s

‘नेपालीलाई किन निसाना ?’

आतंकवादविरुद्ध लड्ने अन्तर्राष्ट्रिय प्रयासमा नेपालको सधैं साथ : प्रधानमन्त्री - नेताहरूद्वारा घटनाको भत्र्सना
 
चन्द्रशेखर अधिकारी
 
काठमाडौं, असार ७, २०७३- बेलायती सेनाका गोर्खा र भूतपूर्व नेपाली गोर्खा भन्नेबित्तिकै विश्वभर पहिलो नाम लिइने बहादुर सेनामा पर्छन् । सोही कारण अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदाय रहने स्थानहरूलाई गोर्खाले पहरेदारी गरिदियोस् भन्ने अपेक्षा गरिन्छ । एलिजावेथलाई आफ्नो मुलुकको रानी मान्ने क्यानडेलीले पनि नेपाली गोर्खालाई नै रोजे । उनीहरूले पनि नेपाली गोर्खाबाट सुरक्षित महसुस गर्दै आए । तर सोमबार बिहानै तिनै गोर्खाली चढेको गाडी उनीहरूलाई सुरक्षा दिन जाने क्रममा आत्मघाती बम आक्रमणमा पर्‍यो । 
 
तालिवानी आतंककारीहरू गोर्खासँग सकेसम्म अगाडि पर्न चाहँदैनथे । त्यहाँ रहेका एक भूतपूर्व गोर्खाले कान्तिपुरसँग भने, ‘हामी भएको स्थानमा तालिवानले आक्रमण गरेका थिएनन् । कतिपय स्थानमा उनीहरूले आक्रमण गर्ने भने पनि त्यो स्थानमा गोर्खा सैनिक पुगेपछि तुहिने गरेको थियो ।’ नेपालीहरू यस्तो घटनामा परेलगत्तै परराष्ट्र मन्त्रालयमा अनौपचारिक बैठक बस्दै ‘निसानामा नेपाली किन ?’ भन्दै आन्तरिक छलफल सुरु भएको छ ।
 
एक्कासि नेपाली सुरक्षाकर्मी बसेको बसमै आक्रमण हुनुलाई सामान्य रूपमा लिन नहुने बैठकका सहभागीले बताएका छन् । अफगानिस्तानमा १० महिना काम गरेका र हाल नेपाल फर्कन बस्दै आएका गोविन्द कँडेलले भने, ‘अफगानिस्तानमा विस्फोट सामान्य हो, तर नेपालीलाई नै सिधा टार्गेट गरिएको आक्रमण सम्भवत: पहिलो होला ।’ 
 
अफगानिस्तानमा धेरै नेपाली धेरै पारिश्रमिकको लोभमा परेर सुरक्षा गार्डका रूपमा कार्यरत छन् । उनीहरू सुरक्षित घेरामै रहेर काम गर्दै आए पनि बस्ने र काम गर्ने स्थानमा आउने–जाने बाटोमा यस्तो अवस्थामा पर्ने गरेका हुन् । यद्यपि नेपालीहरू बाहिर निस्कँदा वा कतै जाँदा आक्रमणमा परेका छैनन् । 
 
काबुलमै रहेर शान्ति र द्वन्द्व अध्ययन केन्द्रमार्फत अध्ययन गरिरहेका सुरक्षाविज्ञ हेकमतुल्लाह अजमीले कान्तिपुरसँग भने, ‘सुरक्षाकर्मी सामान्य गाडीमा आउने जाने गर्नु, सधैं एकै रुट प्रयोग गर्नु कमजोरी हुन् । नेपालीको काम गर्ने शैली र बहादुरीको प्रशंसा हुने गरेको छ । यसकारण विदेशीलाई गर्ने आक्रमणमा नेपाली परेको हुन सक्छ ।’ केन्द्रले घटनालाई निहत्थामाथि आक्रमण भन्दै निन्दा गरेको छ । ‘नेपाली सरक्षाकर्मीहरू आतंककारीका लागि चुनौती हुन् नै, तर त्यसो भन्दैमा नेपालीलाई नै आक्रमण गरेको भन्न नमिल्ला, विदेशी आक्रमण गर्ने उनीहरूको योजनामा नेपाली परेको हुन सक्छ,’ उनले भने । परराष्ट्र मन्त्रालयले घटनाबारे जानकारी लिन सुरु गरिसकेको छ । मृतकको शव तत्काल नेपाल ल्याउन र घाइतेको उपचारमा कमी हुन नदिन प्रधानमन्त्री केपी ओलीले परराष्ट्रलाई निर्देशन दिएका छन् । उनले सबै कूटनीतिक प्रयास र संयन्त्र प्रयोग गर्न भन्दै निर्देशन दिएका छन् । 
 
निन्दनीय र जघन्य अपराध : नेताहरू 
 
ओलीले काबुलमा आक्रमणमा परी निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनुपरेको तथा घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत र दु:खी भएको बताएका छन् । उनले दु:खद घडीमा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र आफ्ना तर्फबाट समवेदना व्यक्त गरेका छन् । 
 
उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । ‘रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका निहत्था व्यक्तिमाथि भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो’ भन्दै प्रधानमन्त्रीले घटनाको निन्दा गरेका छन् । ‘घटनाको पछाडि रहेका आपराधिक तत्त्वलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो विश्वास छ । आतंकवादका सबै प्रकार र स्वरूपविरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता छ,’ प्रधानमन्त्रीले भनेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालालगायत अन्य दलका नेताले पनि काबुल घटनाले आफूहरूलाई मर्माहत बनाएको र घटनाप्रति गम्भीर ध्यानाकर्षण समेत भएको छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर जनाएका छन् । पाशविक, क्रूर र बर्बर हत्याका रूपमा लिँदै उनले घाइतेको उपचार, तत्काल शव ल्याउने र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । 
 
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको काबुल आक्रमणमा नेपाली परेको भन्दै दु:ख व्यक्त गरेका छन् । उनले नेपाल र अफगान सरकार तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले घटनाबारे संसद्मा जानकारी गराएका छन् । अफगानिस्तान समेत हेर्ने पाकिस्तानका लागि कार्यवाहक राजदूत रहेका तीर्थ अर्याललाई अफगानिस्तान नै पठाइसकेको र त्यहाँ रहेर उनले शव नेपाल पठाउने काम गर्ने जानकारी दिइएको छ । थापाले उक्त घटनालाई दु:खद् भन्दै निर्दोष नेपालीमाथि भएको यो आक्रमणको निन्दा गरेका छन् । यसैबीच परराष्ट्रमन्त्री थापाले अफगानी परराष्ट्रमन्त्रीलाई फोन गरी शव छिटो पठाउन, घाइतेको उपचारमा ध्यान दिन र अन्य प्रक्रिया सरल बनाउन आग्रह गरेका छन् ।
 
 
Published on: 21 June 2016 | Kantipur

Back to list

;