s

नेपालीको शव इजरायलले नै ल्याइदिने प्रतिबद्धता दोहोर्‍याएको छ : मन्त्री साउद

काठमाडौँ — हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० नेपालीको शव प्रक्रिया पूरा भएपछि नेपाल नै ल्याइदिने प्रतिबद्धता इजरायल सरकारले दोहोर्‍याएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि सरकारले हमाससँग सम्बन्ध भएका मुलुकसँग पनि कूटनीतिक पहल भइरहेको मन्त्री साउदले जानकारी दिएका छन् ।

इजरायलमा निधन भएका नेपालीहरूको शव परीक्षण कार्य सकिएपछि नेपाल सरकारलाई हस्तान्तर गर्ने प्रतिबद्धता इजरायली अधिकारीले दोहोर्‍याएको मन्त्री साउदले जानकारी दिएका हुन् ।

रासससँगको कुराकानीका क्रममा मन्त्री साउदले इजरायलका विदेशमन्त्री र काठमाठौंस्थित इजरायली राजदूतले पनि उक्त प्रतिबद्धता दोहोर्‍याएको बताए ।

'आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा संख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै संख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ,' उनले भनेका छन्, 'यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ ।'

नेपाल सरकारले ती शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न चाहेको तर इजरायल सरकारको प्रक्रियाले ढिलो हुन गएको मन्त्री साउदको भनाइ छ । विद्यार्थीको उद्दार गर्नका लागि गएको विमानमा नै मृतकको शव ल्याउन चाहँदा पनि प्रक्रियागत ढिलाइले सम्भव नभएको उनले बताए ।

इजरायमा पढ्न गएका विपिन जोशी हाल पनि बेपत्ता छन् । उनलाई हमासले बन्धक बनाएको बताइएको छ । जोशीसँगै रहेका विद्यार्थीहरूले पनि हमासले थाइल्याण्डका नागरिकसँगै लगेको बताएका छन् । उनको उद्दारका लागि सरकारले विभिन्न माध्यम प्रयोग गरिरहेको मन्त्री साउदले जानकारी दिएका छन् ।

'विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बंकरमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बंकरबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन,' साउदले भनेका छन्, 'इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक–पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौ । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौँ ।'

परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीको थप उद्दार गर्नका लागि सरकार तयार रहेको बताएका छन् । सरकार पुनः चार्टर्ड उडानको माध्यमबाट त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन तयार रहेको जानकारी दिए ।

'उद्धार गर्नुपर्ने नेपाली नागरिकको संख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौँ । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौँ । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौँ,' उनले भने, 'संख्या निर्धारण गरेका छैनौ, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ ।'

इजरायलमा कार्यरत सबै नेपाली फर्किन चाहेको जस्तो सरकारलाई नलागेको पनि मन्त्री साउदले बताए । धेरै नेपाली केयर गिभरका रुपमा गएकाले त्यहाँ इजरायली परिवारसँग बसिरहेको उनको भनाइ छ । इजरायलको सुरक्षा प्रोटोकलसँग उनीहरू अभ्यस्त पनि भइसकेको हुनाले उनीहरू हतार गरेर फर्किएलान् जस्तो सरकारलाई नलागेको पनि उनको भनाइ छ ।

Published on: 16 October 2023 | Kantipur

Link

Back to list

;