s

नेपालमा २५ हजारभन्दा बढी मुक्त कमैयाको पुनर्स्थापना

धनगढी, साउन २ गते। नेपालमा हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुनर्स्थापना भएको छ। मुक्त कमैया समाजका अनुसार कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरी पाँच वटै जिल्लामा गरेर नेपालमा २५ हजारभन्दा बढी मुक्त कमैयाको पुनर्स्थापना गरिएको हो। पाँचै जिल्लामा गरेर जग्गा पाउने मुक्त कमैया (रातो र पहेँलो परिचयपत्र पाएका) को सङ्ख्या २७ हजार ५७० थियो।

तर, परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टा भर्ना गर्नुपर्ने गरी अझै दुई हजार ३७५ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी छ। जमिन्दारको घरमा बँधुवा मजदुरको रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो।

कमैया मुक्तिको घोषणापछि सरकारले उनीहरूको पुनर्स्थापना र जीविकोपार्जनका लागि काम अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेको छैन। जसको कारण अझै ठुलो सङ्ख्यामा मुक्त कमैया पुनर्स्थापनाको पर्खाइमा रहेका मुक्त कमैयाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको जिकिर छ।

सरकारी तथ्याङ्कमा भने पुनर्स्थापना गर्न बाँकी रहेका मुक्त कमैयाको सङ्ख्या कम देखाइएको जनाइएको छ। पुनर्स्थापना हुन नसकेका धेरैजसो मुक्त कमैया शिविर र बाटोको वरिपरि बस्दै आइरहेको जनाइएको छ।

उनीहरू हालसम्म बाटो छेउछाउ र शिविरमा बस्दै आए पनि स्थायी बसोबासको कुनै ठेगान नरहेको समाजका अध्यक्ष पशुपति चौधरीले बताउनुभयो। “बसेको ठाउँबाट वन वा अरू कुनै निकायले कुन दिन उठाइदिने हो कि भनेर उनीहरू डरैडरमा बस्न बाध्य छन्”, उहाँले भन्नुभयो।

पहिले पुनर्स्थापना गरिएका तर, जग्गा दिइएको ठाउँबाट विभिन्न कारणले उठाइएका मुक्त कमैयाको पुनः पुनर्स्थापना गर्न आवश्यक रहे पनि सरकारी तथ्याङ्कमा उनीहरू पुनर्स्थापना भइसकेकै सूचीमा नै रहेको जनाइएको छ। “कैलालीको हरैयाबाटै एक हजार मुक्त कमैया हटाइएको थियो”, चौधरीले भन्नुभयो,“उनीहरू अहिले जग्गाविहीन रहे पनि सरकारी तथ्याङ्कमा भने पुनर्स्थापना भइसकेको सूचीमा छन्।”

कैलालीमा ९५३, कञ्चनपुरमा १२९, बर्दियामा एक हजार २४५ र दाङमा ४८ जना मुक्त कमैयाको पुनर्स्थापना गर्न बाँकी छ। बाँकेमा मात्रै पुनर्स्थापनाको कार्यले पूर्णता पाएको छ।

कमैया मुक्तिको घोषणपछि सरकारले भूमि सुधार कार्यालयमार्फत कमैया पुनर्स्थापनाको कार्य अगाडि बढाएको थियो। मुलुकमा सङ्घीय व्यवस्था लागू भएपछि यो जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। कमैया पुनर्स्थापनाको कार्य स्थानीय तहलाई सुम्पिएपछि पुनर्स्थापनाको कार्य ठप्प रहेको अध्यक्ष चौधरीले बताउनुभयो।

यसैबीच, मुक्त कमैयाले आज २३ औँ कमैया मुक्ति दिवस मनाएका छन्। विभिन्न पालिकामा कार्यक्रम गरेर उनीहरूले दिवस मनाएका हुन्।

Published on: 19 July 2023 | Gorkhapatra

Link

Back to list

;