s

नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति

होम कार्की
 
आफ्नै स्पोन्सर (मालिक)बाट ओमनको अल-वुरुएमीमा बलात्कार भएकी ४० वर्षीय नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छिन् । पीडितले क्षतिपूर्ति पाएपछि प्रहरीमा स्पोन्सरविरुद्ध हालेको उजुरी फिर्ता लिएर उनी नेपाल फिरेकी छिन् । अल वुरुएमी ओमनको राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ ।  
 
संयुक्त अरब इमिरेट्स (युएई)को अलऐनको सीमा जोडिएको वुरुएमीमा ती महिना सात महिनादेखि घरेलु कामदार (हाउसमेड)का रुपमा कार्यरत थिइन् । आफ्नो ३५ वर्षीय मालिकबाट बलात्कार परेपछि ती महिलालाई ८ दिनसम्म स्थानीय अस्पतालमा उपचारका लागि राखिएको थियो ।पीडितका तर्फबाट वुरुएमीमै कार्यरत एक नेपाली युवतीले प्रहरीमा बलात्कार भएको भन्दै उजुरी दिएकी थिइन् । ‘प्रहरीमा मैले घटनाको साक्षीका रुपमा उजुरी दिएकी थिएँ । त्यसपछि प्रहरीले स्पोन्सरलाई पक्राउ गर्‍यो’, ती युवतीले कान्तिपुरलाई भनिन्,‘पीडितलाई स्पोन्सरको घरमा पठाउने आफ्नै नजिकको नातेदार रहेछिन् । उनी दुवईबाट आएर ७ लाख रुपैयाँमा मिलमिलाप भयो ।’ रकम लिएपछि ती महिला नेपाल फर्केकी छिन् । 
 
स्पोन्सरबाट ती महिलालाई चरम शारीरिक र मानसिक यातना दिँदै आएको थियो । उनी गैरकानुनी रुपमा दुबईबाट ओमनमा आइपुगेकी थिइन् । पीडितलाई उपचार गर्न र न्याय दिलाउन नेपाली दुतावासले ओमन सरकारसँग समन्वय गरेको जनाएको छ । दूतावासले छानबिन गरी कारबाही गर्न ओमनको परराष्ट्र मन्त्रालयलाई अनुरोधसमेत गरेको जनाएको छ । ‘पीडितलाई न्याय दिन पीडकलाई कारबाही गर्न हामीले पहल गरिरहेका थियौं । पीडित आफैंले क्षतिपूर्तिबापत रकम लिएर मुद्दा फिर्ता लिइनँ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । पीडित आफैंले मद्दा फिर्ता लिएपछि केश अगाडि बढेन ।
 
Published on: 24 August 2017 | Kantipur

Back to list

;