s

नेपाली श्रम बजार विदेशीका लागि आकर्षक

रुद्र खड्का

स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनि बढ्दो छ । विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन्।

नेपालबाट बाहिरिने जनशक्तिको तुलनामा यहाँ आउने विदेशीको पारिश्रमिक पनि निकै राम्रो हुने गरेको पाइएको छ । नेपालबाट बाहिरिनेमध्ये आधाजसो लहलहै र रहरमा वैदेशिक रोजगारीमा जाने गरेको विभिन्न अध्ययनले देखाएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीको औसत मासिक पारिश्रमिक ४० हजार जति हुने गरे पनि र विदेशीको भने दुई लाख रुपैयाँ हाराहारी हुने गरेको बताइन्छ।
 
वैदेशिक रोजगारीमा रहेका नेपालीले पारिश्रमिक पाउनुको साटो समस्यामा पर्ने गरेपछि त्यस्तालाई गन्तव्य मुलुकबाट घर परिवारले फर्काउन थप लगानी गरेर फिर्ता गर्नुपर्ने अवस्थासमेत छ । बिदेसिने युवाको लगानी भने ठूलो हुने गर्छ, जुन उठाउन उनीहरूलाई श्रम सम्झौताको पूरै अवधि खर्चनुपर्ने बाध्यता छ।
 
वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारलाई तीन र खाडी मुलुक जानेलाई दुई वर्षको श्रम स्वीकृति दिने गर्छ । विभागका अनुसार अघिल्लो वर्ष श्रम स्वीकृति लिएर करिब चार लाखजना रोजगारीका लागि विभिन्न मुलुक गएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा एक लाख ८६ हजार ५३ नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक पुगेका छन् ।
 
वैदेशिक रोजगारीमा जानेको संख्या घट्न नसकेको बेला कामका लागि नेपाल आउने विदेशीको संख्या निरन्तर बढिरहेको छ । श्रम विभागका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा एक हजार चार सय ७२ विदेशीले श्रम स्वीकृति लिएका (नवीकरणसहति) थिए । अर्काे आर्थिक वर्ष ०७३÷७४ मा एक हजार नौ सय ७२ विदेशीले लिए । आर्थिक वर्ष ०७३÷७४ मा श्रम स्वीकृति लिनेमा सबभन्दा बढी विदेशी निर्माण क्षेत्रको काम गर्न आएका हुन्।
 
पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना बन्ने क्रम बढेकाले विदेशी कामदार आउन थालेका र त्यस्ता कामदारमा सबभन्दा बढी चिनियाँ नागरिक रहेको विभागका कर्मचारी बताउँछन् । आर्थिक वर्ष ०७३-७४ मा नौ सय ४२ चिनियाँ कामदारले नेपालमा श्रम स्वीकृति लिएका छन् । उक्त वर्ष श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये एक हजार चार सय ९४ निर्माण क्षेत्रमा, चार सय ६ सेवामूलक र ७२ जना उत्पादनमूलक क्षेत्रमा आएको विभागले जनाएको छ । यो संख्या भारतबाहेक मुलुकको हो । विभाग अधिकारीका अनुसार भारतमा ठूलो संख्याका नेपाली कार्यरत रहेकाले नेपालमा काम गर्ने भारतीयलाई बाध्यतात्मक रूपमा श्रम स्वीकृति लिनुपर्छ भनेर दबाब दिन सकिँदैन।
 
निर्माण लगायत विभिन्न क्षेत्रमा कम्तीमा १० हजार भारतीय नागरिकले काम गरिरहेको हुन सक्ने विभागका कर्मचारीको अनुमान छ । श्रम स्वीकृति लिएकामध्ये एक हजार तीन सय ७५ ले निजी क्षेत्र र चार सय ३२ जना सरकारी निकायमा रोजगारी गरिरहेका छन् । विभागका अनुसार आर्थिक वर्ष ०६९÷७० देखि हालसम्म (गत कात्तिकसम्म) सात हजार आठ सय ४६ विदेशीले श्रम स्वीकृति लिएका छन् ।
 
बिदेसिनेमा सबभन्दा बढी मलेसिया
 
नेपालबाट भने सबभन्दा बढी मलेसिया जाने गरेका छन् । पारिश्रमिकको दृष्टिकोणले मलेसिया त्यति राम्रो नभए पनि खुला वातावरणले गर्दा धेरैको रोजाइमा उक्त मुलुक पर्ने गरेको पाइएको हो ।
 
चालु आर्थिक वर्षको ६ महिनामा सबभन्दा बढी युवायुवती नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुससम्म) श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुक पसेका एक लाख ८६ हजार ५३ मध्ये मलेसिया जानेको संख्या ५९ हजार २ सय ८८ छ।
 
अघिल्लो वर्ष सोही अवधिमा सबैभन्दा बढी प्रतिशत कतार गएका थिए । यस वर्ष कतार दोस्रो स्थानमा झरेको छ । ६ महिनामा कतार जानेको संख्या ४८ हजार ९ सय ५७ रहेको विभागले जनाएको छ । गत वर्ष ६२ हजार ७ सय ७६ ले गन्तव्य बनाएको  कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ ।
 
गत वर्षको पुस मसान्तमा दोस्रो रोजाइमा रहेको साउदी अरब यसपटक चौथो स्थानमा झरेको छ । गत बर्वाको ६ महिनामा ४४ हजार चार सय ८१ कामदारको रोजाइमा परेको साउदी अरबमा चालु वर्षको ६ महिनामा करिब आधा अर्थात २३ हजार दुई सय ८६ मात्रै गएका छन्।
 
चालु आर्थिक वर्षको चार महिनामा विदेशी कामदारले लिएको श्रम स्वीकृतिको विवरण
 
महिना    संख्या
साउन      १०७
भदौ         ३३३
असोज      १६६
कात्तिक     १०६
जम्मा      ७१२
 
आर्थिक वर्ष ०७३-७४ मा नेपालमा काम गर्न श्रम स्वीकृति लिएका प्रमुख १० देशका कामदार संख्या
 
देश     श्रम स्वीकृति लिनेको संख्या
चीन           ९४२
बेलायत       ५२
भारत         ३८
अमेरिका      ३४
इटाली         २३
फ्रान्स         २०
अस्ट्रेलिया     १७
जापान         ११
बंगलादेश     १०
टर्की            ६
 
Published on: 28 February 2018 | Nagarik

 

Back to list

;