s

नेपालीबाटै ठगिँदै छन् केमान टापुमा

‘सबभन्दा तल्लो काम भनेको ट्वाइलेट सफाइ गर्ने हो । त्यो गर्छु भन्दा पनि पाइएन, कहाँ ल्याएर फसाइदिए । फेद न टुप्पोको हालत झैं बनाइदिए’

होम कार्की

भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ ।

एउटा नेपाली सुरक्षागार्डले आफू ड्युउटी जानआउन त्यो साइकल किनेका थिए । उनले गाडी किनेपछि जागिर खोज्दै हिंडेका अर्का नेपालीलाई दिए । भिसा अवधि सकिएका ती नेपाली प्रहरीको फन्दामा परेपछि फिर्ता पठाइए । त्यतिकै थन्किएर बसेको त्यो साइकल कार्कीले चलाउन पाए ।
 
‘यो देशमा मेरा लागि यही साइकल सहारा बनिरहेको छ । हरेक कम्पनीमा बायोडाटा हाल्न जाँदा यसले धेरै सहयोग गर्‍यो,’ उनले फोनमा भने, ‘अब योसँग पनि एक साताभन्दा बढी बिताउन पाइएला जस्तो छैन ।’ कार्कीको भिसाको अवधि जुलाई २२ सम्म मात्रै छ। उनी त्यहाँ अध्यागमनको तारेखमा धाइरहेका छन् । ‘जुलाई २२ पछि अध्यागमनले भिसा थपिदिन्छ कि जेल राखेर नेपाल पठाइदिन्छ, थाहा छैन,’ उनले भने, ‘जिन्दगी भगवान् भरोसामै चलिरहेको छ ।’
 
उनी ५ मे २०१७ मा त्यो टापुमा पुगेका थिए । ब्रिटिस उपनिवेशमा रहेको यो टापु पश्चिमी क्यारिबियन समुद्रमा पर्छ । यसको दक्षिणमा क्युबा, उत्तरपूर्वमा कोस्टारिका, उत्तरमा पनामा, पूर्वमा मेक्सिको र उत्तरपश्चिममा जमैका पर्छ । दलालले उनलाई ३ हजार डलर कमाउने लोभ देखाएर केमान पठाइदिएका थिए । ‘म काठमाडौंस्थित वर्ल्डवाइड ट्राभलका सञ्चालक पृथ्वीबहादुर शाहीलाई १६ लाख रुपैयाँ बुझाएर आएको हुँ । उसको केमानमै रहेका नारायण भन्ने गिरबहादुर आले मगरसँग सम्पर्क रहेछ,’ उनले भने, ‘उसले भनेको ३ हजार डलरको काम त परै जाओस्, एक डलरको काम पनि पाइएको छैन ।’
 
यो १४ महिनामा काम नपाउँदा उनी निकै तनावमा छन् । कतै काम पाइन्छ कि भनेर अझै भौँतारिँदै हिंडिरहेका छन् । ‘मलाई तीन महिनाको भिसामा सीडीएन कम्पनीमा पठाएको थियो । त्यो सीडीएन कम्पनी कतै भेटिएन । हामीजस्ता केही सीप नभएकालाई जागिर पाइनै मुस्किल रहेछ । सबभन्दा तल्लो काम भनेको ट्वाइलेट सफाइ गर्ने हो । त्यो गर्छु भन्दा पनि पाइएन,’ उनले भने, ‘कहाँ ल्याएर फसाइदिए । फेद न टुप्पोको हालत झैं बनाइदिए ।’
 
उनीसँग टापु पुग्दा १५ सय डलर थियो । ‘त्यही पैसाले भिसा परिवर्तन गर्दै बसिरहे । साइकलमा आइल्यान्ड वारपार गर्न दुई घण्टा लाग्छ । देखेजति कम्पनीमा बायोडाटा हालेको थिएँ । काम दिन्छ कि भनेर बायोडाटा छोडदै हिँडेको कम्पनीमा हरेक साता पुग्छु,’ उनले भने, ‘ती कम्पनीमा कसैले सोर्स लगाइदिए मात्रै काम पाइँदोरहेछ । त्यस्तो सोर्स लगाइदिने हाम्रा लागि को छ र ?’
 
यो टापुमा नेपालीको संख्या मुस्किलले तीन सय पनि नाघेको छैन । म्यानपावर एजेन्सीले संस्थागत रूपमा कामदार पठाउने गरेको छैन । त्यहाँ काम गर्ने नेपालीले नै नेपालका ट्राभल एजेन्सी र आफन्तसँग मिलेर कामदार ल्याउने गरेका छन् । ओम थापा, गिरबहादुर आले, पूर्ण सुनुवार, नारायणी खत्री, वेनिसा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठलगायतले २० लाख रुपैयाँसम्म लिएर नेपाली ल्याउने काम गरिरहेका छन् ।
 
‘यहाँ जति आउँछन्, सबैले २० लाख रुपैयाँसम्म तिरेको भेटिन्छ । धेरैलाई मजस्तै अमेरिकी देशको एउटा टापु भनेर ल्याइएको हुन्छ । हजारौं डलर कमाउने लोभ देखाएको हुन्छ । काम नपाएर धेरैजसो फर्किसके । रित्तो हात फर्कन आँट ममा आएन,’ उनले भने, ‘उता घरपरिवार कसरी बाँचेको छ, सोध्न पनि आँट आएको छैन ।’
 
तीन महिनाको श्रम इजाजतका लागि ३ सय डलर तिरेपछि भिसा पाइन्छ । दलालले भने १५ लाखदेखि ३० लाख रुपैयाँसम्म रकम लिई ल्याउने गरेका छन् । ‘तीन महिनाभित्र काम खोज्नुपर्छ । काम पाउन अध्यागमनको अंग्रेजी पास अनिवार्य छ । अंग्रेजी फेल हुनासाथ नेपालमा फर्किहाल्नुपर्छ,’ ६ वर्षदेखि सुरक्षागार्डमा काम गर्ने एक नेपालीले भने, ‘धेरैजसो दलालले आइल्यान्डसम्म ल्याइदिने काम गर्छन् । यहाँ आइसकेपछि वास्ता गर्दैनन् । एकदमै कमले मात्रै काम पाउने सम्भावना छ ।’
 
Published on: 20 July 2018 | Kantipur

Back to list

;