s

नेपाली श्रमिकको गुनासो सुन्न सभामुख घिमिरे बहराइनस्थित दूतावासमा

काठमाडौं, फागुन ३० गते। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ।

बहराइनको मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारीलगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको हो। अधिकारीले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन्। सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिनुभएको थियो।

कार्यक्रममा नेता रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत सहभागी हुनुहुन्थ्यो। सभामुख घिमिरे ६ दिनको भ्रमण सकेर बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

Published on: 15 March 2023 | Gorkhapatra

Link

Back to list

;