s

नेपालमा बसेर विदेशमा ‘ब्ल्याकमेल’

वसन्त खड्का

गत माघ २९ गते नेपाल प्रहरीको साइबर शाखामा दुबईबाट इमेलमार्फत एउटा हस्तलिखित उजुरी आयो। श्रीलंका घर भई कामको सिलसिलामा दुबईमा रहेकी एक युवतीले नेपाली युवकले आफूलाई ब्ल्याकमेल गरेको भन्दै प्रहरीलाई उजुरी पठाएकी थिइन्। 

ती युवती र नेपालबाट कामको सिलसिलामा दुबई पुगेका रमेश घिमिरे (नाम परिवर्तन) ले त्यहाँको एक सिक्युरिटी कम्पनीमा सँगै काम गरेका थिए। दुवैजना निकै नजिकका साथी थिए । एक दिन घिमिरेले ती युवतीलाई प्रेमप्रस्ताव राखे। तर युवतीले अस्वीकार गरिन् । त्यसपछि घिमिरेले नियमित रुपमा युवतीलाई धम्की दिन थाले। 
 
युवतीले आफूले काम गर्ने कम्पनीमा उजुरी दिएर घिमिरेलाई नेपाल फर्काउन आग्रह गरिन्। घिमिरेलाई कम्पनीले नेपाल फर्काउनुअघि युवतीले घिमिरेको परिवारसँग पनि कुरा गरेकी थिइन्। घिमिरे घर फर्किएपछि आफू स्वयं र परिवारले समेत श्रीलंकन युवतीलाई भविष्यमा कुनै दुःख नदिने प्रतिबद्धता जनाएका थिए। तर नेपाल फर्किएपछि उनले इन्टरनेटका माध्यमबाट ती युवतीलाई निरन्तर दुःख दिन थाले । घिमिरेले युवतीका नाममा नक्कली फेसबुक आइडी बनाएर नांगो फोटो अपलोड गर्ने, युवतीका साथीभाइसँग अनावश्यक कुरा गर्ने तथा युवतीका परिवारका सदस्यसँग सम्पर्क गरेर युवतीबारे गलत कुरा फैलाए। 
 
घिमिरेको व्यवहारबाट आजित भएपछि श्रीलंकन युवतीले उनलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीमा उजुरी दिएकी हुन्। युवतीले आफूमाथि शारीरिक तथा मानसिक रुपमा दुव्र्यवहार गरेको आरोप लगाएकी छन्। उनले घिमिरेले गरेको दुव्र्यवहारको प्रमाणसमेत रहेको उजुरीमा उल्लेख गरेकी छन् । युवतीको उजुरीका आधारमा प्रहरीले घिमिरेमाथि अनुसन्धान सुरु गरेको छ।  
 
पछिल्लो समय नेपालीको संलग्नतामा विदेशमा हुने साइबर अपराधका उजुरी नेपाल प्रहरीसमक्ष आउने क्रम बढेको छ।  विशेष गरी नेपालीको उल्लेख्य बसोबास रहेको मध्यपूर्व तथा अन्य मुलुकबाट समेत यस्ता उजुरी आउने महानगरीय अपराध महाशाखाको साइबर शाखाका प्रहरी नायब निरीक्षक राजेश महर्जन बताउँछन् । प्रत्येक महिना विदेशमा नेपालीको संलग्नतामा हुने साइबर अपराधसम्बन्धी एक दर्जनभन्दा बढी उजुरी आउने गरेको महर्जनले जानकारी दिए। 
 
उजुरीका आधारमा नेपालीहरुलाई नेपालबाटै कारबाही प्रक्रिया अघि बढाइरहेको र विदेशीको हकमा सम्बन्धित मुलुकका सुरक्षाकर्मीको सहकार्यमा समस्या समाधानको बाटो खोज्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल प्रहरीमा आउने उजुरीमा नेपालीले नेपालीलाई, नेपालीले विदेशीलाई र विदेशीले नेपालीलाई गर्ने ब्ल्याकमेल गरेको पाइएको छ।
 
Published on: 4 March 2018 | Nagarik

Back to list

;