s

नि:सन्तान दम्पतीलाई सन्तान दिलाउन कानुनी मान्यता खोज्दै चिकित्सक

अर्जुन अधिकारी

वैदेशिक रोजगारीमा गएका २५ प्रतिशत युवा नि:सन्तान

निःसन्तान भएर विभिन्न समस्यामा परेका दम्पतीलाई सन्तान दिलाउन आइभिएफ विशेषज्ञले कानुनी बाटो खोजेका छन् । कृत्रिम रूपमा भ्रूण विकास गरेर निःसन्तान आमाको पाठेघरमा राखिने प्रविधि आइभिएफका विशेषज्ञ डाक्टरको संगठन फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसन) गठन गरिएको छ ।
 
कानुनविना हालसम्म निःसन्तान भएकालाई सेवा दिँदै आएका आइभिएफ विशेषज्ञ डाक्टरले काठमाडौंमा शनिबार एक कार्यक्रम गरी फेसनलाई जन्म दिएका हुन् । नेपालमा आइभिएफ सुरु भएको १६ वर्ष पुगे पनि हालसम्म कुनै नियम कानुन बनेको छैन ।
 
नेपालका पहिलो टेस्ट ट्युव बेबी ओममणि तामाङ १४ वर्ष पुगेका छन् । आइभिएफ विशेषज्ञका अनुसार नेपालमा हालसम्म दुई हजारको संख्यामा टेस्ट ट्युब बेबीको जन्म भएको छ । निःसन्तान भएका दम्पतीलाई सेवा दिन उपत्यका र उपत्यकाबाहिर गरी १२ वटा आइभिएफ सेन्टर खुलेका छन् ।
 
कानुन नहुँदा बारम्बार समस्या
 
फेसनका अध्यक्ष डा. भोला रिजालले हरेक वर्ष सन्तान प्राप्तिकै लागि सयौँ निःसन्तान दम्पती भारत गएर महँगोमा सेवा लिन बाध्य भएको बताए । ‘उनीहरूलाई रोक्न फेसन एकढिक्का भएर अगाडि बढ्नुपर्छ, त्यसका लागि हामी चाँडै कानुनी रूपमा मान्यता पाएर आउनेछौँ,’ रिजालले भने ।’
 
फेसनकी उपाध्यक्ष डा. सविना श्रेष्ठले निःसन्तानसम्बन्धी कुनै कानुन नहुँदा बारम्बार समस्या आउने गरेको बताइन् । ‘विश्वमा सन् १९७७ बाट सुरु भएको टेस्ट ट्युब बेबी सेवा नेपालमा १६ वर्ष पुगेको छ । यतिका समयसम्म हामीसँगै कुनै कानुन बनेको छैन, जसले गर्दा समस्या पर्दा त्यसको समाधान गर्ने पाटो बन्द भएको छ,’ उनले भनिन् । श्रेष्ठले निःसन्तानका क्षेत्रमा देखिएको समस्या समाधान गर्न फेसनको स्थापना गरिएको बताइन् ।
 
२० प्रतिशत दम्पती नि:सन्तान
 
आइभिएफ विशेषज्ञ चिकित्सकका अनुसार नेपालमा निःसन्तानको समस्या भएका करिब २० प्रतिशत दम्पती छन् । वैदेशिक रोजगारी र वातावरणीय प्रभावका कारण धेरै दम्पती निःसन्तान हुन बाध्य भएको वरिष्ठ आइभिएफ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । उनी उपत्यकाबाहिर टेस्ट ट्युब बेबी सेवा सुरु गर्ने नेपालका पहिलो चिकित्सक हुन् ।
 
विज्ञका अनुसार निःसन्तान दम्पतीमध्ये ८५ प्रतिशतलाई उपचार गरेर निको पार्न सकिन्छ, तर १५ प्रतिशतलाई औषधिको प्रयोगले मात्रै सम्भव नहुन सक्छ । निःसन्तान दम्पतीको सन्तान प्राप्ति गर्ने चाहनामा मलम लगाउनेतर्फ फेसन लाग्ने अध्यक्ष रिजालले स्पष्ट पारे ।
 
२५ प्रतिशत नि:सन्तान वैदेशिक रोजगारीमा
 
आइभिएफ विशेषज्ञका अनुसार वैदेशिक रोजगारीमा गएका अधिकांश युवामा निःसन्तान हुने समस्या छ । डा. सविना श्रेष्ठका अनुसार निःसन्तान विशेषज्ञ क्लिनिकमा उपचार एवं परामर्शका लागि आउनेमध्ये २५ प्रतिशतसम्म वैदेशिक रोजगारीमा गएका युवा छन् ।
 
उनीहरूका अनुसार कठिन र स्वास्थ्य प्रतिकूल हुने प्रकृतिका काम, अन्य व्यक्तिसँगको यौनसम्पर्कका कारण सर्ने रोग, गर्भ रहन सक्ने उपयुक्त समयमा यौनसम्पर्क हुन नसक्नु, मानसिक तनाव, धेरै वर्षसम्म अलग–अलग बस्दा प्रजननशील उमेरसमेत घट्ने हुँदा सन्तान नहुने समस्या बढी देखिएको छ ।
 
रसायन उत्पादन गर्ने कारखाना, उच्च तापक्रममा ड्राइभिङ र फलाम उद्योगमा काम गर्ने मानिसको शुक्रकिट कम हुन्छ । श्रेष्ठका अनुसार घटेको शुक्रकिट पुरानो ठाउँमा आउन तीनदेखि चार महिना लाग्छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने करिब ४० लाख नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
 
Published on: 3 June 2018 | Naya Patrika

Back to list

;