s

नेपाली भन्दै अमेरिका छिर्दै: दक्षिण अमेरिकामा नेपाली भनेर पक्राउ पर्नेहरू अन्य मुलुकका नागरिक भएको खुलासा, २०१५ मा १४ सय नेपाली कोस्टारिकामा पक्राउ

चन्द्रशेखर अधिकारी
 
दक्षिण अमेरिकी मुलुकमा नेपाली भनेर समातिएकाहरूमध्ये अधिकांश अन्य दक्षिण एसियाली मुलुकका नागरिक भएको पाइएको छ । नेपाली भनेपछि तत्काल फर्कनु नपर्ने हुनाले दक्षिण एसियाली अन्य मुलुकका नागरिकले पनि आफूलाई नेपाली भन्ने गरेका हुन् । दक्षिण अमेरिकी मुलुक कोस्टारिकाका अधिकारीहरू र अमेरिका पसेका नेपालीले दिएको जानकारीबाट उक्त कुरा खुलासा भएको हो ।
 
अमेरिकास्थित नेपाली दूतावासले पनि नेपाली भनेर पक्राउ परेका सबै नेपाली नभएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको अधिकारीले जानकारी दिए । अमेरिका छिर्न दलाललाई लाखौं रुपैयाँ बुझाएपछि विभिन्न दु:खपीडा खेप्दै ती देशमा पुगेका उनीहरूसँग थोरै अमेरिकी डलरबाहेक अन्य कागजपत्र हुँदैनन् । भाषा र बस्ने स्थानबारे लामो सोधपुछपछि मात्र पक्राउ परेकाहरू कुन मुलुकका हुन् भन्ने पुष्टि हुन्छ । ‘पहिलो पटक समातिनेबित्तिकै उनीहरूले नेपाली भन्ने र अन्य शब्दै नबोल्ने हुनाले पनि सञ्चार माध्यममा नेपाली पक्राउ परेका समाचार आउँछन् । वास्तविकता भने फरक छ,’ ती अधिकारीले भने ।
 
अन्य मुलुकका नागरिकलाई तत्काल फर्काइने तर नेपालीलाई दूतावासले बुझ्नेलगायत लामो प्रक्रिया हुने हुनाले हाजिर हुने सर्तमा कोस्टारिका सरकारले छाड्ने गर्छ । त्यसपछि उनीहरू पुन: लरी, जंगलको बाटो, हिँडेर वा डुंगा प्रयोग गरेर मेक्सिको हुँदै अमेरिका छिर्ने गरेको पनि ती अधिकारीहरूले उल्लेख गरेका छन् ।
 
केही दक्षिण एसियाली मुलुकका दूतावास, वाणिज्य दूतावास वा अवैतानिक दूतावासहरू दक्षिण अमेरिकी मुलुकमा रहेका कारण ती मुलुकका नागरिकले पहिचान खुलाएको खण्डमा सिधै स्वदेश फर्कनुपर्छ । त्यसैले ती देशमा बसिरहन अन्य दक्षिण एसियाली मूलका नागरिकले नेपाली भन्ने गरेको पाइएको छ । पछि केरकार गर्दा अन्य मुलुकका नागरिक हुने गरेको खुल्ने गरेको छ । सन् २०१५ को तथ्यांकअनुसार विभिन्न मुलुक हँुदै अमेरिका हिँडेका र नेपाली भनिएका करिब तीन हजारभन्दा बढी नागरिक पक्राउ परेकामा १ हजार ४ सयमात्र नेपाली रहेको पुष्टि भएको तथ्यांकको छानबिन अमेरिकास्थित नेपाली दूतावासले गरिरहेको छ । तर समातिएकाहरू सबै नेपाली नभएको भन्ने जानकारी भने दूतावासले परराष्ट्र मन्त्रालयलाई दिइसकेको परराष्ट्र उच्च स्रोतले बतायो । सन् २०१५ मा १ हजार ४ सय नेपालीहरू कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका, पनामा, ग्वाटेमाला, इक्वेडर, निकारागुवा, मेक्सिकोलगायत स्थानमा एकै प्रकारका व्यक्तिहरू समातिँदै छुट्दै अमेरिका पुग्ने गरेका हुनाले एक मुलुकको तथ्यांक पर्याप्त हुने अधिकारीहरू बताउँछन् ।
 
‘मानव ओसारपसारमा ठूलो सञ्जाल रहेकाले यसको जरासम्म पुग्न अझै केही समय लाग्नेछ । अहिले नै यो वा त्यो भन्न सकिन, तर धेरै नेपाली भिसा नलाग्ने एवं दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका छिर्ने गरेको सत्य हो । उनीहरूले दलालबाट धेरै दु:खकष्ट पनि पाएका छन् । नेपाली भनेर समातिएका सबै नेपाली नभई अन्य मुलुकको नागरिक भएको जानकारी पनि आएकाले यसबारे अध्ययन जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले भने ।
 
दोभासे खोजेर बोलाउने प्रयास गर्दा समातिएकामध्ये करिब ५५ प्रतिशतभन्दा बढी अन्य मुलुककै हुने गरेको खुलेको हो । यद्यपि दक्षिण अमेरिकी मुलुकले नेपाली भनिएकाहरूबारे सम्बन्धित मुलुकलाई जानकारी गराउने गरेका छन् । यद्यपि ती मुलुकको नाम बाहिर सार्वजनिक गरेका छैनन् । ती मुलुकसँग दुईपक्षीय सम्बन्ध बिग्रने हुनाले कुन मुलुकका हुन्छ भनेर स्पष्ट नपारिएको परराष्ट्र अधिकारीहरू बताउँछन् ।
 
Published on: 20 April 2016 | Kantipur

Back to list

;