s

नेपाली नागरिकता लिने दुई बर्मेली पक्राउ

अमन कोइराला


नेपाली नागरिकता बोकेका बर्माका २ नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । नेपाली र स्थानीय मैथिली भाषासमेत बोल्न नजान्ने उनीहरूले २०६१ सालमा नागरिकता लिएका थिए । सर्लाहीबाट नागरिकता लिएका बर्मेली र बंगालादेशी नागरिक विदेश जाने क्रममा पक्राउ परेपछि यहाँबाट थप २ जनालाई पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक शरद चन्दले बर्मेली नागरिक भएको प्रमाणसहित दुवैलाई जिल्लाभित्रबाट पक्राउ गरिएको बताए । अन्य व्यक्तिसमेत पक्राउ गर्न बाँकी रहेको र अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै प्रहरीले विस्तृत बताउन चाहेनन् । पक्राउ पर्नेमा नुरुल मियाँ र अइउव अन्सारी छन् । नुरुलले खुटौना गाविसको ठेगानाबाट र अइउवले पिपरिया गाविसको ठेगानाबाट नागरिकता लिएको भेटिएको छ । टुटेफुटेको हिन्दी बोल्ने अइउवले दुवै जना बर्मेली नागरिक भएको कान्तिपुरलाई बताए । नागरिकता लिन नेपाली भाषा जानेको हुनुपर्ने प्रावधान छ । स्थानीय भाषासमेत नजानेका उनीहरूले नागरिकता लिन सक्नुले कर्मचारीको मिलेमतो भएको शंका उब्जिएको छ । 

'हामीलाई नेपाल कहाँ हो भन्नेसमेत थाहा थिएन,' अइउवले भने, '५० हजार लाग्छ भनेर नागरिकता बनाइदिएको हो ।' पैसा लिएर सर्लाहीकै अब्बास र करिमले नागरिकता बनाइदिएको उनले बताए । नागरिकतामा भएको औंठाछापसमेत आफूले नलगाएको उनले खुलाए । साउदी अरब जाने भनेर गत जनवरीमा मात्र पहिलोपल्ट नेपाल आएको बताउँदै उनले भने, 'हामीले पैसा मात्र दिएको हो, के कसरी काम भयो थाहा छैन ।' नागरिकता नवीकरण गरेर राहदानी लिनका लागि भनेर उनीहरू गएको जनवरी -माघ) मा मात्र सर्लाही आएका थिए । दुवैको नागरिकता गत माघ १५ गते नवीकरण भएको देखिन्छ । अइउवले जनवरीमा दलालले विदेश पठाइदिन्छु भनेर काकडभिट्टा हुँदै सर्लाही ल्याएको बताए । प्रहरीले नागरिकता नवीकरण भए पनि दुवैले राहदानी भने नलिएको जनायो । नागरिकतामा राहदानी लिएको छाप र नम्बर उल्लेख छैन । तर नवीकरण गराएकाले राहदानी सिफारिस लिएको हुन सक्ने सम्भावना छ । विदेशीलाई नागरिकता बनाइदिने दलाल छिटै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ । 

 Published on: 25 February 2013 | Kantipur Post

 

Back to list

;