s

निर्दोष टीकाराम अझै छुटेनन्

म अभागी रहेछु । मेरै तनावमा बुवाको ज्यान गयो । मैले अझै के के गुमाउनुपर्ने हो ? थाहा छैन : पीडित टीकाराम

होम कार्की

साउदी अरबको जिजानस्थित तल्लो अदालतले निर्दोष प्रमाणित गरेको एक वर्ष बितिसक्दा पनि चितवनका टीकाराम सापकोटा जेलबाट छुटेका छैनन् । खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा सापकोटा चार वर्षदेखि जिजान जेलमा थुनिएका छन् । 

अदालतले सिलवाल हत्या प्रकरणमा प्यूठानका सफी उल्लाहलाई दोषी ठहर गर्दै सापकोटा निर्दोष भएको फैसला सुनाएको थियो । ‘म अनाहकमा जेल परिरहेको छु । अदालतले नै निर्दोष भनेर फैसला सुनाउँदा पनि बाहिर निकालिएको छैन, ’ जेलबाट सम्पर्कमा आएका सापकोटाले भने, ‘मेरो शारीरिक अवस्था एकदमै खराब हुँदै गइरहेको छ । उच्च रक्तचापका कारण मेरो बायाँ मृगौलामा पीडा हुन थालेको छ ।’
 
जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार अदालतको फैसला गृह मन्त्रालयबाट प्रमाणित भएर आउन बाँकी छ । ‘जेद्दा क्षेत्र हेर्ने गभर्नरले सापकोटाको फाइललाई प्रमाणीकरणका लागि गृह मन्त्रालय पठाएको जानकारी छ,’ महावाणिज्य दूतको कार्यालयका एक अधिकारीले भने, ‘उताबाट आउन ढिलाइ भएकाले सापकोटा जेलबाट निस्कन पाएका छैनन् ।’ सापकोटाले साउदी नागरिक, कम्पनी वा नेपाली दूतावासबाट २५ हजार दिराम (करिब ७ लाख रुपैयाँ) धरौटी राखेर जमानतमा जेलबाट निकाल्न सकिने बताए । ‘जेलको प्रहरीले फाइल आउँदा निकै समय लाग्ने बताएको छ । तत्कालै २५ हजार दिराम राखेर जमानतमा निकाल्न सकिन्छ,’ उनले भने, ‘रिलिज पेपर कहिले आउने हो, कुनै टुंगो छैन ।’
 
उनी जेद्दाबाट ७ सय ५० किमि पर्ने जिजान जेलमा छन् । सफी उल्लाहले आफू जोगिन हत्यामा सापकोटाको संलग्नता छ भनेर बयान दिँदा प्रहरीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । ‘टीकाराम अलि बाठो मान्छे देखेर मलाई मृत्युदण्डबाट जोगाउन सहयोग पुग्छ भनेर शव लुकाउन उसले सहयोग गरेको भनेर बयान दिएको हो । मदिरा खाएका बेला मैले नै मारेको हो । उनले सहयोग गरेको होइन,’ उल्लाहले अदालतमा दिएको बयान उद्धृत गर्दै कार्यवाहक वाणिज्यदूत रेवती पौडेलले भने, ‘सोमप्रसाद र मैले मात्रै कोठामा मदिरा पिएको हो । उनी घर फर्किन लागेकाले खानपिन गरेका थियौं । खाइसकेपछि सँगै सुतेका थियौं । सोमप्रसाद धेरै घुर्न थाल्यो । मर्न लागेर घुरेको हो जस्तो लाग्यो । घुराइबाट मलाई के भो भो । चक्कुले छातीमा हानेर हत्या गरेको हो । त्यही राति गाडीमा हालेर मरुभूमिमा लगेर जलाएँ । ‘आत्तिएर टीकारामको नाम लिएँ । ऊ अलि बाठो थियो । उसले मलाई सेफ गर्न सक्छ भनेर नाम लिएको हुँ । टीकारामको संलग्नता छैन ।’
 
अदालतले उल्लाहलाई ५ वर्ष जेल र २ लाख रियाल ब्लडमनि दिनुपर्ने फैसला सुनाएको पौडेलले बताए । तल्लो अदालतले फैसला सुनाएपछि प्रमाणितका लागि माथिल्लो अदालतमा पेस भयो । माथिल्लो अदालतबाट त्यसलाई प्रमाणित गरेर फेरि तल्लो अदालतमा पठायो । तल्लो अदालतबाट अमिर कार्यालयमा गयो । अमिरले प्रमाणित गरेपछि कार्यान्वयनका लागि जेलमा पठायो । त्यसपछि बल्ल सोमप्रसादको शव नेपाल पठाउन बाटो खुल्यो । गएको दसैंअघि बल्ल पीडित परिवारले जल्न बाँकी रहेको सोमप्रसादको तीन वर्षपछि शव पाए ।
 
ज्यान मुद्दामा निर्दोष सावित र मदिरा सेवनमा माफी पाइसकेका टीकारामले रिहाइका लागि जेलबाटै हारगुहार गरिरहेका छन् । जेलबाट छुट्न तल्लो तहले सुनाएको प्रमाणित फैसला अझै फनफनी घुमिरहेको छ । घडीको आकारमा घुमेर आउने तल्लो अदालतको फैसाला–माथिल्लो अदालत–तल्लो अदालत–अमिरको कार्यालय हुँदै अहिले रियादस्थित गृहमा गएर थन्किएको छ । रियादस्थित नेपाली दूतावासले फाइललाई छिटो प्रमाणीकरण गराउन पहल भइरहेको जनाएको छ ।
 
‘एउटाको गल्तीले मेरो जीवनमाथि खेलबाड भयो । अनाहकमा जेल बसिराख्नुपरेको छ । मैले र मेरो परिवारले कति मानसिक यातना खेप्नुपरेको छ । त्यसको कुनै हिसाबकिताब छैन । मेरो विषयमा चिन्तित हुँदा बुबा नै बित्नुभयो,’ टीकाराम सहयोगी साथीभाइलाई बारम्बार भनिराख्छन्, ‘बिनाकारण जेलमा बस्नुको मूल्यबापत मैले के न्याय पाउने ?’
 
Published on: 27 June 2018 | Kantipur

Back to list

;