s

नेपालीका लागि वैदेशिक रोजगारीको अवसर खुम्चिँदै

कोरोना महामारीका कारण नेपाली श्रमिकका निम्ति वैदेशिक रोजगारीको अवसर खुम्चिँदै गएको छ। प्रमुख गन्तव्य मुलुकमै अवसर संकुचित बन्दै गएकाले समस्या भएको श्रम काउन्सिलरहरूले बताएका छन्।

नेपाली श्रमिकको निकै आकर्षक र प्रमुख गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाको पछिल्लो अवस्था चिन्ताजनक रहेको मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले बताए।

'विगतमा मलेसियामा पाँचदेखि छ लाख नेपाली रोजगारीमा संलग्न थिए। अहिले एक लाख ६० हजार हाराहारी मात्रै वैधानिक हैसियतमा काम गरिरहेका छन्। यो संख्या अत्यन्तै कम हो,' ढकालले भने।

स्वदेशमा रोजगारी अवसर नभएको अवस्थामा वैदेशिक रोजगारी पनि खुम्चिँदै जानु चिन्ताजनक भएको उनको भनाइ छ। पछिल्लो समय कोभिड संक्रमण जोखिम बढ्दै गएकाले मलेसियाले आप्रवासी कामदार प्रवेशमा कडाइ गरेको हो।

उनका अनुसार त्यहाँ दैनिक सात हजार हाराहारीमा कोरोना संक्रमण भइरहेको छ। जसले गर्दा सरकारले कडाइ गरेको हो। कति नेपालीमा संक्रमण देखियो भन्ने यकिन विवरण नपाए पनि हालसम्म कोरोनाका कारण २१ नेपालीको ज्यान गएको तथ्यांक प्राप्त भएको छ। संक्रमण बढ्दै गएकाले आगामी डिसेम्बरसम्म आप्रवासी श्रमिकले मलेसिया प्रवेश पाउने सम्भावना कम रहेको पनि उनले जानकारी दिए।

'मलेसियाले स्वास्थ्यलाई अत्यन्तै संवेदनशील रूपमा लिएको छ। हामीले नेपालीका लागि बाटो खुला हुनुपर्‍यो भन्ने अवस्था पनि छैन। भनेर पनि तत्काल खोल्न सक्ने अवस्था छैन,' उनले भने।

कोभिड संक्रमणदर घट्दै गएर अवस्था सहज भयो भने पनि मलेसियाले देशगत अवस्था हेरेर श्रमिक लिने भएकाले सरकारले बेलैमा नागरिकलाई खोप व्यवस्था गर्नुपर्ने उनले जोड दिए।

साउदी अरबका लागि श्रम काउन्सिलर जीवन राईले पनि कोभिडपछि साउदी रोजगारीमा प्रवेश असहज बन्दै गएको बताए। कोरोनापछि साउदी प्रवेश गर्ने आप्रवासीले जहाज तथा क्वारेन्टाइन शुल्क चर्को तिर्नुपरेको छ। हालै भने क्वारेन्टाइन खर्च रोजगारदाताले बेहोर्ने निर्णय भएकाले अलि सहज हुने विश्वास उनले व्यक्त गरे।

युएईका लागि श्रम काउन्सिलर निर्मला थापाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि जुलाई महिनाभर नयाँ आप्रवासी श्रमिक नलिने घोषणा गरिसकेको बताइन्।

'आउन मात्रै होइन, युएईका नागरिकलाई पनि विभिन्न १२ मुलुकमा जान रोक छ,' उनले भनिन्। नेपालमा कोरोना अवस्था सहज हुँदै गएको एक महिनापछि श्रमिक भर्ना प्रक्रिया सुरू गर्न सक्ने उनले उल्लेख गरिन्।

म्यानपावर व्यवसायीहरू पनि वैदेशिक रोजगारी ठप्प भएकामा चिन्तित छन्। वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष कमल तामाङ प्रमुख गन्तव्य मुलुकले नेपाली श्रमिक प्रवेशमा रोक लगाएकाले वैदेशिक रोजगारी ठप्प भएको बताउँछन्।

'मलेसिया पूरै बन्द छ। युएईले पनि कामदार मागेको छैन। कुवेत बन्द छ। साउदीले पनि नयाँ कामदार बन्द गरेको छ। अलिअलि सहज भनेको कतार हो। तर अहिले कतार भिसा सेन्टर (क्युभिसी)ले अप्ठ्यारो बनाइदिएको छ,' उनले सेतोपाटीसँग भने।

रोजगारी अवसर पाउनेहरू पनि चर्को रकम तिरेर जान बाध्य छन्। पछिल्लो समय साउदी, कतार लगायत युरोप तथा अन्य मुलुक जानेहरू तेब्बर बढी रकम तिरेर जान बाध्य छन्। फ्रि भिसा, फ्रि टिकट नीति लागू भएका मलेसिया तथा कतार जानेले क्वारेन्टाइन तथा जहाज खर्च गरेर प्रति व्यक्ति दुई लाख हाराहारी तिर्न बाध्य छन्।

करार अवधि सकिएका तथा विविध कारणले स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीलाई स्वदेश फर्किन पनि असहज भएको बताइएको छ। मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले नेपालीलाई 'एक्जिट पर्मिट' लिन असहज भइरहेको बताए।

मलेसियास्थित विभिन्न कम्पनीमा कार्यरत नेपाली बाध्यकारी श्रम गर्न बाध्य भएको उनको भनाइ छ।

'अहिले रोजगारदाताले जबरजस्ती भिसा थप गर्न लगाउने गरेका घटना बढेका छन्। जसले गर्दा स्वदेश फर्कनै पर्ने बाध्यता भएका श्रमिक पनि फर्किन सकेका छैनन्। यो समस्या सहजीकरणका लागि कूटनीतिक नियोगले पहल गरिरहेको छ। यसमा सरकार र सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिएको छ,' उनले भने।

साउदीका लागि श्रम काउन्सिलर जीवन राईले पनि उडान पर्याप्त नहुँदा स्वदेश फर्कने नेपालीले पनि चर्को हवाई शुल्क तिर्न बाध्य हुनु परेको बताए। साउदी-नेपाल नियमित उडान नहुँदा श्रमिक मारमा परेको उनको भनाइ छ।

'अहिले त एक्जिट भिसा पाउन पनि गाह्रो छ। त्यसमाथि साउदीबाट नियमित उडान नहुँदा स्वदेश फर्कने नेपाली मारमा छन्,' उनले भने।

हवाई समस्याकै कारण गन्तव्य मुलुकमा शव थुप्रिन थालेका छन्। मलेसियामा वाइडबडी नजाँदा ५२ वटा शव थुप्रिसकेको श्रम काउन्सिलर ढकालले बताए। एक तथ्यांकले मलेसियामा तीन दिनमा दुई नेपालीको मृत्यु हुने देखाएको बताउँदै शव ढुवानीका लागि महिनामा दुई पटक भए पनि वाइडबडी उडान आवश्यक देखिएको उनले औंल्याए। त्यस्तै साउदीमा पनि २५ शव अड्किएको काउन्सिलर राईले उल्लेख गरे।

Published on: 9 July 2021 | Setopati

Link

Back to list

;