s

नेपाली युवाको उद्धार गर्न ‘कूटनीतिक प्रयास’ शुरु

देवबहादुर कुँवर

लिवियामा महिना दिनदेखि बन्धक बनाइएका पाँचजना नेपाली युवाको उद्धार गर्न सरकारले ‘कूटनीतिक प्रयास’ शुरु गरेको छ ।  वैदेशिक रोजगारको सिलसिलामा युरोप हिँडेका म्यादीका धिरज थापा र अमन लोज (मगर), पर्वतका रञ्जीत केसी, सुरेश केसी र ओम गुरुङलाई लिवियामा क्रियाशील स्थानीय एजेन्टले बन्धक बनाएका हुन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईका अनुसार, बन्धक बनाइएका पाँचैजनालाई सकुशल उद्धार गर्न इजिप्टस्थित नेपाली राजदूतावासबाट कूटनीतिक प्रयास भइरहेको छ । गत भदौमा इटाली जान भनेर काठमाडौंँबाट दुवाई हिँडेका ती युवा पुसको पहिलो हप्ता लिविया पुगेका थिए ।पीडित युवाका आफन्तहरूका अनुसार, लिवियाबाट पैदल तथा जलमार्ग प्रयोग गरी युरोप लैजाने क्रममा त्यहाँ सक्रिय अर्को मानव तस्कर समूह (एजेन्ट) ले पाँचैजनालाई कब्जा लिई बन्धक बनाएको हो ।

बन्धक बनाउने समूहले जनही एकहजार अमेरिकी डलर फिरौती माग गरेको बताइएको छ । पीडितका आफन्तहरू गुनासो तथा उजुरी लिएर परराष्ट्र मन्त्रालय र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ आएपछि सो घटना बाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, वैदेशिक रोजगारका नाममा पाँचजना युवासँंग जनही १३ लाख ८० हजार रुपियाँ उठाउने मुख्य अभियुक्त पर्वतका जीतकाजी गुरुङ फरार छन् । उनको खोजी भइरहेको छ ।गुरङका सहयोगी जसध्वज गुरुङ पोखराबाट र सन्तोष पराजुली काठमाडौँबाट पक्राउ परेका छन् । जीतकाजीले नै इटालीमा बसोवास गर्दै आएकी आफ्नी दिदीले जागिर लगाइदिने भन्दै विश्वासमा पारी लिविया पु¥याएको भनाइ प्रहरीको छ ।

लिवियामा तैनाथ नेपाली शान्तिसेनाले समेत बन्धक बनाइएका युवाको उद्धारको प्रयास गरिरहेको जानकारी दिएको छ । सैनिक प्रवक्ता यमप्रसाद ढकालले घटनास्थल नेपाली शान्तिसेना तैनाथस्थलबाट दुईसय किलोमिटर टाढा भएकाले स्थानीय सुरक्षा निकायसँग समन्वय गरी उद्धारको प्रयास भइरहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारका नाममा मानव तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका जसध्वज र सन्तोषले ती युवालाई गाँउबाट काठमाडौंँसम्म लिवियामा बन्धक रहेका रन्जित केसीले ल्याएको र काठमाडौँबाट दुवाईसम्म आफूहरूले पठाएको वयान प्रहरीलाई दिएका छन् ।

दुवईमा करिब चार महिनाको बसाईपछि उनीहरूलाई दुवईमा सक्रिय मानव तस्करहरूले लिविया पुर्याएका थिए । लिवियाबाट युरोप लैजाने क्रममा मानव तस्करहरुबीच नै पैसाको विषयमा विवाद भएपछि बन्धक बनाइएको हुनसक्ने अनुमान प्रहरीको छ । परराष्ट्र मन्त्रालयले बन्धक पाँचैजनाको सकुशल उद्धारका लागि कूटनीति तवरबाट प्रयास शुरु भएकाले आफन्तलाई नआत्तिन आग्रह गरेको छ ।

Published on: 2 February 2019 । Gorkhapatra

Back to list

;