s

नेपालमा कतार संकटको बाछिटा

सुरेन्द्र पौडेल

खाडीका ६ सहित सात राष्ट्रले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न 'कूटनीतिक संकट' नेपालसम्म आइपुगेको छ। सम्बन्ध बिच्छेद गर्ने सात राष्ट्र र कतारले नेपाललाई आफ्नो पक्षमा पार्न कूटनीतिक प्रयास थालेका छन्। खासगरी खाडीका सबै राष्ट्रसँग रोजगारको सम्बन्ध राखेको नेपालले भने दुवै पक्षसँग सन्तुलित हुनचाहेको छ।
 
खाडी राष्ट्रमा उत्पन्न कूटनीतिक संकटबारे जानकारी गराउन र नेपाललाई आफ्नो पक्षमा लिन बिहीबार साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट (युएई) का राजदूत एकसाथ परराष्ट्र मन्त्रालय पुगे। सात राष्ट्रले कूटनीतिक सम्बन्ध बिच्छेद गरेको कतारका राजदूत भने एक साताअघि असार १६ गते परराष्ट्र मन्त्रालय पुगेका थिए। दुवै पक्षले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी नेपाललाई आफ्नो पक्षमा लिने प्रयास गरेका हुन्।
 
'तपाइहरुको सम्बन्ध बिग्रेका कारण नेपालले अरु राष्ट्रसँग सम्बन्ध बिर्गादैन,' परराष्ट्रमन्त्री महराले दुवै पक्षका राष्ट्रका राजदूतलाई स्पष्ट शब्दमा भनेका छन्, 'हाम्रो मुख्य चासो भनेको  तपाइहरुको देशमा कार्यरत हाम्रा नागरिक सुरक्षित छन् कि छैनन् भन्ने हो।'
 
जेठ २२ गते खाडीका साउदी अरब, युएई, बहराइन, इजिप्ट, लिबिया, यमन र एक दक्षिण एसियाली राष्ट्र माल्दीभ्सले कतारले आतंकवादी र अतिवादी समूहलाई सहयोग गरेको भन्दै ऊसँगको कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेका थिए। सुरुमा साउदी र बहराइनले यस्तो घोषणा गरे। त्यसको लगत्तै अन्य ५ राष्ट्रले साउदी र बहराइनको कदमलाई साथ दिए। सम्बन्ध बिच्छेद गर्ने खाडीका ती राष्ट्रले कतारसँगको स्थल, जल र हवाई सबै सम्पर्क तोडेको घोषणा गरेका थिए। जुन निरन्तर छ। कतारको एक राष्ट्रसँग मात्र स्थल सीमा जोडिएको छ, जुन साउदी अरब हो।
 
अर्को खाडी राष्ट्र कुबेतले त्यहाँ देखिएको कूटनीतिक संकट समाधान गर्ने प्रयास गरिरहे पनि सार्थकता पाउन सकेको छैन। कतारले मुस्लिम ब्रदर्सहुड, इस्लामिक स्टेट, अलकायदालगायत आतंकवादी समूहलाई सहयोग गरेको आरोप सात राष्ट्रको छ। अलजजिरा टेलिभिजनमार्फत यस्ता समूहको सामग्री प्रचार गरी कतार खाडीका जनताको विरुद्धमा रहेको आरोप पनि छ। कतारको इरान र टर्कीसँगको सम्बन्धलाई लिएर पनि ती सात राष्ट्रले असन्तुष्टि जनाएका छन्।
 
साउदी अरब, युएईलगायत सात राष्ट्रले कूटनीतिक सम्बन्ध पुरानै अवस्थामा फर्काउने हो भने कतारले १३ वटा माग पूरा गर्नुपर्ने अडान लिएका छन्। कतारले भने उनीहरूको माग पूरा गर्न नसिकने बताउँदै आएको छ। कतारले आतंकवादी समूहलाई दिँदै आएको सहयोग बन्द गर्नुपर्ने, अलजजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँग सम्बन्ध तोड्नुपर्ने, कतारमा रहेका टर्कीका सैनिक वेस हटाउनुपर्ने लगायत १३ माग सात राष्ट्रले राखेका छन्। यही अवस्थामा दुवै पक्ष विश्वका अन्य देशलाई आफ्नो पक्षमा लिन प्रयासरत छन्। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन।
 
'नेपाल शान्तिप्रेमी देश हो। नेपालले सधैभरि शान्तिको पक्षमा लबिङ गर्दै आएको छ। हामीले हाम्रो द्वन्द्व पनि शान्तिपूर्ण रुपमा सुल्झायौं। त्यसरी नै तपाईंहरूको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान होस् भन्ने हाम्रो चाहना छ,' बिहीबार राजदूतहरूसँगको भेटमा मन्त्री महरालाई उद्वृत गर्दै प्रेस संयोजक हरि लामिछानेले भने।
 
नेपालका लागि साउदी अरबका राजदूत अब्दुलनसेर हुसेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफटाह हेल्मी र युएईका राजदूत हइटहम अल हमादीले परराष्ट्र मन्त्रीलाई भेटेर सुरुमै सात देशद्वारा कतारविरुद्ध जारी संयुक्त विज्ञप्ति थमाएका थिए। भेटको सुरुमा परराष्ट्रमन्त्री महराले 'खाडीमा समस्य छ भन्ने सुनेको छु त्यहाँको जानकारी गराउनोस्' भनेपछि राजदूतहरूले विज्ञप्ति हस्तान्तरण गरेका थिए। विज्ञप्तिमा कतारसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरिएको र गरिनुको कारण लेखिएको छ।
 
'कतारले ब्रदर्सहुडलाई सहयोग गरेको हामीयलाई सह्य छैन। अल जजिरा टेलिभिजनले खाडी राष्ट्रविरुद्ध प्रचारप्रसार गरिरहेको छ। इरान र टर्कीले कतारलाई सहयोग गरेको राम्रो होइन। कतारले आतंकवादी समूहलाई आर्थिक सहयोग गरिरहेको छ, जुन खाडीको सुरक्षा चुनौती बनेको छ,' नेपालको लागि इजिप्टका राजदूत हेल्मले परराष्ट्रमन्त्री महरालाई जानकारी गराए।
 
आफ्ना १३बुँदे मागलाई लिएर कतारले दिएको जबाफ पनि चित्तबुझ्दो नभएको ती राजदूतले परराष्ट्रमन्त्री महरालाई बताए। तीन देशका राजदूतले एकै धारणा राखेका थिए, 'कतारले आतंकवादी समूहलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्नुपर्छ र अल जजिरा टेलिभिजन बन्न गर्नुपर्छ।'
 
राजदूतहरूको कुरा सुनेपछि जबाफमा परराष्ट्रमन्त्री महराले भने, 'नेपालले कुनै पनि प्रकारको आतंकवादको समर्थन गर्दैन। तपाईंहरूले भनेजस्तो खाडीमा आतंकवाद छ/छैन हामीलाई जानकारी छैन। तपाइहरुको सम्बन्ध बिग्रेको कारण नेपालले अरु राष्ट्रसँग सम्बन्ध बिर्गान चाहदैन।'
 
परराष्ट्रमन्त्री महराले इजिप्ट, साउदी अरब र युएई नेपालका पुराना मित्रराष्ट्र भएका उल्लेख गर्दै समस्या शान्तिपूर्ण रुपमा समाधान गर्न आग्रह गरे। खाडी राष्ट्रमा देखिएको समस्या नेपालको नभएको जनाउँदै उनले आफ्नो चासो त्यहाँ रहेका नेपाली कामदारप्रति रहेको स्पष्ट पारे। 'हाम्रो चासो भनेको त्यहाँ रहेका नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्छ भन्ने हो,' परराष्ट्र मन्त्री महराले राजदूतहरूसँग भने।
 
एक तथ्यांक अनुसार साउदी अरबमा करिब ५ लाख, युएईमा करिब ३ लाख, बहराइनमा करिब २५ हजार र कतारमा करिब ५ लाख नेपाली कार्यरत छन्। परराष्ट्रमन्त्री महराले नेपाली कामदारबारे चासो राखेपछि राजदूतहरूले 'नेपाली कामदारमाथि कुनै समस्या नआउने र सुरक्षित राख्ने' आश्वासन दिएका थिए।
 
यसअघि असार १६ गते नेपालका लागि कतारका राजदूत अहमद जसिम महोम्मेद अली अल हमरले परराष्ट्रमन्त्री महरालाई भेटी कतारले आतंकवाद र आतंककारीलाई संरक्षण नगरेको जानकारी गराएका थिए। हमरले कतारले समस्या समाधानका लागि सात राष्ट्रलाई वार्ता र संवादमा आउन आग्रह गरे पनि उनीहरूले वेवास्ता गरेको आरोप लगाएका थिए।
 
'हामीले साउदी अरब, युएईलगायत देशलाई समस्या समाधान गर्न धेरैपटक वार्तामा आउन भन्यौं तर उनीहरूले चासो देखाएका छैनन्,' कतारका राजदूत हमरले भनेका थिए। कतारका राजदूतलाई पनि परराष्ट्रमन्त्री महराले कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झाउन आग्रह गरेका थिए। उनीसँग पनि महराले नेपालको चासो त्यहाँ रहेका नेपाली कामदारसँग जोडिएको उल्लेख गरेका थिए।
 
Published on: 7 July 2017 | Nagarik

Back to list

;