s

नेपाली राजदूतलाई यूएईका राजकुमारले भने- 'समस्या लिएर सिधै मलाई भेट्नू'

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् । 

‘यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पुर्‍याएको योगदानको कदर गर्दछु,’ राजदूत ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने, ‘नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्यारोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’

सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रिएदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् । यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उनी आफैं सक्रिय छन् । उनी यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुन् ।

राजकुमार नाहयानले यूएईमा कार्यरत नेपालीसहितको आप्रवासी श्रमिकलाई अझ सुरक्षित र मर्यादित बनाउन आफू हरदम तयार रहेको बताए । उनले आफू नेपालीको इमानदारिता र स्नेहबाट प्रभावित रहेको पनि बताए । 

भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुन: स्मरण गराएका छन् । तीन वर्षअघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणको लागि निम्तो दिएकी थिइन् । ‘हामी अहिले कोभिड विरुद्ध लडिरहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं । म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयानको भनाइ उद्धृत गर्दै ढकालले कान्तिपुरसँग भने । 

राजदूत ढकालले कोभिड विरुद्ध लड्नको लागि यूएई सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिएका थिए । युएईले आधुनिक स्तरको एक सय ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री नेपाललाई पठाएको थियो ।

Published on: 4 January 2022 | Kantipur

Link

Back to list

;