s

नेपालीले विदेशमा गर्ने अध्ययन खर्च शत प्रतिशत बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपाली बढेका छन् । उक्त अवधिमा विदेशमा अध्ययनवापत हुने खर्च उच्च दरले बढेकाले अध्ययन गर्न जाने संख्या पनि बढेको रुपमा विश्लेषण गरिएको हो । खासगरी गत साउन यता नेपालीले विदेशमा गर्ने अध्ययन खर्च बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

चालु आर्थिक वर्षको असोजसम्म (तीन महिनामा) विदेशमा अध्ययन शिर्षकमा ८ अर्ब ९२ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ । गत अर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो १०१.६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा यस्तो खर्च साढे ५६ प्रतिशतले घटेको थियो । गत साउन यता विदेशमा अध्ययनबापत हुने खर्च हरेक महिना बढ्दो छ । जसअनुसार गत साउनमा १४५.४, भदौमा १५४.२ र असोजमा १०१.६ प्रतिशतले विदेशमा अध्ययन खर्च बढेको राष्ट्र बैंकको तथ्यांक छ । 

निषेधाज्ञाको अवधिमा विदेशमा आवतजावत सहज थिएन । विश्वविद्यालयहरुले पनि अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । तर, निषेधाज्ञा हटेपछि विश्वविद्यालयहरु पनि खुलेको, आवतजावत पनि सहज भएको लगायत कारण विदेशमा अध्ययन गर्न जाने क्रम बढेको छ । यही कारण अध्ययनबापतको खर्च पनि बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

पछिल्ला महिनामा खासगरी भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेको बताइएको छ । बढ्दो आयात र घट्दो रेमिट्यान्सका कारण मुलुकको भुक्तानी सन्तुलन केही महिना यता घाटामा छ । यही अवस्थामा विदेशमा अध्ययन र भ्रमणबापत हुने खर्च पनि बढ्दो छ । यसले भुक्तानी सन्तुलन स्थिति थप दबाबमा हुने जानकार बताउँछन् ।

Published on: 9 December 2021 | Kantipur

Link

Back to list

;