s

नेपालीमाथि अविश्वास गर्न थाले भारतीय रोजगारदाता

कामको खाजीमा भारतको बैंग्लोर पुगेका डडेलधुराको बगरकोट गाविस किमौलाका २७ वर्षीय भीमबहादुर ठकुराठी रित्तो हात यसैसाता घर फर्किए। उनले केही दिन काम खोज्दै बेंग्लोर सहर चहारे। तर चाहेजस्तो काम पाउन सकेनन्। काम पाउने सम्भावना भएका ठाउँमा तलब सुविधा निकै न्यून थियो। खर्च सकिएपछि भारतमा भौतारिनुभन्दा घरै र्फकनु उनले उचित ठाने। हालका वर्षमा भीमबहादुरझैं थुप्रै नेपाली कामदार आफूले सोचेजस्तो काम नपाएर घर र्फकने क्रम बढ्दै गएको छ।

लाखौं नेपालीको रोजगार गन्तव्यका रूपमा रहेका भारतको प्रमुख ठूला सहरमा इमानदार 'बहादुर' का नाममा रोजगारी पाउने अवसर बिस्तारै गुम्न थालेको छ। रोजगारदाता मालिकको घर र पसलबाट चोरी गरी नेपाली कामदारहरूले नै धनमाल नेपाल भित्र्याउने घटना बढ्न थालेपछि नेपाली कामदारप्रति रोजगारदाताहरूको अविश्वास उत्पन्न भएको हो। हालका वर्षमा चोरहरूको गिरोहले सोझा नेपाली कामदारलाई प्रयोग गरी चोरीका घटना बढ्न थालेपछि कामको खोजीमा भारत पस्ने नेपालीलाई सहजै काम पाउन समस्या भएको हो।

'अब उहिलेजस्तो भारत पुग्नेबित्तिकै काम पाउन सजिलो छैन,' भीमबहादुरले भने, 'नेपाली कामदारमाथि पहिलेजस्तो विश्वास नरहेको कम्पनी मालिकदेखि सानो होटेल चलाउनेसमेत भन्न थालेका छन्।' उनका अनुसार काम पाए माम पनि भित्री विश्वासिलो व्यक्तिको अधीनमा काम गर्नुपर्ने अवस्था छ।

भारतीय सहरबाट चोरी गरी ल्याएको नगद रकम र धनमाल प्रहरीले पक्राउ गरी नगन्य मात्रामा मात्रै फिर्ता हुनु र चोरमाथि कडा कारबाही नहुनुले पनि अधिकांश नेपाली कामदारमाथि अविश्वास बढेको हो। '२/४ जना फटाहा चोरले बदमासी गर्छन् त्यसको दुःख सोझासाझा इमानदार सबै नेपालीले बेहोर्नुपरेको छ,' भीमबहादुर भन्छन् ।

तर प्रहरी प्रशासन भने चोरी गरी भागेर नेपाल भित्रिएकाहरूलाई नियन्त्रणमा लिई धनमाल र नगद फर्काउने काममा प्रहरीले केही गर्न नसकेको भन्ने भारतीय पक्षको आरोप स्वीकार गर्न तयार छैन। सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी जयबहादुर चन्दले भारतका विभिन्न सहरबाट चोरी भई नेपाल भित्रिने नगद र धनमाल चोरी गर्ने समूहको खोजतलास गरी बरामद भएको धनमाल फिर्ता पठाउन प्रहरीले सधैं पहल गरिरहेको दाबी गर्छन्। 'सबै धनमाल फिर्ता गर्न सकिएको छैन, तर भेटिएजति फिर्ता गर्दै आएका छौं,' डीआईजी चन्दले भने । उनले पछिल्लो समय लाखौं नेपालीले रोजागारी पाउने भारतको मुम्बई, बेंग्लोर पन्जाब र दिल्लीलगायतका ठूला सहरबाट धनमाल खासगरी सुनका गहना चोरी गरी ल्याउने घटना बढेको स्विकारे। 'यस्तो चोरीका घटनाले गरिब नेपालीको रोजगार पाउने क्षेत्रमा छवि बिग्रिएको छ,' उनले भने । विगत ३ वर्षमा भारतका विभिन्न सहरबाट चोरीको बिगो अनुमानित दस किलो सुन र ५० करोड भारुमध्ये कैलाली प्रहरीले करिब नगद १ करोड १५ लाख नगद र केही सुन र चाँदी बरामद गरी फिर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार भारतको हरियाणा राज्य पंकुला सिटीमा बस्ने देवेन्द्र महाजनको घरबाट चोरी भएको २० लाख भारुमध्ये नेपाली २० लाख ९६ हजार प्रहरीले बरामद गरेको थियो।

यस्तै दुई वर्षअघि दिल्लीका एकजना व्यपारीको घरबाट चोरी भएको १० लाख भारु रकम र केही तोला सुनमध्ये प्रहरीले ४ लाख ५० हजार भारु कैलाली साढेपानी घर भएका धनबहादुर साउदबाट बरामद गरेको जनाएको छ। त्यसैगरी मुम्बईस्थित अधेंरी र थाना स्थित हिमान्सु सेठको घरबाट चोरी गरी ल्याएको रकममध्ये मालाखेतीका खडक साउद र गोदावरी बान्द्रेखाल बस्ने खगेन्द्र विकबाट करिब १० लाख बरामद गरेको जनाएको छ।

Published on: 16 September 2014 | Kantipur

Back to list

;