s

नेपाली श्रमिकद्वारा हडताल फिर्ता

मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए ।

क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइमबापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ । कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ । हामीलाई काममा फर्किन अनुरोध गरेपछि हडताल तोडेका हौं,’ खोटाङका ललित घलानले भने ।

विवाद मिलाउन श्रम सहचारी सनमाया रम्तेलको टोली कम्पनी पुगेको थियो । हडताल अवधिभर श्रमिकलाई प्रहरीले घेराभित्र राखेको थियो । डब्लूआरपी कम्पनीले अस्पतालमा प्रयोग गरिने ‘ग्लोब’ उत्पादन गर्दै आइरहेको छ । दैनिक १५ हजार ‘ग्लोब’ उत्पादन गरिने भएकाले श्रमिकहरूले मलेसिया कानुनले तोकेभन्दा बढी ओभरटाइम गर्नुपर्ने बाध्यता छ । कम्पनीले महिनामा १ सय ६० घण्टासम्म ओभरटाइम लगाउने गरेको छ ।

टार्गेट दिइएअनुसार ग्लोब उत्पादन नभए तलब काट्ने गरेको श्रमिक बताउँछन् । ‘दैनिक १२ घण्टा त सामान्य हो । यत्रो दु:ख गर्दा पनि समयमा तलब पाइने गरेको छैन,’ ती श्रमिकले भने, ‘नत्र हामीलाई हडताल किन गर्नुपर्थ्यो ।’ कम्पनीको कुनै शाखामा ७० डिग्रीसम्म तापक्रममा काम गर्नुपर्ने उनले बताए । तलब नदिएर कम्पनीले कामदारलाई खानाका लागि ‘टोकन कार्ड’ मात्रै उपलब्ध गराउँदै आएको छ । मलेसियास्थित नेपाली जनप्रगतिशील मोर्चाका पूर्वमहासचिव अर्जुन सुवेदीले श्रमिकहरू बाध्य भएर हडतालमा उत्रिएपछि मात्रै सुनुवाइ भएको बताए । उनले श्रमिक र दूतावासबीच समन्वय गरिरहेको बताए ।

Published On: 30 January 2019 | Kantipur

Back to list

;