s

नेपालीलाई थाइल्यान्डमा लाँदै, छाडिँदै

होम कार्की

धादिङका नवराज अधिकारीलगायत ४२ जनालाई पानी जहाजमा काम दिलाइदिने भन्दै थाइल्यान्ड पुर्‍याएर दलाल फरार भए । उनीसँग दुई करोड उठाएपछि फरार भएका दलालहरू आफू जोगिन उल्टै प्रहरीलाई अवैध रूपमा बसिरहेको सूचना दिई पक्राउ गर्न सघाए । 'काम दिन्छु भनेर महिना दिन भुलायो,' पीडितमध्येका गम्भीर अधिकारीले भने, 'दलाल फरार भएलगत्तै हामी पक्रियौं ।'

ती पीडित स्वदेश फिरेको केही दिनमै दलालबाटै अलपत्र पारिएका अर्को ८ जनाको समूह बैंककस्थित नेपाली दूतावासको शरणमा पुगेका छन् । दूतावास उनीहरूलाई स्वदेश पठाउने तयारीमा लागिरहेको छ । दूतावासले यस्तो समस्या प्रत्येक साताजसो खेपिरहेको छ । दूतावासमै आएर लिखित र मौखिक उजुरी दिनेको संख्या मात्रै दुई सय नाघेको छ ।

दूतावास अधिकारीका अनुसार थाइल्यान्डमा सजिलै नेपाली ठगिने क्रम बढेको छ । थाइल्यान्ड सरकारले नेपालीलाई श्रम अनुमति नदिने प्रस्ट कानुन हुँदाहुँदै पनि रोजगारमा भन्दै आउनेहरू नेपालीबाटै ठगिने गरेको दूतावासको भनाइ छ । 'भिसामा रोजगार निषेध' लेखेको भए पनि नक्कली श्रमसम्झौता बनाएर काम दिलाइदिने आश्वासनमा ठगी गर्ने क्रम बढेको भन्दै दूतावासले सचेत हुन आग्रह गरेको छ ।

'सिंगापुर, मकाउ, क्यानडा र युरोप लैजाने भन्दै थाइल्यान्डमा ल्याएरसमेत नेपालीलाई अलपत्र पारिन्छ,' दूतावासका ती अधिकारीले भने । पीडितले दूतावासमा उजुरी हाले पनि दलालहरूलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन । 'दलाल फरार भई अलपत्र भएपछि अन्तिम विकल्पका रूपमा मात्रै दूतावासमा सहयोगका लागि आउने गर्छन् । फरार दलालको सम्पर्क फोन र निवासबारे जानकारी पीडितलाई हुँदैन । फोन नम्बर भए पनि परिवर्तन गरिहाल्ने भएकाले दलाल खोजी गर्न दूतावासलाई अत्यन्त कठिन हुने गरेको छ,' ती अधिकारीले भने ।

ठगीमा सक्रिय गिरोहको नाम दूतावासले सार्वजनिक गरेको छ । त्यसमा किम भन्ने पर्शुराम गुरुङ, भीम गुरुङ भन्ने सन्दीप राई, आफूलाई नेपाली सेनाको मेजर भन्दै हिँड्ने अर्जुनबहादुर शाही, हरिप्रसाद राई, शिवजंग लिम्बू, मायादेवी कामी, तिलक गुरुङ, कमल श्रेष्ठ र विनोद थापा रहेका छन् । पीडित एजेन्टका अनुसार एकै जनाको ८ वटासम्म छदम नाम रहेको छ ।

उनीहरूले महिनांैसम्म कामदारलाई होटलमा राख्ने र मौका मिल्ना साथ फरार हुने गरेका छन् । दूतावासका अनुसार थाइल्यान्डमा कामदारभन्दा पनि व्यापार व्यवसाय गर्ने नेपाली बढी रहेका छन् । 'तीन महिनाअघि मात्रै श्रम मन्त्रालयबाट नेपालीलाई रोजगार दिन सकिने विषयमा छलफल भएको थियो,' ती अधिकारीले भने, 'त्यसपछि थप केही भएको छैन् ।' दूतावासले भारतको कोलकाता हुँदै नक्कली कागजात र रोजगार सम्झौता पत्र बनाई थाइल्यान्ड ल्याउने र दलाल फरार हुने प्रवृत्ति बढ्दै गएकाले दलालमार्फत वैदेशिक रोजगारीमा थाइल्यान्ड नआउन सबैलाई आग्रह गरेको छ ।

Published on: 29 June 2011 | Kantipur

Back to list

;