s

नेपालीद्वारा बेलायती अदालत घेराउ

चिरन शर्मा

कृष्णामाया माबोको हत्यामा संलग्नलाई कारबाही माग्दै रेडिङस्थित क्राउन कोर्ट परिसरमा नेपाली समुदायले बुधबार प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले 'हत्यारालाई कारबाही गर', 'सामाजिक सुरक्षा कायम गर', 'मानवअधिकारको ग्यारेन्टी गर' नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
प्रदर्शनमा पूर्व गोर्खा सैनिक परिवारलगायत झन्डै पाँच सयको सहभागिता रहेको स्थानीय विश्वआर्दश पण्डितले बताए। हत्यारालाई तत्काल कारबाही माग्दै प्रदर्शनकारीले अदालत परिसरमा आक्रोश पोखेका थिए। प्रदर्शन क्रममा प्रहरीसँग तनाव भएपछि प्रशासनले थप शक्ति परिचालन गरेको पण्डितले बताए |

थेम्स भ्याली प्रहरीले हत्या आरोपमा एक पुरुÈलाई पहिलोपटक मंगलबारै अदालतमा पेस गरेको थियो। हत्या आरोपमा ३० वर्षीय ग्लेन जोन नेल्सनलाई प्रहरीले अदालतमा पेस गरेको हो। उनी आरबोफिल्डको इभरसेलीका बासिन्दा हुन्। नेल्सनलाई भिडियो लिंकमार्फत् अदालत पेस गरिएको गैरआवासीय नेपाली संघ बेलायतका सदस्य रमेत बास्तोलाले बताए। उनका अनुसार अभियुक्त बेलायती नागरिक हुन्। अभियुक्त नेल्सन यसअघि विभिन्न अपराधमा ८ वर्ष जेल बसेर दुई साताअघि मात्र रिहा भएका व्यक्ति हुन्।

मंगलबारको सुनुवाइमा अभियुक्तले हत्या गरेको प्रहरीसमक्ष बयान दिएको बास्तोलाले बताए। आदलतमा करिब ४ मिनेट मात्र सुनुवाइ भएको थियो। सुनुवाइमा माबोका श्रीमान, छोरा–छोरीलगायत आफन्तको उपस्थिति थियो। अदालतले सो मुद्दाको अर्को सुनुवाइ १५ अक्टोबरलाई तय गरेको छ।

१३ वर्षदेखि बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन्। उनका श्रीमान ब्रिटिस सेनामा १६ वर्ष जागिर गरेर अवकास लिए पनि पुनः सैन्य सेवामै छन्।

पाँचथर थर्पु–६ स्थायी घर भएकी ३९ वर्षीया कृष्णमायाको साताअघि हत्या भएको हो। साँझ ६ बजे घरबाट हिँडडुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थियो। प्रहरीले कुकुर र हेलिकप्टरको सहयोगमा सोमबार घरदेखि दुई माइल टाढा गहुँबारीमा उनको शव फेला पारेको थियो। माबोको बलात्कारपछि हत्या गरिएको अनुमान छ। हालसम्म प्रहरीले पोस्टमार्टम रिपोर्ट सार्वजानिक गरेको छैन।

Published on: 13 June 2013 | Nagarik

Back to list

;