s

नेपालमा सिकाइने कोरियन भाषा वेकम्मा

कोरियन कम्पनीहरुले नेपालमा सिकाइने कोरियन भाषाका कक्षा प्रभावकारी नभएको गुनासो गरेका छन् । कोरियामा नेपालीको आत्महत्या र सुतेकै ठाउँमा ज्यान गुमाउने क्रम बढेपछि त्यहाँ नेपाली कामदारहरुको अवस्था बुझ्न गएको नेपाली प्रतिनिधिसँगको कुराकानीमा कोरियन रोजगारदाता कम्पनीहरुले कामदारको मृत्युमा भाषा नै मुख्य कारण भएको समेत बताएका छन् ।
 
कोरियन भाषा पढाउने भन्दै जथाभावी खुलेका संस्थाले परीक्षालाई मात्रै केन्द्रित गरेको कारण कोरीया पुग्ने नेपाली कामदार समस्यामा पर्ने उनीहरुको भनाइ छ । नेपालबाट गएका धेरै नेपालीले कोरियन भाषामा कुरा गर्न नजानेको कम्पनीले गुनासो गरेको ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।
 
कोरियन भाषा कक्षा सञ्चालन गर्न भन्दै राजधानी र मोफसलका थुप्रै शहरमा जथाभावी संस्था खुलेका छन् । च्याउसरी खुलेका यस्ता इन्स्टिच्युटुहरुले कोर्ष तीनदेखि चार महिनासम्म पढाउँछन् । एचआरडी कोरियाले लिने परीक्षामा टिक मार्क लगाएर उत्तर दिने र कोटा अनुसार बढी अंक ल्याउने छनोटमा पर्ने प्रणाली छ । नेपालमा कोरियन भाषा सिकाउने संस्थाको समेत अभिलेख छैन । कोरियन कम्पनीले नेपाली टोलीसँग भाषा राम्रोसित बोल्न सक्ने बनाएर पठाउन समेत माग गरेका छन् ।
 
भाषा कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने भए पनि धेरै संस्था अनुमतिविना नै चलाइएका छन् । नेपाली वर्षेनी कोरियन भाषाको परीक्षा हुँदा लगभग पौने लाख जतिले परीक्षा दिने गर्दछन् भने वर्षेनी करिव १ लाख नेपालीले कोरियन भाषा पढ्ने गर्छन् । इपीएस मार्फत् झण्डै ५१ हजार नेपाली रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि ईपीएसमार्फत् नेपाली कोरिया जान थालेपछि ८१ जना नेपालीको ज्यान गएको छ । त्यसमध्ये सबैभन्दा धेरै आत्महत्या र सुतेकै ठाउँमा ज्यान गुमाउनेहरु रहेका छन् । यस वर्ष मात्रै १७ जना नेपालीले कोरियामा ज्यान गुमाइसकेका छन् ।
 
कोरियामा शिक्षित युवा जाने गरेको तर कडा परिश्रम पर्ने काम गर्नुपर्दा त्यसको तनावले आत्महत्या गर्ने गरेको अनुमान छ । दक्षिण कोरियामा कार्यरत नेपालीले आत्महत्या गर्नुको कारण भाषाको समस्या र कामको बढी चाप रहेको यस पटकको अध्ययनमा पाइएको हो । भाषा नजान्दा आफ्नो समस्या भन्न नसक्ने र काम धेरै गर्नुपर्ने भएकाले त्यसको तनावमा आत्महत्या गर्ने गरेको ईपीएस कोरिया शाखाले पहिलेदेखि नै अनुमान गर्दै आएको थियो ।
 
यस्तै, त्यहाँको चिसो वातावरण र साहुको दबाब पनि आत्महत्याको कारण रहेको टोलीले निष्कर्ष निकालेको छ । मानसिक रोग र मुटुरोगका विशेषज्ञ डाक्टरसहितको टोली कोरियामा नेपालीको मृत्यु बुझ्न दुई साता पहिले कोरिया गएको थियो । कोरिया पुग्नासाथ दिइने तीन दिने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन नेपाली टोलीले आग्रह गरेको छ ।
 
Published on: 10 February 2018 | Madhyanha

Back to list

;