s

नेपालको सन्दर्भमा वैदेशिक रोजगार

अम्बिका जोशी

सरकारले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति, स्वदेशभित्र रोजगारीका अवसरहरूको अभाव, नयाँ नयाँ उद्योग, कलकारखानाहरूको विकास नभएको र विभिन्न कारणले भएका उद्योग कलकारखानासमेत बन्द हुँदै गएको, बन्द हुने अवस्थामा पुगेको वा अस्तित्व रक्षामा सीमित भएको अवस्था जस्ता कारणले गर्दा देशभित्रका अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारले देशबाहिर समेत रोजगारका अवसर खोजी गर्नु स्वाभाविक देखिन्छ। यसै सन्दर्भमा सरकारले समेत वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक खुला गरेपछि रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको संख्यामा उल्लेखनीयरूपमा वृद्धि भएको पाइन्छ। यसरी विदेशिने युवाहरूको बढ्दो संख्यासँगै देश भित्रने विप्रेषणमा पनि उल्लेखनीय वृद्धि भएको छ। यसरी भित्रिने विप्रेषणका कारण गरिबीको प्रतिशत घटेको, विदेशी मुद्रा सञ्चिति बढेको, राष्ट्र संक्रमणकालबाट गुज्रेको र देशभित्रको आर्थिक क्षेत्र अत्यन्त कमजोर भएको अवस्थामा समेत विप्रेषणले राष्ट्र विकासमा ठूलो राहत प्रदान गरेको जस्ता केही सकारात्मक पक्षलाई मात्र जोड दिई वैदेशिक रोजगार प्रवर्धनका लागि सरकारी तथा गैरसरकारी स्तरबाट धेरै प्रयास भइरहेको देखिन्छ। वैदेशिक रोजगारले निश्चय नै राष्ट्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको यथार्थ कसैले नकार्न सक्दैन तर यससँगै उत्पन्न भएका केही अन्य महत्त्वपूर्ण सवालमा पर्याप्त ध्यान जान सकेको देखिँदैन।

अंश अंशमा हेर्दा विकासको परिभाषा परिस्थितिअनुसार व्याख्या गर्न सकिएला तर समग्रमा राष्ट्रिय जीवनका सबै महत्त्वपूर्ण पाटाहरूको समुचित समुन्नति, स्तरोन्नति र समृद्धि नै विकासको परिचायक हो। राष्ट्र विकासका लागि सो राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, पर्यावरणीयलगायत् भौतिक अनि नैतिक पक्षहरूको उन्नयन अनिवार्य छ। आर्थिक पक्षलाई मात्रै अंगीकार गरी अघि सारिएको विकासको एकांगी अवधारणाले साँचो अर्थमा देश विकास गर्नै सक्दैन। राजनीतिकरूपले अस्थिर, सामाजिक­सांस्कृतिकरूपले विचलित, नैतिकरूपले स्खलित, पर्यावरणीय हिसावले प्रदूषित राष्ट्र आर्थिकरूपले जति नै समृद्ध भए पनि विकसित हुनै सक्दैन। वैदैशिक रोजगारसँग आर्थिक सँगसँगै देशको राजनीतिक, सामाजिक­सांस्कृतिक, वातावरणीय पक्षहरूको सम्बन्ध नियाल्नु आवश्यक छ। यसै सन्दर्भमा यसले राष्ट्रका महत्त्वपूर्ण क्षेत्रहरूमा पारेको असर बारेमा यहाँ संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ।

१. आर्थिक पक्ष :  वैदेशिक रोजगारसँग सबैभन्दा नजिकको सम्बन्ध भएको भनिएको र सबैभन्दा धेरै महत्त्व दिइएको क्षेत्र आर्थिक क्षेत्र हो। हो, वैदेशिक रोजगारको माध्यमबाट भित्रिने विप्रेषणले आर्थिक दुष्चक्रको दलदलमा फसेको यस घडीमा देशलाई ठूलो राहत पुर्‍याएको छ। राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान उल्लेखनीय छ। देशभित्र फैलिएको बेरोजगारीको महामारीलाई यसले केही हदसम्म भए पनि नियन्त्रण गरेको छ। तर यसपछाडि लुकेको भयानक दृष्यतर्फ धेरैको ध्यान जान सकेको देखिँदैन। वैदेशिक रोजगारीको खोजीमा युवाहरू देशबाहिर जाने क्रमसँगै आफ्नै गाउँघरबाट पनि पलायन हुने क्रम आकासिँदो छ। यसले गर्दा गाउँघरतिरको खेतबारी बाँझै रहने, उत्पादकत्व घट्ने तथा अनियन्त्रित ढंगले सहरी क्षेत्रमा चाप बढ्दै जाने सिलसिलाको विकास भएको छ। एउटा अदक्ष कामदारका हकमा यो अझै डरलाग्दो छ। आफ्नो खेतबारी बेचेर वा साहूसँग ऋण सापट गरेर मनग्गे पैसा कमाउने र सुखद् भविष्य सुनिश्चित गर्ने सपना लिएर ठूलो धनराशि खर्च गरी एउटा अदक्ष कामदार विदेशिन्छ। सरदरमा उसको मासिक तलब नेपाली रूपियाँ २०­२२ हजार हुन्छ। यसबाट उसले खाने, लाउने र बचाउने कति? जेनतेन गरेर उसले केही बचाउँछ। केही वर्ष उसले ऋण तिर्नमै बिताउँछ। बाँकी वर्षको कमाइले सकीनसकी सहरी वा सहर नजिकैको क्षेत्रमा बस्ने प्रबन्ध मिलाउँछ। गाउँको घर भत्कन्छ, खेतबारी बाँझै रहन्छ। सहरमा खेती गर्न आफूसँग खेत हुँदैन। आकाशिँदो मूल्य वृद्धिका कारण कतिपयको हकमा त झन् बेचिएको खेतबारी नै उकास्न नसकिने यथार्थ पनि हाम्रासामु छ। के यस्तो आर्थिक विकास राष्ट्रको दीगो विकासको आधार स्तम्भ बन्न सक्छ? यस सवाललाई बेलैमा सम्बोधन गर्नु आवश्यक छ।

२. सामाजिक­सांस्कृतिक पक्ष :  वैदेशिक रोजगारीका लागि विदेशिने केही युवा विदेशबाट फर्केपछि स्वदेशमै बसी विभिन्न आयआर्जनमूलक कार्यमा लागेको पनि पाइन्छ। यसरी कार्य गर्ने र कुनै पनि उद्यमको सम्मान गर्ने संस्कृति विकास हुनु, आधुनिक तथा वैज्ञानिक प्रविधिको ज्ञान हुनु अनि स्वरोजगारको भाव विकास हुनु अवश्य पनि राष्ट्र हितका पक्षमा छ। यस सकारात्मक पाटोसँगै वैदेशिक रोजगारीले उब्जाएको सामाजिक भ्रष्टीकरण र सांस्कृतिक स्खलन भयावह छ। वैदेशिक रोजगारीमा जाने युवाहरूको लहरसँगै गाउँघर बूढाबूढी र अशक्तहरुको बसोबास स्थलमा परिणत भएका खबरहरू बेलाबखत सञ्चार माध्यममा आउने गरेका छन्। रोजगारीकै सिलसिलामा श्रीमान–श्रीमती टाढा हुनेमात्रै होइन, विवाहोत्तर सम्बन्ध बढ्दै जाने र अन्ततोगत्वा सम्बन्ध विच्छेदका घटना बढ्दै जाने आजको हाम्रो समाजको तीतो यथार्थ हो। यतिमात्रै होइन, विदेशमै रहँदा विवाहित व्यक्तिहरूले समेत आफ्नो सामाजिक­सांस्कृतिक धरातल, सम्बन्ध र रीतिरिवाजको बेवास्ता गर्दै सतहमै देखिने गरी अस्थायीरूपमै भए पनि अवलम्बन गरेको 'लिभिङ टुगेदर' प्रवृति डरलाग्दो ढंगबाट बढेको देखिन्छ। यसबाहेक यसले विभिन्न प्रकारको विकृति र अवाञ्छित कुराहरू पनि भित्र्याएको तथ्य नकार्न सकिँदैन। यसबाट घरमा रहेका तिनीहरूका परिवारका सदस्य अनि विशेषगरी उनीहरूका सन्तानमा पर्न जाने मनोवैज्ञानिक असर कम घातक देखिँदैन। यसको अर्थ वैदेशिक रोजगार र सामाजिक­सांस्कृतिक विचलन एक अर्काका पर्याय हुन् भन्न खोजिएको किमार्थ होइन परन्तु यस्तो विसंगत अवस्थाको वृद्धि भइरहेको नमीठो यथार्थलाई बेलैमा ध्यान दिनु जरूरी भएकोतर्फ औल्याउने प्रयास हो।

३. राजनीतिक पक्ष :  देशमा बेरोजगारी व्याप्त छ। शैक्षिक बेरोजगारी झन् विकराल बन्दै गइरहेको छ। यदि यी युवालाई उचित रोजगारीको अवसर सृजना नगर्ने हो भने त्यसै पनि आन्दोलनको ऊर्वर भूमि हाम्रो देश झन् बढी आन्दोलनको शिकार बन्न सक्छ। वैदेशिक रोजगारीको अवसरले कमसेकम यस सम्भावित विपत्तिबाट केही मात्रामा भए पनि छुटकारा दिएको छ। राजनीतिक अस्थिरताले देश थिलोथिलो भएको यस घडीमा वैदेशिक रोजगारबाट सृजित विप्रेषणले देशको अर्थव्यवस्था धानिएको स्थिति छ। यो हाम्रो यथार्थताको एउटा पाटो जरूर हो तर यसैसँग जोडिएको अर्को महत्त्वपूर्ण पाटोतर्फ समेत ध्यान दिनु आवश्यक छ। वैदिशक रोजगारीका सिलसिलामा विदेशिने युवाहरूको संख्या झण्डै आधा करोड पुगिसकेको छ। यति ठूलो युवा जमातको प्रत्यक्ष संलग्नताविना हुने तथा भएका राजनीतिक परिवर्तन र विकास दीगो तथा फलदायी हुन सक्छ? रहर वा बाध्यता जुनसुकै कारणले किन नहोस्, रोजगारका लागि विदेशिएका अधिकांश व्यक्तिसँग सन्तुष्टिको मात्रा न्युन छ। देशको परिस्थितिअनुकूल भए देशमै बसेर केही गर्ने चाहना उनीहरूमा पाइन्छ। यसो हुन नसक्नुको सबैभन्दा धेरै दोष देशको राजनीतिक अस्थिरतालाई दिने गरिन्छ। यस्तो अवस्थामा यदि यो असन्तुष्टि बिष्फोट भए त्यसले निम्त्याउने परिणाम कति गम्भीर हुनसक्छ भन्नेतर्फ बेलैमा ध्यान जानु अपरिहार्य छ।

४. वातावरणीय पक्ष :  वैदेशिक रोजगारीमा जाने अधिकांशको सपना हुन्छ– विदेशमा दुखम्सुखम् पैसा कमाउने, त्यसरी कमाएको पैसाले परिवार र सन्ततिको सुन्दर भविष्यका लागि सहरी क्षेत्रमा थोरै भए पनि जग्गा किन्नेे अनि सानै भए पनि घर बनाएर गाउँबाट बसाइँ सर्ने। अंशमा हेर्दा यो थोरै भए पनि उपलब्धि हो। तर यस्तो उपलब्धिले जन्माएको अनियन्त्रित बसाइँसराइ तथा अव्यवस्थित सहरीकरण हाम्रा अगाडि फिस्स हाँसिरहेको छ। एकातर्फ गाउँघर खाली हुँदै गएका छन् भने अर्कोतर्फ अनियन्त्रित तथा कुरूप ढंगले सहरी क्षेत्र विस्तार भइरहेको छ। यसले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने कुरामा दुई मत हुन सक्दैन।

अन्त्यमा,

भूमण्डलीकरणको व्यापक विस्तार, राष्ट्रले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति, देशभित्रको अत्यन्त नाजुक अनि खस्कँदो आर्थिक अवस्था, देशभित्रै रोजगारीका अवसरहरूको न्युन उपस्थिति, राजनीतिक अस्थिरता आदिका कारण वैदेशिक रोजगारी बन्द गर्ने सोच राख्नु अव्यावहारिकमात्र होइन, असम्भवप्रायः छ। विश्व नै एक सानो सहरमा परिणत भइसकेको अवस्थामा कसैलाई आफ्नो देशको भौगोलिक सीमाभित्रै खुम्च्याएर राख्न कुनै पनि राष्ट्रका सन्दर्भमा न प्राकृतिक छ न त सम्भव नै।  अझ हामी जस्तो गरिबीको दुष्चक्रमा फसेको राष्ट्रको सन्दर्भमा त हामी यस्तो कल्पनासम्म गर्न सक्दैनौं। यस आलेखमा व्यक्त विचारहरूले पनि कुनै पनि अर्थमा त्यसको वकालत गर्दैनन् तर वैदेशिक रोजगार प्रबर्धनका नाममा यसले भित्र्याउने विप्रेषणको मात्र रटान लगाउनु राष्ट्रको दीर्घकालीन हित र दीगो विकासका लागि शुभसंकेत नभएको बेलैमा बुझ्नु जरूरी छ। वैदेशिक रोजगारले भित्र्याउने विप्रेषणको हिसाबकिताबमा सीमित हुने मात्र नभई यसले राष्ट्का विभिन्न क्षेत्रमा पार्ने प्रभावको बेलैमा विश्लेषण तथा लेखाजोखा गर्दै यसबाट प्राप्त उपलब्धिको रक्षा अनि नकारात्मक पक्षहरूको न्युनीकरण गर्दै जानु आजको अपरिहार्य आवश्यकता हो। तसर्थ, वैदेशिक रोजगारीको सुरूवातदेखि नै उत्पन्न हुने बेथितिहरूविरूद्ध अभियान चलाउने, नियमित अनुगमन तथा मूल्यांकन गर्ने, गलत कार्यमा संलग्न जोसुकैलाई कडाभन्दा कडा कारबाही गर्ने तथा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको प्रबर्धन भन्दा पनि व्यवस्थापन बढी चुनौतीपूर्ण भएको यथार्थलाई हृदयंगम गरी यसको सामना गर्न विशेष ध्यान पुर्‍याउनेतर्फ बेलैमा पाइला चाल्ने कार्यमा अब कुनै पनि बहानामा ढिलाइ गरिनुहुँदैन।

द्वितीय सचिव, नेपाली राजदूताबास, कुवेत

Published on: 27 October 2013 | Nagarik

Back to list

;