s

नेपाली मलेसियामा अलपत्र

भीमबहादुर सिंह

वैदेशिक रोजगारको सिलसिलामा गएका ६ नेपाली मलेसियामा अलपत्र परेका छन् । मेनपावर कम्पनीले तोकेर पठाएको मलेसिया स्थित कम्पनीमा काम नपाएपछि उनीहरू अलपत्र परेका हुन् ।

सल्यान बडागाउँ ६ का डम्बर रावत, रुकुम कोटजहारी ५, सेती खोलाका सबिन बुढाथोकी र भुपेश बुढाथोकी, विजयश्वरी ४, नाखिराका मिसर कुमार गिरी, वीरबहादुर गिरी र नरेश लामिछाने अलपत्र परेका हुन् । दक्षिणकाली मेनपावर कम्पनी सामाखुसी, काठमाडौंले पावर ईभर कम्पनी मलेसियामा रोजगारका लागि पठाएका उनीहरू तीन दिनदेखि अलपत्र परेका हुन् । सल्यानका रावतलाई पूर्व सभासद उमाकान्त शर्माले र अन्यलाई रुकुम विजयश्वरी ४ कै रुपेश राज गिरीले वैदेशिक रोजगारका लागि उक्त मेनपावरमार्फत पठाएको मलेसियाबाट सविनले टेलिफोनमा बताए ।
 
१ लाख २० हजारका दरले रकम बुझाएर विदेश आइयो, तोकेर पठाएको कम्पनीले काममा नलगाउँदा अलपत्र परियो, उनले भने । पावर ईभर कम्पनीमा पानी जहाजमा सामान लोड अन्लोड गर्ने काम हो भनेर भुक्याई पठाइयो, मलेसिया पुगेपछि ईभरग्रिन भन्ने फलाम कारखानामा लगाउँदा काम गर्न नसकेर अलपत्र परेको सविनले बताए । ईभरग्रिनले नेपालसँग मेनपावर माग गर्ने वैधानिक स्विकृति लिएको छैन । तीन दिनदेखि पानी मात्र खाएर एउटा कोठामा लुकेर बसेका छौं । साथमा कौडी छैन, नेपाल फर्कन प्रति ब्यक्ति ७५ हजार चाहिने रहेछ, उनले टेलिफोनमा भने । घरबारी बेचेर जुटाएको पैसा जति मेनपावर कम्पनीलाई बुझाइयो, अब के गर्ने अर्का पीडित भूपेशले भने ।
 
Published on: 12 August 2012 | Kantipur 

Back to list

;