s

नेपालीको सडकमै बास

होम कार्की

६ जना नेपाली कामदार ५ दिनदेखि सडकमै बास भएको छ । उनीहरु बस्दै आएको क्याम्पबाट निकालिएपछि आइतबारबाट सडकमा बस्दै आएका हुन् । 

उनीहरुलाई काममा लगाउने मुदिर भागेर श्रीलंका पुगेपछि क्याम्पबाट निकालिएका थिए । 'हामीलाई मुदिरले सात दिनभित्र स्वदेश पठाउने भनिरहेको थियो', धादिङका बिनोद प्रसाद धमलाले भने,'मुदिर श्रीलंकका पुगेका खबर आयो । मुदिर हिडेपछि अर्कोले क्याम्पमा बस्न नपाउने भन्दै निकाली दिए ।'

धादिङका धमाला, हरिबहादुर सिंह ठकुरी, हर्कबहादुर आछामे, चन्द्रबहादुर नेपाली, काभ्रेका रुद्धप्रसाद अधिकारी र उदयपुरका टेकबहादुर कार्की बिचल्ली बनेका हुन् । उनीहरु शरण खोज्दै आइतबार नै नेपाली दुताबासमा पुगेका थिए । दुताबासले 'आश्रयस्थल' नभएको बताएपछि पीडितहरु सडकमा बसेका हुन् ।

'हामीलाई आइतबार क्यापबाट निकालेपछि दुताबासको शरणमा गएको थियो । दुताबासले यहाँ बस्न नमिल्ने भन्दै पठाइदियो', बिनोदले भने,'त्यसपछि सडकतिर सुत्न थालेको हो ।' उनीहरु आइतबार राती दुताबास बाहिर रात बिताए । त्यसपछि हाल सनैयामा बस्दै आएका छन् ।

पीडितले स्वदेश फिर्ता गर्न र आश्रय दिन श्रम सहचारी देखि राजदुत मायाकुमारी शर्मासम्मलाई कुरा राखेपनि सुनुवाई नभएको बताए । 'हामीले राजदुतलाई गएर भेट्यौ । राजदुतले आफुले सक्तिन भनेर जवाफ दिनुभयो', उनले भने, 'जो माथि आशा गरेका थियौं । उसैबाट नसक्ने जवाफ आएपछि हामी ज्यादै दुखित छौं ।'  उनीहरु बुधबार पनि दुताबास पुगेका थिए  । पीडितले आफुहरुलाई दुताबासबाट नागरीकलाई गर्नुपर्ने दायित्व निर्बाह नगरेको बताए ।

दुताबासका उपनियोगप्रमुख ऋषिराम घिमिरेले उनीहरुलाई काममा लगाउने स्पोन्सर पहिचान गर्न नसकेकोले समाधान गर्न कठिनाई भएको बर्ता । 'मुदिर पत्ता लगाउन कोशिस भयो । तर काममा लगाउने ब्यक्ति नै स्पष्ट भएन', उनले भने  ।

पीडितहरुले चारमहिना अघि देखि नै समस्या भोग्दै आएका थिए । उनीहरुले चार महिनादेखि तलब पनि पाएका छैनन् । पीडितले न्याय पाउन यहाँको श्रम अदालतमा मुद्दा समेत हालेका छन् । अदालतले मुदिरलाई दिएको पत्र अहिलेसम्म कसैले  बुझेको छैन् ।' 

त्यसअघि पीडितले मुदिरलाई दुताबास लिएर गएको थियो । त्यतिखेर दुताबासले समस्या समाधान गर्न सात दिनको समय दिएको थियो । 'सातदिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि हामीले बिश्वास गरेको हो', श्रमसहचारी इन्द्रदेब पाण्डेले भने,'यस्तो धोका दिन्छ भन्ने लागेको थिएन ।'

४ महिनाको तलब नपाउदा खान समेत पाएका छैनन् । एनआरएन कतारका अध्यक्ष अमृत गुरुङले दुताबासले पीडितको छिट्टै समस्या समाधान गर्नुपर्ने बताए  ।

Published on: 14 September 2012 | Kantipur

Back to list

;