s

नेपाली युवाको दिल्लीमा बिचल्ली

वैदेशिक रोजगारको अवैध गिरोहको जालोमा परेर नेपाली युवाको बिचल्ली हुने क्रम जारी नै रहेको छ । आधिकारिक तथ्यांक नभए पनि पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्यूजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई भारतका नयाँदिल्लीलगायत सहरमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेको देखिन्छ ।

यसरी ल्याइएका युवाहरूलाई ती गिरोहले पासपोर्ट नियन्त्रणमा लिने र चाँडै उडाइने भन्दै महिनौं अलपत्र पार्ने गरेका छन्। यस्तै नियति भोगेका छन् पोखराका शौरभ छेत्री तथा गोर्खाका रमेश बराम, निरञ्जन गुरुङ र राजेन्द्र गुरुङले।

माल्दिभ्सको एउटा रिसोर्टमा काम लगाइने र मासिक कम्तीमा पनि तीन सय अमेरिकी डलर पाइने प्रलोभनमा परेर डेढ लाख रुपैयाँका दरले दलाललाई रकम बुझाएको उनीहरूले बताए। तर, दुई महिनामा दिल्लीमा उनीहरूले पाएको मानसिक र शारीरिक पीडासामु त्यो रकम केही होइन भन्छन् उनीहरू। हुन पनि के भोगेनन् यिनीहरूले? बस्दै आएको कोठामा अचानक घरबेटीको ताला, पासपोर्टलगायत महत्त्वपूर्ण कागजात र भएको लुगाफाटो सबै बन्द। पछिल्लो एक महिना त एकसरो लुगामै बित्यो यिनीहरूको दिन। ‘जीवनमा नचिताएको दु:ख पाइयो, न बस्ने ठाउँ छ न खानलाई पैसा,’ छेत्रीले भने।

उनीहरूको पीडा शृंखला असारको दोस्रो साताबाट सुरु हुन्छ। बसबाट दिल्ली पुर्‍याइएका उनीहरू एजेन्टले भाडामा लिएको रोहिणीको राजीव गान्धी क्यान्सर अस्पताल नजिक सोमबजारको एउटा घरको कोठामा बस्न थाल्छन्। नेपालबाट क्यान्सर उपचारका लागि आउने अधिकांश बिरामी र तिनका आफन्तका लागि सोमबजार नौलो ठाउँ होइन।

उनीहरूको बसाइको चाँजोपाँजो कुमार श्रेष्ठ नाम गरेका एजेन्टले मिलाएका थिए। पकाउने सरसामान पनि उनै उपलब्ध गराउँथे। खाना भने उनीहरू आफैंले बनाउनुपथ्र्यो। हिँडडुल गर्न कुनै बन्देज थिएन तर दिल्ली पुग्नासाथ भिसा प्रक्रियाका लागि भन्दै कुमारले नै आफ्नो पासपोर्ट लिएको उनीहरूले बताए।

उनीहरूलाई दिल्ली पुगेको दुई दिनमै उडाइने आश्वासन दिइएको थियो तर सात दिनसम्म पनि विदेश पठाउने सुरसार नदेखेपछि उनीहरू कि चाँँडो उडाउनुपर्‍यो, नभए पैसा फिर्ता दिनुपर्‍यो भन्न थाले। उनीहरूले त्यसो भन्दा ती एजेन्ट अनेक बहाना बनाउँथे। ‘भोलि नै टिकट आउँछ, सबै मिलाउँदै छौं मात्र भन्थे,’ पोखराका छेत्रीले भने।

यसरी महिना दिन बित्यो। उनीहरूलाई अलमल्याउन एक दिन दिल्लीकै एउटा ट्राभल एजेन्सीसमेत पुर्‍याइयो। ती एजेन्टसामु उक्त ट्राभल एजेन्सीका कर्मचारीले अब सबै प्रक्रिया पूरा भइसकेको छ, चाँडै उडाइने भन्दै आश्वासन दिए। त्यो सुनेर उनीहरूलाई अब चाहिँ हुने भयो भन्ने पर्‍यो तर त्यसको दुईचार दिनसम्म पनि उड्ने कुनै छनक नपाएपछि यी युवा आफैं त्यो ट्राभल एजेन्सीमा पुगे। त्यहाँ पुगेपछि भने उनीहरूलाई छाँगाबाट खसेजस्तो भयो। किनकि ट्राभल एजेन्सीमा पहिलेका आश्वासन दिएका कुनै पनि कर्मचारी थिएनन्। ‘जसले हामीलाई भोलि नै हुन्छ भनेको थियो तर त्यहाँ कहिलेकाहीँ आइरहने व्यक्ति मात्र रहेछन्। त्यो त हामीलाई झुक्याउनका लागि खेला गरिएको छ। यसो भन्दे भनेर दलालले नै सिकाएका रहेछन्,’ छेत्रीले बताए।

रकमै डुब्ने चिन्ता भइरहेका बेला उनीहरूमाथि अर्को तनाव थपियो। घरसाहुले उनीहरूसँगै भाडा माग्न थाले। बुझदा कोठाभाडा मात्र भारु डेढ लाख नाघिसकेको रहेछ। कोठा भाडामा लिने कुमारले सुरुदेखिकै रकम बुझाएका रहेनछन्। तिनै कुमारले छेउछाउका अन्य घरमा पनि त्यसैगरी कोठा लिएर नेपाली युवालाई राखेका रहेछन् र ती सबै कोठाको भाडा हिसाब गर्दा डेढ लाखभन्दा बढी पुगेको रहेछ। ‘हामीलाई जस्तै मोरिसस, माल्टा, कोरिया, न्युजिल्यान्ड पठाउने भन्दै यहाँ ल्याएर राख्ने रहेछन्, पछि पो थाहा भयो,’ छेत्रीले भने।

त्यति ठूलो रकम उनीहरूले तिर्न सम्भव थिएन। त्यसपछि ती घरसाहुले भाडा नतिरेसम्म सामान पनि फिर्ता नहुने भन्दै कोठामा ताल्चा लगाइदिए। त्यसपछि उनीहरूका सामु एकसरो लुगामा कहिले कता, कहिले कता भौतारिनुको विकल्प थिएन। केही उपाय नलागेपछि सहयोगका लागि दूतावासको सम्पर्कमा आएको उनीहरूको भनाइ छ। आफ्ना पासपोर्टलगायत सामान फिर्ता पाऊँ भनी उनीहरूले दिएको लिखित उजुरीका आधारमा दूतावासले कारबाही अगाडि बढायो।

दूतावास र स्थानीय प्रहरीको समन्वयमा अन्तत: यी चार युवाले आफ्नो सामान फिर्ता पाएका छन्। फिर्ता पाएपछि छेत्रीले भने, ‘कसैले नपाउनु दु:ख पाइयो, अब एक दुई दिनमा घर जान्छु अनि दलालको परिवारलाई समातेर भए पनि पैसा फिर्ता लिन्छु।’ एउटाले आफूहरूलाई गतिलो पाठ सिकाएको भन्दै उनले भने, ‘अब त सकभर विदेश जाने चक्करमा लाग्दिनँ। जाने नै भए पनि आफ्नै देशबाट जाने।’

Published On: 15 September 2018 | Kantipur

Back to list

;