s

नेपाली तस्करको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया

सुरेन्द्र पौडेल

अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ।

नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई 'ट्रान्जिट' बनाइरहेको समेत खुलेको छ।

दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा 'भिसा' उपलब्ध गराउँदै आएका छन्। दक्षिणपूर्वी एसियाली केही राष्ट्रले नेपालीलाई सशुल्क 'अनअराइभल' भिसा दिँदै आएका छन् त केहीले निःशुल्क। मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्‍याई मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ।

'मानवतस्करले कैयौं नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, युरोपलगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ', थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले टेलिफोनबाट नागरिकसँग भने, 'तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरहेको छ।'

तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन्। कतिलाई भने तस्करहरुले नै स्थानीय प्रहरी लगाएर पक्राउ गराएका समेत घटना छन्।

राजदूत अधिकारीका अनुसार नेपालीलाई विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभन देखाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याउने तस्कर भने नेपाली नै हुन्। पीडितसँग उनीहरुले आफ्नो वास्तविक नाम नबताउने हुँदा तस्करको पहिचान भने गर्न सकिएको छैन। तस्करहरुले नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दक्षिणपूर्वी एसियाली राष्ट्रमा पुर्‍याउने गरेको पाइएको हो।

'तस्करले अमेरिका पुर्‍याइदिने भन्दै कम्बोडिया पुर्‍याई अलपत्र पारेका दुई नेपाली सोमबार मात्र दूतावासको सम्पर्कमा आएका छन्', राजदूत अधिकारीले जानकारी दिए। तस्करको साथ लागेर क्यानडा हिँडेका एक महिलासहित तीनमध्ये दुई नेपाली अहिले बैंककस्थित जेलमा छन्। क्यानडाको नक्कली भिसामा बैंकक पुगेका उनीहरुलाई केही दिनअघि तस्करले नै स्थानीय प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए। पक्राउ परेका तीनमध्ये एक जना आँखा नदेख्ने भएकाले उनलाई नेपाल डिपोर्ट गरिसकिएको छ। बाँकी एक महिलासहित दुईलाई भने नक्कली भिसा प्रयोग गरेको आरोपमा प्रहरीले बैंककस्थित अदालतमा मुद्दा चलाएको छ।

'डेढ महिनाअघि मात्र तस्करले विभिन्न विकसित राष्ट्र पुर्‍याइदिने भन्दै ठूलो रकम लिई बैंककमा ल्याई अलपत्र छाडेका १५ जनाको नेपाली टोलीको उद्धार गरी हामीले घर फिर्ता गरेका थियौं', राजदूत अधिकारीले भने, 'प्रायः प्रत्येक महिना तस्करले यहाँ अलपत्र पारेका कुनै न कुनै नेपाली समूहको उद्धार गरी स्वदेश फिर्ता पठाउँदै आएका छौं।'

ठगिएका मध्ये केही नेपाली दक्षिणपूर्वी एसियाली राष्ट्रबाट फर्केपछि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागसमेत पुग्ने गरेका छन्। त्यहाँ उनीहरुको एउटै आग्रह हुने गर्छ– हाम्रो फसेको पैसा उठाई तस्करलाई कारबाही गर्नुपर्‍यो। 'केही दिनअघि मात्र मानवतस्करबाट ठगिई थाइल्यान्डबाट फर्केका आठ जना यहाँ आउनुभएको थियो। उहाँहरुले आफ्नो फसेको पैसा असुलउपर गरिदिन आग्रह गर्नुभएको छ। हामी सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौं', कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले भने।

राजदूत अधिकारीका अनुसार जापान र दक्षिण कोरिया पुर्‍याइदिने भन्दै तस्करले नेपालीसँग ८ देखि १० लाख रुपैयाँ उठाउने गरेका छन्। अमेरिका, क्यानडा, अस्टे्रलिया र युरोपेली राष्ट्र पुर्‍याउन भने तस्करले प्रत्येक नेपालीसँग १० देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेको पीडितको दाबी छ।

तस्करले नेपालीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपका विभिन्न राष्ट्र पुर्‍याउन दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाउनुपछाडि एउटै कारण छ– ती राष्ट्रले नेपालीलाई सहज रुपमा भिसा उपलब्ध गराउनु। दक्षिणपूर्वी एसियामा रहेका ११ राष्ट्रमध्ये छवटाले नेपालीलाई अनअराइभल भिसा उपलब्ध गराउँछन्। अर्थात् ती ६ राष्ट्रमा नेपालबाट बिनाभिसा गई त्यहीँको अध्यागमनबाट भिसा लिन सकिन्छ।

'नेपालीलाई अनअराइभल भिसा दिने राष्ट्रमा सहज रुपमा लैजान सकिने हुँदा तस्करको रोजाइमा यिनै देश पर्ने गरेको देखिन्छ। नेपाली अलपत्र पनि यस्तै देशमा भएको पाइन्छ', राजदूत अधिकारीले भने।

नेपालीलाई अनअराइभल भिसा उपलब्ध गराउने दक्षिणपूर्वी एसियाली राष्ट्रमा कम्बोडिया, लाओस, सिंगापुर, इस्टटिमोर, फिलिपिन्स र इन्डोनेसियाा छन्। यीमध्ये सिंगापुर, इन्डोनेसिया र फिलिपिन्सले नेपालीलाई भिसा निःशुल्क उपलब्ध गराउँदै आएका छन्। मलेसिया, भियतनाम, म्यानमार, थाइल्यान्ड र ब्रुनाईले भने नेपालीलाई अनअराइभल भिसा दिँदैनन्। यी देशमा प्रस्थान गर्नुपूर्व नै भिसा लिनुपर्ने हुन्छ। अनअराइभल भिसा नदिने भए पनि थाइल्यान्डको भिसा पाउन कठिन पर्दैन। काठमाडौंस्थित थाइल्यान्डको दूतावासले निवेदन दिएको तीन दिनमा नेपालीलाई भिसा उपलब्ध गराउँछ। नेपालीलाई अनअराइभल भिसा उपलब्ध गराउने विश्वका ३७ राष्ट्रमध्ये छवटा दक्षिणपूर्वी एसियाली राष्ट्र पर्छन्।

'भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायत देशबाट युरोप, अमेरिकाको भिसा सजिलै लाग्ने भन्दै तस्करले नेपालीलाई काठमाडौंबाट ती देश पुर्‍याएको देखिन्छ', राजदूत अधिकारीले भने, 'यी देशमा ल्याएर सुरुमा राम्रो होटलमा राख्ने, मिठो खुवाउने गर्छन्। सकेसम्म पैसा झारिसकेपछि तस्कर उनीहरुलाई छोडी अन्यत्र लाग्ने गरेको पाइएको छ।'

तस्करले दक्षिणपूर्वी एसियाली राष्ट्रबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप जानसमेत सजिलो हुने भन्दै सुरुमा सम्बन्धित देशको भिसा लागेपछि मात्रै रकम दिने सर्तमा थाइल्यान्ड, कम्बोडिया, लाओस, सिंगापुरलगायत देशमा नेपालीलाई लैजाने गरेका छन्। ती देश पुगेपछि विभिन्न बहाना बनाएर सकेसम्म धेरै पैसा असुल्ने गरिन्छ।

'तस्करले प्रायः नेपालीलाई दुई महिनाको टुरिस्ट भिसामा यहाँ ल्याउने गरेको देखिन्छ। ओभर स्टे (भिसा सकिनुअघि) अघि ठूलो रकम झारिसकेपछि तस्करले नै उनीहरुबारे प्रहरीलाई खबर गरी पक्राउ गर्ने गरेको पाइएको छ', राजदूत अधिकारीले जानकारी दिए।

पीडितहरु ओभर स्टे (अवैधानिक)  भएपछि मात्र तस्करहरुले स्थानीय प्रहरीलाई खबर दिने गर्छन्। थाइल्यान्ड पुगेका केहीलाई भने भिसा अवधि सकिएपछि समय बढाउन छिमेकी राष्ट्र मलेसिया, सिंगापुर, कम्बोडिया, लाओस, इन्डोनेसिया पठाउने गरेको देखिन्छ। ती राष्ट्र पुगीसकेपछि ती मुलुकबाट थाइल्यान्डको भिसा उपलव्ध नहुने हुदा त्यतै अलपत्र पारी नेपाल फर्कन उनीहरुलाई बाध्य पार्ने गरिएको दूतावासको ठम्याइ छ।

'कतिपय अवस्थामा अमेरिका, क्यानडा, अस्टे्रलियालगायत राष्ट्रको नक्कली भिसा लगाई कबोल गरेजति रकम असुल गरी पीडितलाई राहदानी दिने र त्यसको सूचना यहा“का प्रहरी प्रशासनलाई दिई पक्राउ गराउनेजस्ता कार्यसमेत भएको पाइएको छ', राजदूत अधिकारीले जानकारी दिए, 'नेपालीहरु ठगिने क्रम पछिल्लो समय अझ बढ्दै गएको पाइएको छ। थाइल्यान्डबाट मात्र नभई छिमेकी मुलुक कम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको देखिन्छ।'

Published on: 16 February 2017 | Nagarik

Back to list

;