s

नेपाली श्रमिकलाई रोजगारीमा निरन्तरता दिन युएइसँग उपप्रधानमन्त्री पोखरेलको आग्रह

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस संक्रमणको कारणले प्रभावित नेपाली श्रमिकहरूलाई आगामी दिनमा रोजगारीको निरन्तरताका लागि यएइ सरकारसँग  अनुरोध गरेका छन्।

कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले युएइका रक्षा राज्यमन्त्री मोहमम्मद अहमेद अल बवार्दीबीच भएको टेलिफोनवार्तामा यस्तो आग्रह गरेका हुन्।

युएईमा विभिन्न पेशा¸व्यवसायमा संलग्न रही लकडाउनका कारण घर फर्कन चाहेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउन आवश्यक सहजीकरणको लागि संयुक्त अरब इमिरेट्स सरकारबाट भएको अनुरोधलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको समेत उपप्रधानमन्त्री पोखरेलले बताएका थिए।

फोनमा उपप्रधानमन्त्री पोखरेलले देशभित्र आवश्यक पूर्वाधार, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन लगायतका सुविधाहरूको व्यवस्था गरेर विदेशमा रहेका नेपालीहरूलाई मुलुकभित्र ल्याउने तयारी भइरहेको जानकारी गराएका थिए।

मन्त्री पोखरेलले कुराकानीका क्रममा संयुक्त अरब इमिरेट्स सरकारले नेपाल सरकारलाई कोभिड-१९ रोगको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकोमा युएइ सरकारलाई धन्यवाद दिए।

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले चालेको लकडाउन, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान र अन्य सार्वजनिक यातायातको निलम्बन लगायतका अन्य प्रावधानहरूबाट कोरोना संक्रमणलाई भयावह बन्न नदिन ठूलो सहयोग पुगेको समेत उपप्रधानमन्त्री पोखरेलले सो क्रममा बताएका थिए।

Published on: 21 May 2020 | Setopati

Link

Back to list

;