s

नेपालमा बेरोजगारमाथि व्यापार भइरहेको छ : प्रभु साह

२० जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको बताए । त्यस्तो अत्याचार नरोकिए जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ ।

सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडिकहरू नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यसकारण सरकारले समयमै ध्यान देओस् ।’

‘१० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान छ । तर म्यानपावर एजेन्टले लाखौं रुपैयाँ असुल गरिरहेका छन् । युवाले गैरकानुनी रूपमा दिएको रकम फिर्ता पाउँछन् कि पाउँदैनन्,’ सांसद साहको प्रश्न छ ।

सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

नेपालको संविधानले रोजगारीलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको उनले बताए । ‘मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्छ,’ उनले भने ।

साहले सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि व्यापार भइरहेको बताए । ‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ । तिनिहरूलाई प्रयोग गरिएको छ,’ उनले भने ।

गैरकानुनी रूपमा रकम लिने म्यानपावर व्यावसायीलाई नियन्त्रणमा लिन सरकारलाई उनले आग्रह गरे । ‘के सरकारले यस्तो अवैध व्यापार नियन्त्रण गर्न नसक्ने हो ?’ उनको प्रश्न छ ।

युवाहरू मेडिकल परीक्षण गरेर विदेश जाने गरेको तर विदेशमा मृत्युवरण गर्नुपर्ने अवस्थाको खोजी गरिनुपर्ने उनको माग छ । उनी प्रश्न गर्छन्, ‘मेडिकल टेस्ट पास गरेर युवाहरू विदेश गएका हुन्छन् । यसको मतलब उनीहरू निरोगी हुन्छन् । तर केही समयमै विदेशमा ज्यान कसरी गुमाउन पुग्छन् ? यसबारे छानबिन गर्न नपर्ने हो ?’

युवालाई विदेश पठाउने नाममा व्यापार गर्ने कार्यमा सरकारमा रहेका व्यक्ति, राजदूतहरू, वैदेशिक रोजगार विभागमा रहेका अधिकारीहरू समेत संलग्न रहेको उनको आशंका छ ।

Published on: 3 June 2024 | Onlinekhabar

Link

Back to list

;