s

नेपालमा ओमनी दूतावास खुल्ने

होम कार्की
 
ओमानका उपप्रधानमन्त्री सायिद फाहद मोहम्मद अल–सेडले रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण अवस्थामा रहेको नेपालले भारत र चीनको विकासबाट फाइदा लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन मस्कटको रोयल प्यालेसमा भएको भेटमा उनले यस्तो सुझाव दिएका हुन् । 
 
ओमनी सुल्तान (राजा) कावुस विन सेड अल–सेड स्वास्थ्य लाभका लागि मस्कटबाहिर रहेकाले उपप्रधानमन्त्री अल–सेडले द्विपक्षीय भेटमा ओमनको प्रतिनिधित्व गरेका थिए । अलसेडले नेपालसँगको द्विपक्षीय सम्बन्ध अझ बृहत्तर रूपमा अगाडि बढाउन काठमाडौंमा ओमनी दूतावास खोल्ने बताए । ‘ओमनमा कार्यरत प्रत्येक नेपालीले यहाँ राम्रो छाप पारेका छन्,’ अल सेडको भनाइ उद्धृत गर्दै ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरसँग भनिन्, ‘रणनीतिक रूपमा त्यति धेरै महत्त्व रहेको नेपालमा अब ओमनको दूतावास खोल्नेछौं ।’
 
प्रधानमन्त्री देउवाले परम्परागत संस्कृति जोगाउँदै ओमनले गरेको विकासबाट आफू निकै प्रभावित भएको बताए । उनी उप्रधानमन्त्री अल–सेडलाई भेट्न जानुअघि सुल्तान कावुस ग्रान्ड मस्जिद, राष्ट्रिय संग्रहालयमा पुगेका थिए । ‘मेरो अरब क्षेत्रको यो पहिलो औपचारिक भ्रमण हो । यहाँको परम्परागत संस्कृति जोगाई जुन हिसाबले आधुनिक ओमन बनाउने काम भयो, यो एउटा सफल उदाहरण हो,’ उनले उपप्रधानमन्त्री अल–सेडसमक्ष भने । 
 
देउवाले नेपालको स्वास्थ्य, पर्यटन, जलविद्युत् र कृषि क्षेत्रको विकासका लागि ओमनको सहयोग खाँचो रहेकामा जोड दिएका थिए । ‘हामी राजनीतिक रूपमा संक्रमणकालको अन्त्य गर्दै छौं,’ उनले भने, ‘केही समयमा नेपाल आर्थिक लगानीका लागि उत्कृष्ट गन्तव्य बन्न जाँदै छ । त्यसमा ओमनी लगानी भित्रिनेछ भन्ने हामीले आशा राखेका छौं ।’ 
 
देउवा र अलसेडबीच झन्डै एक घण्टा भेटवार्ता भएको थियो । द्विपक्षीय भेटमा ओमनका उद्योग तथा वाणिज्यमन्त्री डा. अली मसुउद अली सनएडी, जनशक्तिमन्त्री शेख अब्दुल्लाह नासिर अल बखरी, शिक्षामन्त्री डा. मदिहा अहमिद अल सियिवानिया, मन्त्री काउन्सिलका सचिवालय प्रमुख शेख अफादह मोहम्मद अल हर्थी, नागरिक सेवामन्त्री शेख खालिद ओमर अल मारहुन, राज्य तथा मस्कटका गर्भनर सायिद सुद हिलाल अल–वुसाइदी र परराष्ट्र मन्त्रालयका पश्चिम एसिया राजदूत शेख हिलाह मारहुन अल मम्मरीलगायत सरकारी उच्च अधिकारी सहभागी थिए । 
 
नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित उच्च अधिकारी थिए । भ्रमणमा ओमन र नेपालबीचको द्विपक्षीय हितका लागि द्विपक्षीय संयन्त्र निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनुका साथै श्रमसम्झौताका विषयमा छलफल हुने राजदूत ढकालले बताइन् । ओमनमा नेपाली कामदारलाई रोजगारी अवसर बढाउने तथा उनीहरूको हितका विषयमा समेत छलफल भएको उनले बताइन् । ओमनमा झन्डै १५ हजार नेपाली कार्यरत छन् । सबभन्दा बढी होटल क्षेत्र र घरेलु कामदारका रूपमा कार्यरत छन् । प्रधानमन्त्री देउवाले नेपालमा इन्जिनियरसहित सीपयुक्त जनशक्ति बढीभन्दा बढी लिन ओमन सरकारलाई आग्रह गरेका थिए । उपप्रधानमन्त्री अल–सेडले ओमनले विकासका लागि थप जनशक्ति आवश्यक रहेकाले नेपालीहरू उच्च प्राथमिकतामा पर्ने बताएका थिए ।
 
Published on: 27 September 2017 | Kantipur

Back to list

;