s

‘नेटवर्किङ बिजनेस’को निसानामा बेरोजगार युवा

सुर्खेत वीरेन्द्रनगरका यामबहादुर बुढा क्षेत्री (२१) गाउँमै ‘फुड डेलिभेरी’को काम गर्दै थिए । सुरुमा २५ हजार रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका बुढाले सातजना उनीजस्तै युवालाई रोजगारी दिएका थिए । उनको व्यवसाय चलाउन कम्तीमा पाँचवटा विद्यालयमा खाजा पुर्‍याउनुपर्ने बाध्यता थियो । त्यसका लागि लगानी धेरै चाहिन्थ्यो । उनीसँग पैसा थिएन । ‘नगरपालिका र वडा कार्यालय त कति धाएँ–धाएँ,’ बुढा भन्छन्, ‘तर, सहयोग कसैले गरेनन् ।’

सुर्खेतकै एक साथीले उनलाई ओरियन्स नामक नेटवर्किङ कम्पनीका बारेमा जानकारी दिए । ठूला सपना पनि देखाए । उनी छँदाखाँदाको व्यापार छाडेर त्यही कामका लागि झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुडी हानिए । कक्षा १२ सम्मको अध्ययन सकाएका उनले सो कम्पनीलाई आमासँग मागेर ३५ हजार रुपैयाँ पनि बुझाएका छन् । नेटवर्किङ बिजनेस र ओरियन्स कम्पनीका बारेमा उनले सिलिगुडीमा तीन दिनको तालिम पनि लिइसकेका छन् । तालिमपछि उनी सिलिगुडीकै एक होस्टेलमा बसिरहेका थिए ।

घुम्न आउने क्रममा उनलाई केही दिनअघि काँकडभिट्टा प्रहरीले नियन्त्रणमा लियो । अहिले उनी घर फर्कनै मान्दैनन् । ‘मेरो घरमा धेरै इज्जत छ । मैले आमा–बुबालाई धेरै सपना देखाइसकेको छु,’ उनी भन्छन्, ‘मैले आमालाई दुई/तीन महिनापछि लाखौँ कमाउँछु भनिसकेको छु । घरमा खबर नगरिदिनू ।’ मुगुकी शर्मिला मल्ल काठमाडौंमा पढ्दै थिइन् ।

प्लस टु सकिसकेकी उनले १८ महिने सिएमए पनि गरेकी छिन् । तर, उनी बेरोजगार हुन् । कामको खोजीमा भौतारिँदै गर्दा एकजना फेसबुकमा चिनेको दाइले उनलाई राम्रो काम दिने भन्दै काँकडभिट्टा बोलाए । उनले त्यसवेलासम्म महिनामा लाख बढी कमाउने सपना देखिसकेकी थिइन् । ‘म त मेडिकल क्षेत्र नै पढेकी मान्छे । यहाँका प्रोडक्ट पनि मेडिकलका हुन्छन् भन्ने सुनेँ । पैसा पनि राम्रो हुन्छ भने । त्यसैले आएँ,’ उनी भन्छिन्, ‘बल्ल यो कम्पनीका बारेमा थाहा पाएँ । अब त म कुनै हालतमा जान्नँ । बरु नेपालमा भाँडा माझ्छु ।’

पछिल्लो समय नेटवर्किङ बिजनेसको नाममा ओरियन्स कम्पनीले सयौँ बेरोजगार युवालाई ठग्दै आएको छ । मासिक लाखौँ कमाउन सकिने आश्वासन दिँदै बेरोजगार युवालाई भारत लैजाने गरेको प्रहरीले जनाएको छ । भारत लगिएका उनीहरूलाई ओरियन्सकै फुड सप्लिमेन्ट बेच्न वा नयाँ तीन सदस्य खोज्न लगाइन्छ । उनीहरूले पैसा तिरेर आफ्नो तह ओरियन्स कम्पनीसँग किन्नुपर्छ । तल्लो तहको सदस्यलाई फस्र्ट, सेकेन्ड, थर्ड डायमन्डको उपाधि दिइन्छ । यसका लागि क्रमशः १५ हजार, ३५ हजार र एक लाख लगानी गर्नुपर्ने हुन्छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले रोजगारीको अवसर नपाएका, फ्रस्टेसनमा परेका र पारिवारिक रूपमा विखण्डनमा परेका युवायुवती ओरियन्सको निशानामा रहेको बताए । अहिले काँकडभिट्टा नाकाबाट ओरियन्सले भारततिर लैजान लागेका दैनिक ३० जनाभन्दा बढीको उद्धार भइरहेको उनले बताए ।

Published on: 10 February 2020 | Naya Patrika

Link

Back to list

;