s

नेपालीलाई फर्काउन रूसले मानिहाल्ने अवस्था छैन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न आग्रह गरेका छन्।

विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपालीलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको उनले बताए।

युगाण्डाबाट स्वदेश फर्केपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले रूस र युक्रेनको सेनामा नेपालीहरू भर्ती भएको विषय लक्षित गर्दै जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान आग्रह गरेका हुन्।

उनले राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन पनि आग्रह गरेका छन्।

युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाइदिन रूसलाई आग्रह गरिएको प्रधानमन्त्री दाहालले बताए।

‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन। जोसँग सम्झौता भएका विगतका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन। रुसलाई नोट पठाइएको छ।’

परराष्ट्र मन्त्री एनपी साउदले पनि पटक-पटक यो विषयमा रूससँग कुरा गरेको उनले बताए।

‘अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ। तपाईंले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ। मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमा। सरकारले गम्भीर रुपमा लिएन भन्नेकुरा सही होइन,’ प्रधानमन्त्री दाहालले भने, ‘सबैले जनतामा चेतना फैल्याउनुपर्छ। जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, बाटो छलेर जाने तरिका भएन। सरकारले पठाएको पनि होइन, सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन।’

Published on: 22 January 2024 | Setopati

Link

Back to list

;