s

नेपाली कामदारलाई सहुलियत दिन आग्रह

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २८ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबियाका राजकुमार तथा विदेश मन्त्री फैजल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गर्नुभएको छ । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये पर्ने साउदी अरेबियामा रहेका नेपालीको अवस्थाबारे उहाँले त्यहाँका राजकुमार साउदसँग जानकारी लिनुभएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण, सुरक्षा, उनीहरूको कल्याण र हेरचाहका बारेमा परराष्ट्र मन्त्री ज्ञवालीले राजकुमार साउदसँग जिज्ञासा राख्नुभएको थियो । परराष्ट्र मन्त्री ज्ञवालीले दुई देशको द्विपक्षीय सम्बन्ध बलियो बनाउन त्यहाँका नेपाली कामदारको मुख्य भूमिका रहेको छ, त्यसैले नेपाली कामदारको अवस्था, उपचार र रेखदेखका बारेमा त्यहाँको सरकारले कसरी काम गरिरहेको छ भनेर बुझिएको हो भन्नुभयो ।

टेलिफोन वार्तामा नेपाली कामदारले पाइरहेको रोजगारी, सुविधा तथा तलब कटौती नगरी सहुलियत दिन पनि उहाँले राजकुमार साउदसँग आग्रह गर्नुभएको थियो । राजकुमार साउदले त्यहाँको विकासमा नेपाली नागरिकले खेलेको भूमिकाका बारेमा प्रशंसा गर्नुभयो । त्यहाँको सरकारका लागि नेपाली प्रिय रहेकाले सबै खालको सुरक्षा दिइरहेको राजकुमार साउदले आश्वस्त पार्नुभएको थियो । विश्व कोरोना भाइरससँग लडिरहेको अवस्थामा सबै देशले संयुक्त रूपमा अघि बढ्नुपर्ने विषयमा दुवै विदेश मन्त्रीले टेलिफोन वार्तामा जोड दिनुभएको थियो । त्यहाँस्थित राजदूतावासले निरन्तर सम्पर्कमा रही नेपाली नागरिकको जानकारी लिइरहेको जनाएको छ । बन्द अवस्थामा कुनै कठिनाइ परेमा तत्काल सम्पर्क गर्न भनिएको छ । तीन लाख ५० हजार नेपाली नागरिक कामका लागि साउदी अरबमा छन् ।

Published on: 10 April 2020 | Gorkhapatra

Link

Back to list

;