s

नेपालीलाई कतार र कुवेतमा सकस

नेपालीको प्रमुख बसोबास स्थल कतारको सनैयामा दुई साताका लागि आवतजावतमा रोक लगाइएको छ भने कामदार विशेष निगरानीमा छन्

होम कार्की

काठमाडौँ — कतारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलिन नदिन नेपाली कामदारको प्रमुख बसोबास क्षेत्र सनैयामा मंगलबारदेखि दुई साताका लागि आवतजावतमा रोक लगाएको छ ।

क्वारेन्टाइनमा राखिएका आप्रवासी कामदारमा संक्रमण बढेपछि जोखिम मानिएको क्षेत्रमा आउजाउ बन्द गरिएको हो । कतारको आन्तरिक मन्त्रालयले सनैयाको रोड नम्बर १ को उत्तरदेखि रोड नम्बर ३२ को दक्षिण भागसम्म र सनैयाको मुख्य सडकको पूर्वदेखि पानीट्यांकीको पश्चिम भागसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । बिहान ५ बजे ड्युटीमा गएका कामदारसमेत बेलुका त्यस क्षेत्रमा प्रवेश गर्न पाउँदैनन् । यो क्षेत्रमा करिब ५० हजार नेपाली बस्छन् । नेपालीबाहेक अन्य देशका कामदारलाई पनि यहाँ राखिएको छ ।

दोहास्थित नेपाली दूतावासले कतार सरकारको अनुरोधलाई पूर्ण पालना गर्न नेपालीलाई आग्रह गरेको छ । भीडभाडमा नजान र क्याम्पको गेटबाट बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ । ‘कामदार आवास क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग भने ।

कतारमा पहिलो पटक सनैया क्षेत्रभित्रको एउटा क्याम्पमा बस्ने तीन आप्रवासी कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । सोमबारसम्म कतारमा संक्रमितको संख्या ४ सय ३९ पुगेको छ । क्वारेन्टाइनमै रहेका ३५ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेको देश र पहिचान खुलाइएको छैन ।

कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । जसको ठूलो हिस्सा सनैयामा केन्द्रित छ । दूतावासले क्याम्पभित्रै रहेका नेपालीलाई खानाका लागि समस्या नहुने जनाएको छ । ‘उहाँहरू बाहिर आउने वातावरण नभए पनि खानाको सबै प्रबन्ध सरकार वा कम्पनीले मिलाएको छ,’ राजदूत भारद्वाजले भने । सनैयाबाहिर रहेका कामदारका लागि भने आवतजावतमा कडाइ गरिएको छैन ।

कतारले कानुन नमानेको भन्दै कम्तीमा २ सय ५० नेपालीलाई डिपोर्ट गरिसकेको छ । कतारमा ८ हजार ४ सय जनाको स्वास्थ्य जाँच गरिएको छ भने प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले २ सय ३२ वटा क्याम्पको सफाइ गरेको छ ।

कुवेत ‘लक डाउन’

कुवेतमा भने पूरै सहर ‘लक डाउन’ गरिएको छ । अत्यावश्यक सेवाबाहेकका काम बन्द गरिएका छन् । नेपाली कामदारहरू तोकिएको क्याम्प वा आफ्नो कोठामा केन्द्रित भएका छन् । ‘मार्च १४ देखि बाहिर निस्किएको छैन । सहरमा कर्फ्युजस्तै छ । मान्छे देखिँदैनन् भन्दा हुन्छ,’ कुवेतको फर्वानियामा रहेका कुमार झापालीले भने, ‘सानासाना खाद्यान्न र औषधिका पसलमात्रै खुलेका छन् । बिहान–बेलुका मात्रै सामान किन्न जाने गरेका छन् ।’ फेब्रुअरी २७ यता कुवेत आएका सबैको स्वास्थ्य जाँच अनिवार्य गरिएको सुरज मास्केले बताए । उनका अनुसार नेपाली कामदारको बाक्लो उपस्थिति रहने फर्वानियास्थित क्याम्पमा एक जना संक्रमित भेटिएका थिए । त्यहाँ करिब दुई सय एसियन मूलका कामदार बस्छन् । ‘उनीहरू सबै क्वारेन्टाइनमा छन् । नेपाली हो/होइन पुष्टि भएको छैन,’ उनले भने ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले नेपाली समुदायसँग निरन्तर सूचना लिने, दिने काम भइरहेको बताए । कुवेतमा वैध रूपमा बस्ने ६९ हजार नेपाली छन् । घरेलु महिला नै १८ हजार छन् । कुवेत सरकारले आप्रवासी कामदारलाई भीडभाड गरेमा डिपोर्ट गर्ने चेतावनी दिएको छ । कुवेतमा हालसम्म १ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मलेसिया पनि बन्द

क्वालालम्पुरस्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमणबाट बच्न मलेसिया सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ । बुधबारदेखि लागू हुने गरी दुई साताका लागि मलेसिया पूरै बन्द गर्ने घोषणा गरिएको छ । दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलबाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।

‘मलेसियामा विदेशी कामदार आउन रोक लगाइए पनि आफ्नो देशमा फर्कन पाइनेछ,’ उनले भने,‘अत्यावश्यकबाहेक आवतजावतमा बन्देज लगाइएको हो ।’ मलेसियामा कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ । ३ लाख २५ हजार नेपाली रहेको मलेसियामा कुनै नेपाली संक्रमित देखिएका छैनन् । दूतावासले बिहीबारदेखि अत्यावश्यक काउन्सलर सेवा र मागपत्र प्रमाणीकरणसमेत बन्द गर्ने जनाएको छ ।

Published on: 18 March 2020 | Kantipur

Link

Back to list

;