s

नेपाली सधै नेपाली नै हुन्छ, भूतपूर्व वा वर्तमान भन्ने हुँदैनः मन्त्री अधिकारी

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अमेरिकाका नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधैं नेपाली नै हुने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिबार उदघाटन गर्दै उनले नेपाली भूतपूर्व या वर्तमान नहुने बताए ।
 
‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं’, मन्त्री अधिकारीले अमेरिकामा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै भने, ‘देश बनाउन गैरआवासीय नेपालीहरुको सहयोग र सक्रियता चाहिन्छ ।’ उनले नेपालमा समृद्धि ल्याउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए । ‘तपाईहरु धनी र सम्पन्न हुनु भयो भने पनि देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न’, अधिकारीले अगाडि थपे, ‘त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरुरी छ ।’
 
वर्तमान सरकारकै एक जना मन्त्रीले केही समय अघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई भूतपूर्व नेपाली हुन् भनेको विषयप्रति अमेरिकाका नेपालीहरुले आक्रोस व्यक्त गर्दै मन्त्री अधिकारीसँग असन्तुष्टि जनाएका थिए । मन्त्री अधिकारीले नेपाली सधैं नेपाली हुने बताए । मन्त्री अधिकारीले गैरआवासीय नेपालीलाई संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रतिबद्धता समेत जनाए । यसका लागि अर्को वर्षभित्र आवश्यक कानून तयार हुने मन्त्री अधिकारीको भनाइ छ ।
 
पूर्वपरराष्ट्र तथा अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रक्रियाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए ।नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा दुःख व्यक्त गरे ।
 
अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले आफू अमेरिकाको अस्थायी राजदुत भएको भन्दै गैरआवासीय नेपालीहरु स्थायी राजदूत भएको बताए ।
 
एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार अघि बढ्ने बेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको बताए ।
 
Published on: 17 June 2018 | Onlinekhabar

Back to list

;