s

नेपाली सेनाको जागिर छोडेर रुस पुगे, युद्धमा होमिएको २ महिनामै मारिए

१८ पुस, पोखरा । परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लाई रुसी सेनामा भर्ना भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी दियो ।

स्थानीयका अनुसार हरिले रुसी सेनामा भर्ती भइसकेपछि भिडियो तथा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । एजेन्टमार्फत रुसी सेनामा भर्ती हुन जान लागेको आफू निकटलाई बताएका थिए । ‘अक्टोबर २० (३ कात्तिक)मा उनको काठमाडौंबाट फ्लाइट थियो,’ उनको नातेदार बद्री अर्याल भन्छन्, ‘रुसी सेनामा भर्ती भइसकेपछि पनि उनी नियमित सम्पर्कमा थिए ।’

काठमाडौंबाट उडेको ५ दिनमै हरिले रुसी सेनाको पोशाकमा सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । जहाँ उनले लेखेका थिए, ‘जसले रिक्स लिन्छ, त्यो अगाडि बढ्छ ।’ उनले अन्तिम पटक ४ डिसेम्बरमा रुसी सेनाको पोशाकमा हतियारसहित गाडीमा हिँडिरहेको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस्तै छ जिन्दगी । बाँचे भेट, मरे त यत्तिकै ।’

त्यसपछि भोलिपल्टसम्म घर परिवारमा सम्पर्क गरेका उनी त्यसपछि एकाएक सम्पर्कविहीन बने । त्यसको केही दिनपछि उनी युद्धमा मारिएको उनका साथीहरुले सुनाएका थिए, तर कुनै आधिकारिक सूचना परिवारले पाएको थिएन । मंगलबार काउन्सिलर विभागले औपचारिक जानकारी जानकारी गराएको छ ।

सेनाको जागिर छोडेर एजेन्टमार्फत रुस

परिवारमा दुई दाइ र एक दिदीपछि जन्मिएका कान्छो सदस्य हरि १८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका थिए ।

उनका बुबा भारतीय सरकारी कम्पनीका पेन्सनर हुन् । उनका दुई दाइ दुबईमा थिए । हरि पनि नेपाली सेनामा काठमाडौं पुगेर भर्ती भएपछि परिवारलाई ढुक्क थियो । तर हरि नेपाली सेनाको जागिरप्रति खुसी थिएनन् । सेनाबाट आउने तलबले केही गर्न नसकिने भन्दै विकल्प खोजिरहेको सुनाउँथे ।

उनले करिब साढे २ वर्ष नेपाली सेनामा सेवा गरे । नेपाली सेनामै हुँदा ओमान प्रहरीमा जानका लागि पनि आवेदन दिए । ‘ओमान प्रहरीमा जान सर्टिफिकेट चाहिने भएपछि उनले आर्मीबाट राजीनामा दिए, तर उनको आवेदन सफल भएन,’ हरिसँग सुरुदेखि संगत गरेका बद्रीले भने, ‘त्यसपछि दक्षिण अफ्रिकामा आवेदन दिएका थिए, त्यहाँ पनि सफल नभएपछि उनी आत्तिए ।’

त्यहीबेला रुसी सेनामा भर्ती भएका नेपालीहरुले टिकटक, फेसबुक, इन्स्टा जस्ता सामाजिक सञ्जालमा हालेको भिडियो देखे । ‘भिडियो हेरेपछि हरि पनि रुसी सेनामा भर्ती लोभिए,’ त्यो बेला सम्झिँदै बद्रीले भने, ‘हामीले त हुँदैन, नजाऊ भो भनेकै हो ।’

नेपालीहरुलाई रुसी सेनामा भर्ती गराउने एजेन्टले उनलाई आकर्षक कमाइको लोभ देखाएका थिए । भिजिट भिसामा दुबई हुँदै जाने र एजेन्टमार्फट सिधै भर्ती हुने भनेपछि उनी उत्साहित थिए । ‘एकातिर हुँदाखाँदा सेनाको जागिर किन छोडेको भनेर धेरैको प्रश्न आउँथ्यो । अर्कोतिर ओमान, दक्षिण अफ्रिकामा पनि असफल भएपछि आत्तिएजस्तो पनि देखिन्थे,’ बद्रीले भने, ‘एक महिनामै रुसी सेनामा भर्ती हुन पाइने भएपछि हतारिए ।’

भिजिट भिसामा दुबई हुँदै रुस पुग्ने र १२०० डलर दिए सेनामा भर्ती भइने भएपछि हरिले साथीभाइलाई पनि प्रस्ताव गरेका थिए । ‘पहिले तँ गएर आइज, अनि हामी पनि जाउँला भनेर उनलाई नजिकका साथीले भनेका रहेछन्,’ वडाध्यक्ष कुँवरले भने ।

हरिका नातेदार बद्रीका अनुसार हरिसँगै जागिर छोडेका पश्चिम नेपालका ५ जना रुस पुगेको जानकारी प्राप्त भएको छ । तर कुन एजेन्टमार्फत गएका हुन् भन्ने थाहा छैन ।

मंगलबार सरकारले नै हरिको मृत्यु भएको जानकारी गराएपछि घरमा बा–आमालाई जानकारी गराउने र कुशको प्रतिमा बनाएर संस्कार गर्ने तयारी भइरहेको छ । ‘आजसम्म बुबा–आमाले फोन सम्पर्क किन गरेन भनेर चिन्ता लिइरनुभएको छ,’ बद्रीले भने, ‘आज घरमा बा–आमालाई जानकारी पनि दिने र कुशको प्रतिमा बनाएर संस्कार गर्ने भनेर दाजुभाइ आफन्त भेला हुँदैछौं ।’

Published on: 4 January 2024 | Onlinekhabar

Link

Back to list

;