s

नेपालीको शव ल्याउन चार्टर विमान पठाइने

नेपाल फर्कन चाहनेहरूलाई पनि ल्याइने, दुई घाइतेलाई दिल्ली ल्याइयो, अन्य तीन पनि बुधबार ल्याइँदै
 
चन्द्रशेखर अधिकारी
  
सरकारले अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन चार्टर विमान पठाउने भएको छ । उक्त विमानमा त्यहाँबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णय छ । सरकारले नेपालीको शव ल्याउन तीन फरक–फरक फ्लाइट कनेक्ट गर्नुपर्ने भएपछि चार्टर विमान पठाउन लगेको हो ।
 
परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन पहल भइरहेको बताए । ‘जतिसक्दो छिटो शवहरूलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोसिसमा छौं । आवश्यक प्रक्रिया पूरा गरेर छिटोभन्दा छिटो नेपाल एयरलाइन्सको चार्टर विमान काबुल पठाउने तयारीमा छौं,’ पौड्यालले भने ।
 
पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै यस्तो निर्णय लिएको जानकारी दिए । क्यानडाको दूतावास सुरक्षाका लागि बसमा जाँदै गर्दा सोमबार बिहान तालिवानी आतंकवादीले बम विस्फोट गराएका थिए । उक्त घटनामा १२ नेपाली र नेपाली मूलका २ भारतीय नागरिकको मृत्यु भएको थियो । घाइते सातमध्ये दुई जनालाई उपचारका लागि मंगलबार भारतको अपोलो अस्पताल ल्याइएको छ भने अन्य ३ जनालाई बुधबार ल्याउने तयारी भएको काबुल पुगेका कार्यवाहक राजदूत तीर्थराज अर्यालले जानकारी दिएको मन्त्रालयले जनाएको छ । एक जनाको अवस्था सामान्य भइसकेकाले उनी अफगानिस्तानमा उपचारपछि नेपाल फर्कने जनाइएको छ । अर्का एकको अवस्था गम्भीर रहेको र उनलाई विमानमा यात्रा गर्न दिनेबारे निर्णय भइनसकेको प्रवक्ता पौड्यालले बताए ।   
 
भारत, पाकिस्तान हुँदै काबुल जाने हुनाले चार्टर विमान पठाउन कागजी प्रक्रियामा केही समय लागेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख प्रकाश सुवेदीको नेतृत्वमा १० सदस्यीय उद्धार टोली सोही चार्टर विमानमा अफगानिस्तान जानेछ । टोलीले विस्फोटमा मारिएका शव नेपाल ल्याउनेछ । यसका साथै नेपाल फर्कन चाहने नेपालीलाई समेत ल्याउने गरी तयारी अघि बढाएको पौड्यालले बताए । सम्भव भएसम्म बुधबार बिहान विमान काबुल पुगिसक्ने गरी तयारी गरिएको उनले जानकारी दिए । उद्धारमा सुवेदीका साथमा तीन सैनिक, दुई प्रहरी, वैदेशिक रोजगार विभागका एक प्रतिनिधि तथा गृहका अधिकारीहरू जानेछन् ।
 
कतिपय नेपालीहरू स्वदेश फर्कन पर्खिरहेको र वर्तमान त्रासदीले फर्कन चाहनेहरूका लागि पनि यो सुविधा उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले चार्टर विमान पठाउने र शवसँगै अन्य नेपालीहरूलाई ल्याउने निर्णय लिएको हो । बैठकमा परराष्ट्र मन्त्रालयका अलावा गृह, पर्यटन तथा श्रममन्त्री तथा अधिकारीहरू सहभागी थिए । सरकारकै पहल र कम्पनीको तदारुकताले गम्भीर घाइते कृष्ण देउजा र मनबहादुर थापालाई थप उपचारका लागि नयाँदिल्ली ल्याउन सकिएको जनाइएको छ ।
 
काबुलमा भन्दा राम्रो उपचार हुने भएकाले अफगान सरकारमार्फत सम्बन्धित कम्पनीलाई दबाब दिएर सरकारले घाइतेहरूलाई दिल्ली ल्याउने पहल गरेको अधिकारीहरूले बताए । काठमाडौंमा शव ल्याएपछि परिवारले चाहेको स्थानमा पुर्‍याउने व्यवस्थासमेत गरिने मन्त्रालयले जनाएको छ । आफन्तजनले आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारी र परराष्ट्र मन्त्रालयका सम्पर्क व्यक्तिलाई फोन गरेर जानकारी लिन सक्नेसम्मको व्यवस्था पनि गरिएको छ । अफगानिस्तानमा हाल औपचारिक तथा अनौपचारिक रूपमा गएकाहरूसमेत गरी १२ हजारभन्दा बढी नेपाली रहेको अनुमान छ । यस्तो विपत पर्दा सहयोगका लागि परराष्ट्र मन्त्रालयमा उद्धार सेल नै बनाउने गरी छलफल अघि बढेको पनि प्रवक्ता पौड्यालले जानकारी दिए ।
  
भरतराज पौड्याल, परराष्ट्र प्रवक्ता
 
अफगानिस्तानमा रहेका इच्छुक नेपाली चार्टर विमानमार्फत आउन सक्छन् । तर, हामी जबर्जस्ती गर्न सक्दैनौं । त्यो सम्बन्धित व्यक्तिको इच्छामा भर पर्ने विषय हो । मेरो आफ्नो बुझाइ र अनुभवमा आउनेहरू न्यून नै हुनेछन् । सबै अवस्था बुझेर नै त्यहाँ पुगेका छन् । म अफगानिस्तानको गैरआवासीय राजदूतको हैसियतमा ओहोदाको प्रमाणपत्र बुझाउन पुग्दासमेत नेपालीको अवस्थाबारे जानकारी लिएको थिएँ । धेरैले नेपालीहरू आफ्नो काममा सन्तुष्ट थिए । उनीहरूले आफूलाई सुरक्षित नै रहेको भन्दै अन्तर्राष्ट्रिय कम्पनीभित्र काम गर्दा समस्या नहुने समेत बताएका थिए ।
 
नेपाल एयरलाइन्सको विमान जाने हुनाले अटेसम्म ल्याउन चाहेका छौं । कतिपय नेपालीहरू स्वदेश फर्कन पर्खिइरहेकासमेत छन् । कम्पनीले आज/भोलि भन्दै राखेकाहरू वा कन्ट्रयाक्ट सकिन लागेकाहरू फर्कन सक्नेछन् । अफगानिस्तानमा नेपालको दूतावास छैन । त्यहाँको कार्यक्षेत्रसमेत तोकिएका पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्याल अहिले काबुल पुगेर समन्वयको काम थालिसकेका छन् । उनले शव पठाउने, उपचारका क्रममा रहेका नेपालीको अवस्था बुझ्ने र फर्कन चाहने नेपालीलाई फर्कनका लागि सहयोग गर्ने छन् ।
 
नेपाली सुरक्षा गार्डका रूपमा काम गरेको र उनीहरू काममा जानेक्रममा आक्रमणमा परेकाले पनि किन यस्तो भन्दै बुझ्ने अर्यालको कार्यादेशमा छ । नेपालीलाई निसाना बनाइएको हो वा होइन भन्नेमा पनि छलफलहरू र अध्ययन हुनेछन् । अफगानिस्तानमा मात्र होइन अन्य यस्तो हमलाको जोखिम भएको मुलुकका बारेमा अलर्ट रहने छौं ।
 
Published on: 22 June 2016 | Kantipur

Back to list

;