s

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो

काठमाडौँ, माघ २३ गते । रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो । विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन् । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

चालु आवको पहिलो छ महिनामा श्रम स्वीकृति लिएका विदेशी श्रमिकमध्ये ७७२ जना चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् ।

विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका ठुला परियोजनामा आवश्यक साना ठुला प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुभयो । उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्ना देशका नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ ।

श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन ।

नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सिपयुक्त विदेशी जनशक्तिलाई मात्रै श्रम स्वीकृति दिनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम छ वर्षसम्म नवीकरण हुने व्यवस्था छ । यसै गरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् ।

Published on: 6 February 2024 | Gorkhapatra

Link

Back to list

;