s

नेपाली विद्यार्थीको पीडा, ‘डिग्री लिन बेलायत आएको तर बिजोग भयो’

नवीन पोखरेल

(लन्डन) — कलैयाका विशाल सिंह बेलायत आइपुगेको झन्डै डेढ महिना भयो । ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स पढ्न आउँदा उनले ७ हजार २ सय ३५ पाउन्ड बुझाएका थिए । ११ मार्चमा ५ हजार ५ सय पाउन्ड तिर्ने समयसीमा थियो ।

भर्खरै बेलायत आएका उनले कुनै काम पाएका थिएनन् । त्यसैले उनले पुनः परिवार गुहारे । घरबाट पैसा पठाइयो तर उनी समस्यामा परे । ‘घरबाट मेरो खातामा पैसा डिपोजिट हुनेबित्तिकै बैंकले शंकास्पद भन्दै अकाउन्ट नै ब्लक गरिदियो ।

विश्वविद्यालयको पत्र, पासपोर्ट कपी, पैसा मगाएको सबै प्रमाण दिँदा पनि बैंकले एक महिनादेखि दुःख दिइरहेको छ,’ उनले भने ।

काम नहुनु र घरबाट पठाएको पैसा पनि रोकिएकै बेला कोभिड–१९ का कारण उनी थप चिन्तित छन् । ‘नेपाल जाऊँ पैसा छैन । यहाँ एकदम असुरक्षित महसुस गरिरहेका छौं,’ उनले सुनाए । सेप्टेम्बरसम्म विश्वविद्यालय बन्द भएकाले आफूसहितका विद्यार्थीलाई तुरुन्त नेपाल फर्कने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

युनिभर्सिटी अफ हडर्सफिल्डमै कम्प्युटर साइन्स पढ्न आएका नेपालगन्जका २० वर्षीय रिचर्ड पाण्डे पनि यस्तै पीडा व्यक्त गर्छन् । ‘पैसा कमाउनभन्दा पनि डिग्री लिन बेलायत आएको तर बिजोग भयो,’ उनले भने, ‘घरबाट ल्याएको सबै पैसा सकियो, यहाँ जागिर छैन । यी विद्यार्थीमात्र होइन, युनिभर्सिटी अफ हडर्सफिल्ड, बोल्टन र युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (युक्ल्यान) पुगेका करिब २ सय नेपाली विद्यार्थीको अवस्था उस्तै छ ।

पीडित विद्यार्थीले लन्डनस्थित नेपाली दूतावास र विश्वविद्यालयका नेपाली सोसाइटीले आफ्ना गुनासो नसुनेको जिकिर गरेका छन् । दूतावासका उपनियोग प्रमुख शरदराज आरनले नेपाल सरकारले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई नेपालयात्रा निषेधित गरेकाले आउँदो अप्रिल १२ सम्म धैर्य गर्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

उनले भने, ‘यतिखेर नेपाल जाने फ्लाइट पनि छैन । फेरि भाइरस संक्रमण मानवीय स्वास्थ्यसँग जोडिएकाले देश र समाजलाई नै असर हुने विषय सबैले बुझिदिनुपर्छ ।’

यसैबीच, बिचल्ली परेका विद्यार्थीलाई सहयोग गर्न यहाँका केही नेपालीले चासो व्यक्त गरेका छन् ।

Published on: 21 March | Kantipur

Link

Back to list

;