s

नेपालीसमेत काम गर्ने मलेसियाको प्रतिष्ठित कम्पनीमाथि ‘श्रम शोषण’ को आरोप

मलेसियाका दुई ठूला कम्पनीहरुमा कार्यरत विदेशी कामदारहरुमाथि श्रम शोषण भएको एक रिपोर्ट सार्वजनिक भएपछि मलेसियाली श्रम बजारमा खैलाबैला भएको छ ।  बेलायतस्थित ‘द गार्जियन’ पत्रिकाले केही दिनअघि टप ग्लोबल र डब्लू आरपी एसिया प्यासिफिक नामक कम्पनीहरुमा कामदारमाथि श्रम शोषण गरिएको पाइएको भन्दै एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशन गरेको थियो।

रबरको पञ्जाहरु निर्माण एवं बिक्री गर्ने विश्वमै ठूलामध्येका दुई कम्पनीमा कार्यरत विदेशी कामदारलाई गैरकानुनी ढंगले धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र राहदानी कब्जामा राखिएकोलगायतका कामदारका अधिकारहरु हनन् भएको पाइएको उक्त पत्रिकाको रिपोर्टमा उल्लेख छ। द गार्जियनले ती कम्पनीमा कार्यरत नेपाली र बंगलादेशी विभिन्न १६ जनासँग अन्तर्वार्ता गरेपछि त्यहाँ कामदारको अधिकारको हनन् भएको उक्त रिपोर्टमार्फत खुलासा गरेको हो । तर दुई कम्पनीहरुले उक्त विषयमा केही दिनअघि विज्ञप्ति प्रकाशन गर्दै कामदारहरुले लगाएको आरोपको खण्डन गरेका छन्। उनीहरुले उक्त रिपोर्ट ‘झुठो’ भएको दाबीसमेत गरेका छन्।

उनीहरुले वक्तव्यहरु प्रकासित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानुन अनुसार नै कामदारहरुमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन्। उनीहरुले कामदारले राहदानी हराउन सक्ने भन्दै कामदारकै आग्रह अनुसार राहदानीको सुरक्षा गरिराखिएको बताएका छन्। विश्वका विभिन्न मुलुकमा पञ्जा निर्यात हुने गरेको र हजारौं कामदार कार्यरत मुलुककै प्रतिष्ठित मानिएको उक्त कम्पनीमाथि गम्भिर आरोप लागेपछि मानव संशाधनमन्त्री एम कुला सेगरनलेसमेत कम्पनीको फ्याक्ट्री भ्रमण गरेका छन्। उनले आफुलगायत मन्त्रालयका अधिकारीहरुसहितको टोलीले गत शुक्रबार उक्त कम्पनीको फ्याक्ट्रीको भ्रमण गरेको तर रिपोर्टमा आरोप लगाइए जस्तो नपाइएको बताए। ‘हामीले त्यहाँ कार्यरत कामदारहरुलाई भेट्यौं। तर कानुन विपरित काममा लगाइएको भेटिएन’ ती कम्पनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबै रोजगारसम्बन्धी कानुन अनुसारै भएको पाइयो। बढी कमाई गर्न सकिने भएकाले कतिपय कामदारकै माग र नियमानुसार नै ओभरटाइम उपलब्ध गराइएको थाहा हुन आएको छ।’

मलेसियामा एकजना कामदारले प्रतिमहिना १ सय ४ घण्टासम्म ओभर टाइम काम गर्न पाउने कानुनी प्रावधान छ। मलेसियाले आगामी वर्ष आफ्नो श्रम कानुनमासमेत व्यापक फेरबदल गर्ने तयारी गरिरहेको छ। बुधबार कान्तिपुरसँगको सम्पर्कमा आएका त्यहाँ कार्यरत केही नेपाली कामदारले आफुहरुको राहदानी कम्पनीले राख्ने गरेको बताए। तर उनीहरुले अन्य विषयमा भने प्रतिक्रिया दिन मानेनन्। रबरको पञ्जाहरु तयार पार्ने र विक्री वितरण गर्ने कम्पनीहरुमध्ये टप ग्लोब विश्वमै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो। उक्त कम्पनीका ४० वटा फ्याक्ट्री छन्, जहाँ हजारौंको संख्यामा नेपालीलगायत विदेशी कामदारहरु कार्यरत छन्।

Published on: 13 December 2018 | Kantipur

Back to list

;