s

नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न कतार सहमत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो। 

यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ । 

साथै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनर्स्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ । 

नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् । 

कतारले २०७४ भदौ ६ गते नै घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन जारी गरिसकेको छ । त्यसमा नेपालको संसदले घरेलु श्रमिकको सुरक्षाको पक्षमा उठाएका धेरै विषय सम्बोधन गरिसकेको छ । कतारमा हाल झन्डै ५० हजार नेपाली पुरुष घरेलु श्रमिक कार्यरत छन् ।

Published on: 6 December 2021 | Kantipur

Link

Back to list

;