s

नेपालीलाई मलेसियामा मृत्युदण्ड फैसला

रामचन्द्र गिरी

लागूऔषध कारोबारसम्बन्धी अभियोगमा मलेसियाको अदालतमा ९ वर्षदेखि मुद्दा लडिरहेका नेपाली हरिबहादुर घलेलाई यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मंगलबार बिहान ९ बजे यहाँको सर्वोच्च अदालत -फेडेरल कोर्ट) ले यसअघि उच्च अदालतले गरेको फैसलालाई सदर गरेको हो । यो फैसलासँगै घलेलाई जोगाउन कानुनी बाटो समाप्त भएको छ । यसअघि उच्च अदालत -तल्लो अदालत) को फैसलामा उनले पुनरावेदन गर्दै जीवनरक्षाको अपिल गरेका थिए। 

हरिमाथि भएको फैसलाले आफू दुःखी भएको यहाँस्थित कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । उनले अन्तिम प्रयासस्वरूप अझै यहाँका राजाकहाँ 'क्षमादान' का लागि बिन्तीपत्र चढाउने बताए । 'अब अदालती प्रक्रिया सकिएको छ । हामी दुःखी छौं । अब उनलाई जोगाउन यहाँका राजाकहाँ क्षमादानका लागि प्रक्रिया अघि बढाउँछौं,' उनले थपे, 'सरकार स्तरबाटै पहल गरेपछि उनी जोगिने आशा छ ।'

वर्सुचेत गाविस-१, नुवाकोटका घले सन् २००३ मे ३० मा ८ सय ७५ ग्राम लागू पदार्थ -हेरोइन) सहित क्वालालम्पुरस्थित द फेडेरल होटलबाट पक्राउ परेका थिए । मलेसियाली अदालतबाट मृत्युदण्डको सजाय पाउने हरि दोस्रो नेपाली हुन् । उनीसँगै अर्का नेपाली नुवाकोटकै साजन गुरुङ पनि पक्राउ परेका थिए । तर मुद्दा चल्दै जाँदा मृगौलासम्बन्धी रोगले थलिएपछि उपचारकै क्रममा गत २०१० जनवरी १० मा उनको मृत्यु भयो ।

पक्राउ पर्दा घले २३ वर्षका थिए । अहिले उनी ३२ वर्षका भइसकेका छन् । पक्राउ परेदेखि नै लागूऔषध कारोबार गरेको अभियोगमा मुद्दा खेप्दै आएका उनलाई २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले मृत्युदण्ड सुनाएको थियो । उनको जीवनरक्षाका लागि यहाँस्थित नेपाली दूतावास, व्यवसायी, श्रमिक र विभिन्न संघसंस्थाले सकेसम्म आर्थिक सहयोग -२९ हजार रिंगेट) गरेका थिए । त्यसपछि सो फैसलाउपर हरिले पुनरावेदन गरेका थिए । दूतावासको आग्रहमा उच्च अदालत र पुनरावेदनमा वकिल राजपाल सिंहले कम खच -२० हजार रिंगेट) मा बहस पैरवी गरेका थिए । 

फेडेरल कोर्टमा अर्का स्थानीय चिनियाँ वकिल सिहाम तेनले हरिको मुद्दा हेरेका थिए । उनलाई दूतावासले १७ हजार रिंगेटमा मनाएको थियो ।

Published on: 27 September 2012 | Nagarik 

Back to list

;