s

नेपाली राजदूतमाथि छुरा प्रहार

महेश श्रेष्ठ
 
साउदी अरब- साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्द शर्मालाई दूतावासमै शरण लिएर बसेका एक युवाले छुरा प्रहार गरेका छन्। एक महिनादेखि रियादस्थित दूतावासमा शरण लिएर बसेका सुनसरी धरानका लक्ष्मण राईले बिहीबार बिहान ११ बजे कार्यकक्षमै छुरा हानेका हुन्।
 
राईले कार्यकक्षको ढोका बन्द गरेर शर्मामाथि जथाभावी छुरा प्रहार गरेका थिए। दूतावास कर्मचारी मानबहादुर थापाका अनुसार शर्माको हातको औंला, देब्रे गाला र छातीमा चोट लागेको छ। उनको रियादस्थित किङ फैसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालले उनी खतरामुक्त रहेको जानकारी दिएको छ। राजदूत शर्मालाई साउदी अरबका सुरक्षाकर्मीको कडा सुरक्षाघेरामा राखिएको छ।
 
दूतावासका द्वितीय सचिव कुलबहादुर थापाका अनुसार आक्रमणकारी राईलाई नेपाल फर्काउन (एयर अरेबियामार्फत) केही दिनअघि दूतावासले विमानस्थल पठाएको थियो। राई विमानस्थलमै लम्पसार परेर नेपाल जान नमानेपछि उनलाई पुनः दूतावासमै फर्काइएको थियो। छुरा आक्रमणलगत्तै उनलाई साउदी प्रहरीले पक्राउ गरेको छ।
 
अपुष्ट जानकारीअनुसार दूतावासमा शरण पर्न आउनुअघि उनले एक भारतीयलाई पनि छुरा प्रहार गरेका थिए। त्यसपछि उनी कम्पनी छाडेर दूतावासको शरणमा आएका थिए। गत वैशाख १ गते भेट्न आएका भतिजालाई समेत उनले हप्कीदप्की गरी 'तँ को होस्' भन्दै लखेटेका थिए।
 
महिलालाई मात्रै आश्रय दिँदै आएको दूतावासले यसअघि पुरुषलाई शरण नदिने नीति लिएको थियो। कार्यवाहक राजदूत शर्माकै निर्देशनमा राईले आश्रय पाएका थिए। आश्रय दिएकै व्यक्तिबाट राजदूतमाथि आक्रमण भएको घटनाले साउदी अरबमा रहेका नेपाली चिन्तित भएका छन्। नेपाली साझा मञ्च साउदी अरबका अभियन्ताको एक भेलाले घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासको सुरक्षालाई चुस्त बनाउन आग्रह गरेको छ। भेलाले घाइते शर्माको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
 
Published on: 15 April 2016 | Nagarik

Back to list

;