छ । २००३ देखि दुबईको अविर जेलमा रहेका धारी ५ दार्चुलाका अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले युएईका राष्ट्रपतिसँग कुरा गर्नेछिन् भन्ने उनीहरुको आशा छ । राष्ट्रपतिको भ्रमण तय भएदेखि नै कर्णले नेताहरुसमक्ष आफ्नो छोरा छुटाइदिन अनुरोध गरेका थिए ।
 
उनले अहिलेसम्म छोरा अमरको मुद्दा लिएर राष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टाराई, केपी ओली र पुष्पकमल दाहाललाई भेटिसकेका छन् । ‘छोराको बिषय सारालाई थाहा छ,’ ७१ बर्षिय कर्णले कान्तिपुरसँग भने, ‘सरकारले पनि चासो दिएको छ । पक्कै यो बिषय राष्ट्रपतिले उठाउनुहुनेछ । र, मेरो छोरा आफ्नो देश फिर्नेछ ।’  
 
भारतीय ब्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै युएइको अदालतले दुई भारतीयसहित बमलाई मृत्युदण्डको फैसला सुनाएको छ । तर, बमले चलाएको गाडीमा गएर सेठ्ठीलाई गोली हान्ने भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले अमर निर्दोष रहेको लिखित बयान दिएका छन् । अमर हत्या योजनाबारे बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन उनीहरुले औंठाछाप गरेर निवेदन पनि दिएका छन् । तैपनि, अमर छुटेका छैनन् । 
 

हत्यामा संलग्न भनिएका अन्य दुई जनाले बमबहादुर निर्दोष रहेकाे भनी दुबई अदालतलाई लेखेकाे पत्र । 
 
अमरलाई मृत्युदण्डको फैसाला सुनाइएको युएईस्थित नेपाली दूतावासले ४ बर्षपछि मात्रै थाहा पाएको थियो । दूतावास र परराष्ट्रले सुचना पाएपछि पनि उनको प्रतिरक्षा गर्न वकिल नियुक्त गरिएको छैन । ‘हत्यामा छोराको नियतवश संलग्नता नरहेको भनेर राष्ट्रपति–प्रधानमन्त्री सबैलाई भेटेर अनुनय गरेको छु,’ कर्णले भने, ‘आफु त डाँडापारीको घाम जस्तै भइसक्यो । कतिखेर डुबिन्छ थाहा छैन । अमरको आमा पनि छोराको मुख हेर्न नपाई बितिन् । मलाई अरु त होइन बुहारीको सार्‍है चिन्ता छ ।’ विवाह गरेको २५ दिनमा अमर श्रीमती धनमतिलाई छोडेर वैदेशिक रोजगारीमा गएका थिए । ‘म उहाँलाई पर्खेर बसिरहेकी छु,’ धनमतिले भनिन् ।
 
परराष्ट्र मन्त्रालयले कानुनी प्रतिरक्षा भन्दा राष्ट्रपतिको तहबाट माफी दिन अनुरोध गरेमा छुट्ने बिकल्प अगाडि सारेको थियो । नेपाल सरकारले बमलाई माफी दिन युएई सरकारलाई पत्र पठाइसकेको छ । युएईले त्यसको ठोस जवाफ दिएको छैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले युएईका प्रधानमन्त्रीलाई भेटेर अमरलाई माफी दिन अनुरोध गरेका थिए ।
 
Published on: 13 November 2017 | Kantipur

Back to list

;