s

नेपाली नागरिकको उद्धारमा भारतले सघाउने

कान्तिपुर संवाददाता 

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सघाउने पुर्‍याउने भएको हो । 

युक्रेनबाट विस्थापित भएर स्लोभाकिया पुगेका नेपाली ।

युक्रेनमा थप युद्ध चकर्ने भएपछि नेपालले दिल्ली राजदूतावासमार्फत ४ दिन अघि नै सहयोग गरिदिन भारतलाई आग्रह गरेको थियो । नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो । 

दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार दूतावासको आग्रह गरेको र भारतले युक्रेनबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपाली नागरिकहरुलाई उद्धार गरिदिन लागेको हो ।

‘ती क्षेत्रमा हाम्रो राजदूतावास छैनन् । नेपालको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का पनि नेपालीहरु भएको क्षेत्रमा पुग्नु भएको छ,’ कार्यवाहक राजदूूत सुवेदीले कान्तिपुरसँग भने ।

उनले ती मुलुकहरुमा युक्रेनबाट आएका नेपालीहरुलाई भारतीय समुदाय भएको स्थानमा बस्न पनि आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म भारतले ६ हजारभन्दा बढी नागरिकहरुलाई उद्धार गरिसकेको छ । 

सुवेदीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार गर्दा जस्तै यस पटक पनि त्यहि अनुसार उद्धारको कार्य भएको बताए ।

Published on: 4 March 2022 | Kantipur

Link

Back to list

;