s

निर्वाचनको असर ‘मजदुर मेला’ मा

महोत्तरी मटिहानी ५ गोवरौराका ३३ वर्षीय रामदेव राउत एका बिहानै साइकल चढेर जनकपुर आइपुग्छन् । ५ वर्षदेखि उनको दिनचर्या साइकल चढेर जनकपुरतर्फ आउनु नै हो । मजदुरीको अवसर खोज्न दैनिक एक बिहानै जनकपुर आइपुग्ने रामदेव एक सातायता काम नपाएर दिउँसो रित्तो हात घर फर्किन्छन् । चुनावदेखि नै काम नपाउँदा १५ किलोमिटर साइकल चलाएर आउने रामदेवलाई साँझ रित्तो हात फर्किनुपरेको हो । जसले उनको परिवारमा छाक टार्न समस्या भएको उनले बतए । 
 
धनुषा धनौजी ९ गोरदाहाका २५ वर्षीय सुरेन्द्र मण्डल पनि जनकपुरमा मजदुरी गर्न तीनजना साथीहरूसँग जनकपुरमा बस्दै आएका छन् । चुनावी चहलपहल सुरु भएदेखि नै काम गर्न नपाएको सुरेन्द्र बताउँछन् । जनकपुरका पुलचोकमा तीन वर्षदेखि डेरामा बस्दै आएका सुरेन्द्र डुबान र चुनावका कारण काम नपाउँदा दसैंमा घर कसरी रित्तो हात फर्किने चिन्तामा छन् । एकाबिहानै साथीहरूसँग रामानन्द चोकमा काम खोज्न आउने मण्डल जनकपुरमा मजदुरी गर्दै आएका छन् । 
 
मटिहानीका रामदेव र धनौजीका सुरेन्द्रजस्तै रामानन्दचोकमा २५ वर्षदेखि मजदुरीका लागि एकाबिहानै आइपुग्ने जनकपुर २१ कुर्थाका ६५ वर्षीय सहदेव दास लामो समयसम्म काम नपाउँदा घर खर्च जुटाउन समस्या भएको बताउँछन् । सिजनको बेला महिनामा १५/२० हजार सहजै आम्दानी हुने भएकाले जनकपुरको रामानन्दचोकभन्दा दक्षिण बिहानैदेखि साइकलमा मजदुरी खोज्दै आउनेको भीड लाग्दै आएको छ । 
 
जनकपुर सहरमा घर निर्माण, समान ओसारपसार, सरसफाइसहितका काम गर्ने अवसर सहजै प्राप्त हुने भएकाले मजदुरहरू कामको अवसर पाउन समूहमै जनकपुरमा ‘मजदुर मेला’ लगाउँदै आएका छन् । रामानन्द चोकभन्दा दक्षिण २ सयभन्दा बढी मजदुर दैनिक सडकमा कामको अवसर खोज्दै भौंतारिएको दृश्य देख्न मिल्छ । दैनिक ६ सयदेखि ८ सयसम्म सुक्खा ज्याला पाउनका लागि काम अभावमा आपसमै झगडासमेत हुने गरेको जनकपुर १६ कटरैतका ५६ वर्षीय राजेन्द्र साह बताउँछन् । मजदुर मेलामा खेत खन्ने लेबरदेखि महल बनाउने कारिगर सबै हुन्छन्,’ राजेन्द्रले भने, ‘काम गर्ने मजदुर धैर छन् । काम गर्ने अवसर थौरै आउँछ । थोरै आएका काम गर्न एक आपसमा नै तँछाडमछाड र तानातान हुन्छ ।’ 
 
जनकपुरमा अन्य सहरमा जस्तो कलकरखाना नहुँदा रोजगारीको अवसर छैन । रोजगारीको अवसर नपाउँदा मजदुरलाई काम पाउनै गाह्रो हुने गरेको काम खोज्दै रामानन्द दैनिक आइपुग्ने जनकपुर ७ का सुरेश साह बताउँछन् । चुनाव लड्ने नेताहरू विजयी भएपछि उद्योग कलकरखाना सञ्चालन गर्छु भनेर अश्वासन दिएका छन्,’ सुरेशले भने, ‘वर्षौंपछि भएको चुनावमा जित्नेले जनकपुरमा गरिब, मजदुरका लागि मजदुरीको अवसर दिलाउने आश जागेको छ ।’ विगतको वर्षमा दसैं, दीपावलीको बेलामा काम पर्याप्त काम पाउँदा राम्रो आम्दानी गरेर घर फर्किने मजदुर यस वर्ष डुबान र चुनावका कारण काम 
 
नपाउँदा दसैं र दीपावली खल्लो हुने महोत्तरी सम्सीका राकेश साह बताउँछन् । ‘डुबानमा काम गर्न सकिएन, चुनावमा काम पाउन सकिएन,’ डेरा लिएर बस्दै आएका राकेशले भने, ‘मजदुरी गरी कमाएको पैसा घर भडा र खाना खाँदै सकिएको छ । महिना दिनपछि घर जाँदा रित्तो हात जानुपर्ने बाध्यता छ ।’ बाहिर काम गर्न जान सक्ने सामथ्र्य नहुँदा जनकपुरमै मजदुरी गरेर १० वर्षदेखि गुजारा चलाउँदै आए पनि पछिल्लो केही वर्षदेखि काम पाउनै समस्या हुन थालेको उनले बताए । 
 
गाउँघरमा मजदुर नपाउँदा किसानले ट्याक्टरसहितको उकपरण प्रयोग गर्न थालेपछि काम खोज्दै सहर पसेका मजदुर काम नपाएर अन्योलमा परेका छन् । जनकपुरमा चुरोट कारखाना हुँदा एक हजारभन्दा बढीले राजेगारीका अवसर पाएका थिए । रेल्वे बन्द हुँदा थप रोजगारी गुम्यो । वैदेशिक रोजगारमा जान सक्ने क्षमता नभएका मजदुर काम नपाएर परिवार धान्न समस्यामा छन् । 
 
Published on: 3 October 2017 | Kantipur

Back to list

;