s

नेपालीलाई ठगी गर्ने गुरुङका चार सहयोगी पक्राउ

थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गर्ने पर्शुराम गुरुङका चार सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता गुरुङ, चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बू छन् । गुरुङलाई चारैजनाले सहयोग गरेकाले पक्राउ गरिएको सिआइबीका एसपी दीपक रेग्मीले बताए । तीन वर्षको प्रयासपछि नेपाल प्रहरीले गुरुङलाई १० जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

आफू क्यानडाको पिआर होल्डर भएको र सजिलै क्यानडा लैजान सक्ने भन्दै उनले करिब १३ करोड ठगी गरेका थिए । प्रतिव्यक्ति पाँचदेखि २० लाख रुपैयाँसम्म लिएका थिए । त्यसमध्ये कतिपयलाई थाइल्यान्ड पु-याएर अलपत्र बनाएका थिए ।पाँच वर्षअघि नै उनीविरुद्ध सिआइबीमा उजुरी परेको थियो, तर प्रहरीले पक्राउ गर्न सकेको थिइन ।

फरार रहेकै अवस्थामा थाइल्यान्डबाट उनले ठगीलाई निरन्तरता थिए । धेरैलाई उनले सामाजिक सञ्जालमार्फत अफर लेटर पठाएर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ । ०७२ मै उनको पासपोर्टसमेत रद्द भएको थियो । एक थाई युवतीको संरक्षणमा उनी थाइल्यान्डको ग्रामीण क्षेत्रमा बसेर आफ्ना सहयोगीमार्फत ठगी गर्दै आएका थिए । थाई प्रहरीले पक्राउ गरी उनलाई नेपाल पठाएको हो । प्रहरीबाट जोगिन उनले ३० भन्दा धेरै सिमकार्ड प्रयोग गरेका थिए ।

Published on: 8 July 2019 | Nayaa Patrika

Back to list

;