s

नेपालीको सुरक्षामा चासो दिन निर्देशन

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ५ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा राम्रो चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिनुभएको छ । यतिबेला युरोपमा कोरोना भाइरसको कहर बर्सिरहेकाले त्यसबाट नेपाली नागरिकलाई सुरक्षित राख्न सरकारका तर्फबाट मन्त्री ज्ञवालीले पहल गर्नुभएको हो ।

बिहीबार त्यहाँस्थित राजदूतलाई टेलिफोन गरी मन्त्री ज्ञवालीले त्यस क्षेत्रका नेपालीको वर्तमान अवस्थाको जानकारी गराउनसमेत निर्देशन दिनुभयो । टेलिफोन संवादका क्रममा उहाँले त्यहाँका नेपालीको हित सुरक्षाका लागि आवश्यक सहयोग दिन हरबखत तयार रहनुहोस् भन्नुभयो ।

सो क्रममा भिसा सकिएकालाई भिसाको म्याद थप्ने प्रक्रियाका लागि त्यहाँको सरकारसँग समन्वय गरी नेपाली नागरिकलाई सहज बनाउन पनि मन्त्री ज्ञवालीले थप निर्देशन दिनुभयो । उहाँले कुनै नेपालीले पनि भिसा सकिएका कारण अवैध भएर बस्न नपरोस् भनी राजदूतावास चनाखो रहनू भन्नुभएको छ ।

मन्त्री ज्ञवालीले नेपालीलाई कुनै अप्ठेरो वा समस्या परेमा सकेसम्म त्यहीँ समाधान गर्ने र नसकेको खण्डमा हरेक दिन परराष्ट्र मन्त्रालयमा रिपोर्ट बनाएर पठाउनसमेत भन्नुभएको छ । राजदूतावास वा कूटनीतिक नियोगमा हटलाइन नम्बर र कर्मचारी अद्यावधिक राखेर २४ घण्टा त्यहाँ रहेका नेपालीको समस्या सुन्न र सहयोगका लागि पहल गर्न राजदूत तथा नियोगलाई सचेत गराउनुभएको छ । 

Published on: 17 April 2020 | Gorkhapatra

Link

Back to list

;